नेपालका सबै राजनीतिक दलका नेताहरुलाई थाहा छ उनीहरु जनताका नजरमा चोर, डाका, हत्यारा, व्यभिचारी छवि भएका हुन भन्ने कुरा । तर त्यसलाई उनीहरु सत्ता, शक्ति, सम्पत्तिकै आडमा निर्लज्जतापूर्वक पचाएर हिडिरहेका छन् । उनीहरु सम्मानित छन् र मान मयार्दा लायकका नै रहे ।
लिच्चडता र बेसरमको पनि एउटा हद हुन्छ तर नेपालका राजनैतिक दलका नेताहरुको त्यसको सीमा पार गरेकै कारण मर्यादाहीनताको जुनसुकै उपनाम दिएपनि त्यसलाई पचाएर हिडिरहेका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवशेन भर्खरै सम्पन्न भएको छ । काँग्रेसको उद्घाटन मञ्चमा १० मिनेट शुभकामना दिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नव निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेको एउटै भनाईले सबैको मन जित्यो । न उनले त्यहाँ लम्बेतानको भाषण गरे न अन्य दलप्रति कटाक्षे र तिक्तता नै पोखे । उनले त वास्तविकता उजागर गरिदिए । जसका कारण काँग्रेस महाधिवेशनको उद्घाटन सत्रमा आम नेपाली काँग्रेका कार्यकर्ता, अधिवेशन नियाल्न पुगेका अन्य राजनैतिक दलका कार्यकर्ता, सर्वसाधारणले लिँगदेनको भनाई प्रति गडगडाहट ताली बजाए ।
अध्यक्ष लिंगदेनले वर्तमान राजनीतिक दलका नेताप्रति जनताको दृष्टिकोण कस्तो रहेछ भन्ने कुरा यथार्थता बताइ दिएका थिए । उनले भनेका थिए हिजोआज नेता जनताका नजरमा चोर सावित भएका छन् । गाउँघरतिर कुनै पनि राजनैतिक दलको नेता गएमा आज फेरि कुनचाहिँ चोर आएछ भन्छन् । नेताहरुको छवि त्यो हदसम्म धुमिल भएको छ । सबैले अब आफ्नो छवि सुधार्नुपर्ने भएको छ । तर लिंगदेनको भनाईका वास्तविकता मनन गर्नुको सट्टा शुभकामना दिन गएका अन्य दलका नेताहरु लिंगदेनको भनाइको खण्डनमा लागे त्यो मञ्च कसैको भनाइको खण्डन गर्ने स्थान थिएन । माओवादीका अध्यक्ष प्रचण्डले हामीलाई चोरै नै भन्छन् त भन्दै कटाक्षे गरे । एमालेका अध्यक्ष केपी आलीले भर्खर जन्मिएको बाचो ज्यादा फूर्ति गर्छ, र्दौडन्छ भन्दै आत्म सन्तष्टि लिए । तर उनीहरुको खण्डन न क्षणिक आत्मसन्तुष्टिका लागि दिएका अभिव्यक्तिप्रति त्यत्रो जनसमुदायभित्र कसैले ताली पिटेनन्, न कसैले समर्थन जनाए ।
चोरको खुट्टा काट भन्दा वास्तविक चोरले खुट्टा उचालेको जस्तै जसजसले लिंगदेनको भनाइको खण्डन गर्न भ्याए तिनले आफूलाई जनताले चोर भन्ने गरेको भन्दै भित्रभित्रै मनन गरेको हुनुपर्छ ।
आज नेताहरु गाउँमा जाँदा जनताहरु घृणा गर्छन् । यदाकदा केही ठाउँमा अनुहारै छोपिने गरी माला लगाएर फलानो नेतालाई स्वागत गरेको भन्ने तस्विरहरु सामाजिक सञ्जालहरुमा हालेको देखिन्छ । तर ती जनताले स्वस्फूर्त रुपमा स्वागत गरेका तस्वर हुँदैनन् । नेताहरुरुले नै सुनियोजित रुपमा आफ्ना आसेपासेहरु मार्फत तयार गर्न लगाई तिनीहरुबाटै पहिरिएका तस्विर हुन् केही बर्ष अगाडि सम्म नेता गाउँमा जाँदा सवसाधाण स्वस्र्फू रुपमा भेला हुन्थे । तर अहिले समय फेरिएको छ सर्वसाधारण जम्मा गर्न खेतला लगाउनुपर्छ यातायातदेखि खाने, बस्ने खर्चको व्यवस्था गर्नुपर्छ । यसको प्रमुख कारण नेताहरुको छवि धुलिलिएको छ, नमेटिने गरी दाग लागेको छ । त्यसैले नेताहरु जनतामाझ एक्लै जाने साहस गर्दैनन् । राज्यका सुरक्षाकर्मी अघि पछि लगाएर हिँड्छन् । यथार्थमा भन्नुपर्दा न नेतालाई जनतासँग विश्वास छ न जनालाइ नेतासँग विश्वास छ ।
