धरान÷ खेलकुदको विकासमा स्थानीय तहहरुले जोड दिएका छन् । स्थानीय स्तरको विकासको एउटा पाटो खेलकुद भएको भन्दै स्थानीय तहको पनि वडावडाबाट टोलस्तरीय प्रतियोगिता हुन थालेका छन् ।
धरानलाई फुटबल खेलमा मिनी ब्राजिलको रुपमा चिनिने गरिन्छ । करिब तीन दशकदेखि धरान उपमहानगरपालिका वडा नं. १७ ले प्रत्येक बर्ष सञ्चालन गर्दै आएकोे गोधुली फुटबल प्रतियोगिताबाट धरानको फुटबल खेलको विकास भएको पाइन्छ । गोधुली पश्चात शुरु भएको मोफसलकै सबैभन्दा ठूलो प्रतियोगिता सञ्चालन भएको बुढासुब्बा गोल्ड कप पनि दुई दशकभन्दा लामो समय भइसकेको छ ।
क्लबले आफ्नो बलबुताले भ्याएसम्म आयोजना गर्ने गरेका यस्ता प्रतियोगितालाई स्थानीय सरकार धरान उपमहानगरपालिकाले समेत सहयोग गर्न थालेको छ । धरानको खेलकुदको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले तत्काली मेयर स्व. तारा सुब्बाले मेयर कपको आयोजना गरेसंगै अहिले वडा वडाबाट समेत प्रतियोगिता हुन थालेका हुन् ।

यसैको निरन्तता दिदै धरान १४ ले गतबर्षदेखि टोल स्तरीय फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यस बर्ष पनि वडा समितिले त्यसलाई निरन्तता दिदै आएको हो । ग्रास रुटबाट नै फुटखेलको विकास गर्ने र स्थानीय स्तरबाट नै राष्टिूय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर वडाध्यक्ष कपको आयोजना गरेको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराई बताउनुहुन्छ । उहाले यहाका युवाको व्यक्तित्व विकास, अनुशासन, विवेकशील बनाउनमात्र हैन राम्रो खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने बताउनुभयो ।
खेलकुदलाई पहिलो प्राथमिकतामा राखेर १४ नंं वडा समिति अगाडि बढेको वडा कार्यालयले जनाएको छ । प्रतियोगितामात्र हैन समय समयमा खेलसम्बन्धी तालिम समेत प्रदान गर्दै आएको १४ नं. वडा समितिका सचिव अनिस भट्टराईले बताउनुभयो ।
त्यसो त वडा समितिको कामलाई स्थानीय बासिन्दाहरुले समेत प्रशंसा गर्दै सहयोग पु¥याउने गरेका छन् । धरान १४ का पंकज घिमिरेले वडास्तरबाटै शुरु भएको प्रतियोगिताले अन्य खेल खेल्न सहज हुनेमात्र हैन खेलप्रति उनीहरुलाई रुची हुने बताउनुभयो ।
स्वास्थ्य, शिक्षासँगै खेलकुद पनि विकासको एउटा अंग भएको स्थानीय सरकारलाई महसुस भएकै कारण पछिल्लो समय स्थानीय स्तरबाट नै विभिन्न प्रतियोगिता हुने गरेका छन् । यस्ता प्रतियोगिताले साच्चै नै नेपालको खेलकुद गतिविधि चलायमानमात्र हैन नेपालका लागि राम्रा राम्रा खेलाडी उत्पादन गर्न पनि सहयोग पुग्नेमा दुईमत छैन ।
