खाँदबारी÷सामरिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिएको नेपालको उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत जोड्ने सबैभन्दा छोटो दूरीको खाँदबारी किमाथांका सडकको ट्रयाक खुल्न अब १२ किमी बाँकी रहेको छ । खाँदबारीबाट किमाथांकसम्मको दूरी १६२ किमी रहेको छ । १६२ किमी मध्ये हाल १५० किमी सडकको ट्रयाक खुलिसकेको छ ।
खाँदबारी–किमाथांका सडक आयोजनाका सूचना अधिकृत कृष्णकुमार श्रेष्ठले दिनु भएको जानकारी अनुसार अब सडकको ट्रयाक खोल्न धेरै समय लाग्दैन । उहाँले भन्नुभयो अहिले धमाधम काम भइरहेको छ, यही गतिमा काम भएमा आगामी ८०÷८१ सम्ममा सडकको ट्रयाक पूर्ण रुपमा खुल्ने र सडक स्तरोन्नतिको काम अगाडि बढने छ । हाल खाँदबारी किमाथांका सडकको ट्रयाक खुलेको १५० किमीमा पनि सडक स्तरोन्नतिको काम भइरहेको श्रेष्ठले बताउनुभयो ।

संखुवाससभा जिल्लाको सदरमुकाम खाँदबारी भन्दा अगाडि च्याम्ताङ्ग–घोङ्गगोप्पा बीचमा हाल काम भइरहेको छ । उक्त स्थानको सडक ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिइएको छ । अत्यन्तै कडा चट्टाने भीर र मौसम समेत प्रतिकूल रहने उक्त स्थानको सडक ट्रयाक खोल्न नेपाल सरकार मन्त्री परिषदको निर्णयबाटै दुई बर्ष अगाडि नेपाली सेनालाई जिम्मा दिने निर्णय भएको थियो । नेपाली सेनालाई जिम्मा दिएपछि कामले गति लिएको छ । यद्यपि समयमै विस्फोटक पदार्थ उपलब्ध हुन नसक्नु, कोरोना संक्रणका कारण ट्रयाक खोल्ने काममा संलग्न एक नेपाली सेनाको मृत्यु हुनु, सडकको काममा खटिएका अन्य सेनाका जवानहरुमा पनि कोरोना संक्रमण पुष्टि हुनु जस्ता काणले सडकको ट्रयाक खोल्ने काम बीचमा रोकिएको थियो । हाल नेपाली सेनाले विस्फोटक पदार्थ
भण्डरण गरी चट्टाने भीरमा होल बनाइ ब्लाष्टिङ्ग गर्ने काम गरिरहेको चिचिला गाउँपालिकाका अध्यक्ष नोर्बु शेर्पाले जानकारी दिनुभयो ।
हाल खाँदबारी विरुवा दोभान सम्मको खुलेके ट्रयाकमा गाडीहरु चल्न थालेका छन् । यो सडक नुम सम्मको २९ किमीमा कालोपत्रे समेतका लागि टेन्टर भएको सूचना अधिकृत श्रष्ठले बताउनुभयो । निर्माण कम्पनीहरुले हाल कालोपत्रेको काम धमाधम गरिरहेका छन् । यसैगरी खाँदबारीबाट अगाडि दोभान नयाँ बस्तीबाट च्याम्ताङ्गसम्मको ८० किमी सडकको हाल स्तरोन्नति गर्ने काम भइरहेको छ । बरुण दोभानदेखि च्याम्ताङ्गसम्मको ५४ किमी सडकमा हाल ट्याक्टर चल्न थालेका छन् । उता किमाथांकादेखि घोङ्गगोप्पासम्मको १४ किमी सडकको ट्रयाक चिनियाँहरुले खोलिदिइसकेका छन् । हाल हटिया खण्डमा भइरहेको काममा चीनबाटै इन्धन, डोजर, स्काभेटर ल्याएर काम भइरहेको छ ।
यहाँ स्मरणीय कुरा के छ भने नेपाल–चीन सीमा नाका किमाथांका भन्दा अगाडि चीनको चांगा, देन्दाङ्ग बजार रहेका छन् । चिनियाँहरुले आफ्नो तर्फका सबै सीमा सडकहरु निर्माण गरिसकेका छन् । संखुवासभाको उत्तरी नाकामा चिनियाँ पक्षले भौतिक निर्माणको वहानमा नेपालको जमिनहरु समेत कब्जा गरेका छन् । एक बर्ष अगाडि संखुवासभाका सांसद राजेन्द्र गौतमको नेतृत्वमा १५ सदस्यीय एक टोली सीमा अनुगमनका लागि गएको थियो । टोलीले चिनियाँ पक्षले नेपालीभूमि कब्जा गरेको प्रतिवेदन नेपाल सकारलाई बुझाएको थियो । तर हालसम्म उक्त प्रतिवेदनमाथि कुनै छलफल, बहस, र चिनियाँ पक्षको ध्यानाकर्षण गराइएको छैन । चीनले ताप्लेजुङ्ग जिल्लाको टिप्तला भन्याङ्गदेखि संखुवासभाको किमाथांकासम्म आफ्नो तर्फको सडक निर्माण गरिसकेको छ । टिप्तला भन्ज्याङ्गबाट किमाथांका सम्मको दूरी ५० किमी रहेको छ ।
