४४ बर्षपछि मोही व्युताएर करोडौको चलखेल गर्ने विरुद्ध विद्यार्थी संगठनहरु आन्दोलित भूमाफिया,राजनैतिक दल, जनप्रतिनिधि,मालपोत, भूमि सुधारको मिलीभगतमा जग्गा हडप्ने घिनलाग्दो प्रयास

धरान÷चौवालीस बर्ष पछि मोही खडा गरी धरानस्थित महेन्द्र वहुमुखी क्याम्पसका विद्यार्थी छात्रावास, प्राध्यापकको आवास निर्माण गर्ने प्रयोजनका लागि खरिद गरिएको जग्गा धरानका भूमाफिया, राजनैतिक दल, जनप्रतिनिधि, मालपोत कार्यालय, भूमिसुधार कार्यालयको मिलीभगतमा हडप्ने घिनलाग्दो प्रयास भएपछि विद्यार्थी संगठनहरु, नागरिक समाज, बुद्धिजीविहरु आन्दोलित भएका छन् ।
क्याम्पसको स्वामित्वमा रहेको धरान ११ स्थित स्वास्तिक चौकको कित्ता नंं २६६ को जग्गामा मोही कायम गरिदिने अर्धन्यायिक निकाय जिल्ला मालपोत र भूमिसुधार कार्यालयको फैसला विरुद्ध महेन्द वहुमुखी क्याम्पसका विद्यार्थीहरुले सोमबार क्याम्पस प्रमुखको कुर्सी नै जलाइदिएका छन् । क्याम्पसको सम्पत्ति जगेर्ना गर्न नसकेको, संरक्षणमा वेवास्ता गरेको भन्दै विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी कार्यकक्ष बाहिर ल्याई जलाएका थिए ।
वि.सं. २०३४ सालमा क्याम्पस प्रमुख लोकेन्द्रप्रसाद आचार्यले धरान

७ का जग्गाधनी श्यामगोविन्द श्रेष्ठसँग १७ कट्ठा १८ धुर जग्गा महेन्द्र वहुमुखी क्याम्पसको नाममा खरिद गर्नुभएको थियो । त्यसबेला मोहीलाई दिने भाग नगदै दिएर श्रेष्ठले क्याम्पसलाई जग्गा विक्री गरेका थिए । उक्त जग्गामा मोही डम्बरबहादुर घिमिरेलाई नगदै दिएर चित्त बुझाई जग्गा विक्री गरे पनि मालपोत कार्यालयले मोहीको लगत कट्टा नगरी दिँदा हाल उक्त जग्गामा भूमाफिया, राजनैतिक दल, जनप्रतिनिधि, मालोत र भूमिसुधारको समेत मिलीभगतमा जग्गा हड्प्ने घिनलाग्दो प्रपञ्च तीन बर्ष अगाडिदेखि भएको हो ।
हाल उक्त जग्गाको मोही भनिने डम्बरबहादुर घिमिरेको मृत्यु भइसकेको छ । उनका छोरा यज्ञबहाुर क्षेत्रीलाई उचालेर माफियाहरुले करोडौ जग्गा हडप्ने प्रपञ्च रचेको आक्रोसित विद्यार्थी संगठनहरुले बताएका छन् । दशै र तिहारको विदाका समयमा असोज २५ गते मालपोत कार्यालय सुनसरीले मोही नामसारीको फैसला सनाएको थियो । हाल उक्त जग्गाको मूल्य करिब ५० करोड रहेकोले पनि ४४ बर्षपछि मृतक मोहीका छोरालाई उचालेर चलखेलको धन्दा भएको धरानका स्थानीय बुद्धिजीविहरु बताउँछन् । भूमिसुधार कार्यालयले एकतर्फी रुपमा हतार हतार गरेको फैसला आफैका शंकास्पद रहेको माओवादी केन्द्र धरानका नेता आइन्द्रविक्रम बेघाले बताउनुभयो । उहाँले भन्नुभयो क्याम्पसको सम्पत्ति जोगाउन अब माफियाहरुका विरुद्धमा आन्दोलन गर्नुको विकल्प छैन । भूमि सुधार कार्यालयले गरेको फैसलामा भनिएको छ यज्ञबहाुर क्षेत्रीले धरान उपमहानरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीको सिफारिस, धरान उपमहानगरपालिका वडा नं. ११ को सिफारिस लगायत प्रस्तुत गरिएका मिसिल अध्ययन गरी संलग्न प्रमाण कागजातका आधारमा मुद्दा छिनी किनारा लगाइदिए हुने भनी निर्णयतर्फ विचार गर्दा यसमा कायम रहेको जिल्ला सुनसरी धरान ९ (क) कि.नं. २६६ को जग्गा मोही लगत कट्टा पाउन दाबी लिएको प्रतिवादीको इन्कारीप्रति उत्तर नलेखेकोमा यस मुद्दामा दाबी हकदार यज्ञबहादुर घिमिरे प्रतिवादी महेन्द्र वहुमुखी क्याम्पस नामसारी मुद्धामा कि.नं. २६६को ०१७–१८ धुर जग्गाको मोही नामसारी हुने गरी आजै फैसला भएका हुँदा दाबी बमोजिम मोही लगत कट्टा नहुने ठहर गर्छ ।
फैसला विरुद्ध उच्च अदालतमा जाने
भूमिसुधार कार्यालयले गरेको फैसला विरुद्ध उच्च अदालत जाने क्याम्पस प्रशासनले निर्णय गरेको छ । क्याम्पस प्रमुख दामोदर भण्डारीले भूमिसुधार कार्यालयको निर्णय बदनियतपूर्ण भएकोले उच्च अदालत जाने बताएका छन् । उनले भने क्याम्पसको सम्पत्ति जोगाउन मैले प्रयास नगरेको भन्ने आरोप निराधार हो । त्रिभुवन विश्व विद्यालयका कानूनी सल्लाहकार, बरिष्ठ अधिवक्ता, बरिष्ठ स्वतन्त्र कानून व्यवसायीहरुसँग यस सम्बन्धमा परामर्श भइहरहेको र उच्च अदालत जाने निर्णय भएको उनले सुनाए ।
यता विद्यार्थी संगठनहरुले जग्गा संरक्षण गर्न क्याम्पस प्रशासनले चासो नदिएको आरोप लगाएका छन् । यतिका बर्षसम्म क्याम्पस प्रशासन के हेरेर बस्यो उनीहरुको प्रश्न छ । कुनैपनि हालतमा कलेजको सम्पत्ति हिनामिना हुन नदिने भन्दै विद्यार्थी संगठनहरुले संयुक्त संघर्ष समिति बनाएको महेन्द्र वहुमुखी क्याम्पस धरानका विद्यार्थी नेता बुद्रोस लिम्बुले सोमबार बताए । विद्यार्थी संगठनहरुले यस्तो संम्वेनशील कुरामा वेवास्ता गरेको क्याम्पस प्रशासनमाथि आरोप लगाएका छन् । उनीहरुले वारेस मार्फत क्याम्पस प्रशासनले तारेख बुझेको, तीन पटक पेशी तोकिँदा पनि क्याम्पस प्रशासनले आफ्नो वकिल पठाएर बहस नगर्नु शंकास्पद रहेको बताएका छन् ।
भूमाफियाहरुको नजर कलेज, विश्व विद्यालयको जग्गामा
लामो समयसम्म महेन्द्र वहुमुखी क्याम्पस धरानमा अध्यापन गरी हाल सेवा निवृत्त हुनु भएका प्रा.डा. गोपाल भण्डारी भन्नहुन्छ, धरानेहरुले अब भूमाफियाहरुको जरा नै उखेल्नुपर्छ ।
यतिबेला भूमाफियाहरुको नजर कलेज, विश्व विद्यालय, सार्वजनिक विद्यालयहरुको जग्गामा पर्न थालेको छ । शिक्षाका लागि दाताहरुले दान, दक्षिणमा दिएको जग्गामा अनावश्यक झमेला खडा गर्ने,्त्यस्ता सम्पत्तिहरु बेचबिखन गर्ने काममा भूमाफियासँगै राजनैतिक दल, स्थानीय जनप्रतिनिधिहरु समेत सलग्न भएको पाइन थालेको भण्डारीको कथन
छ । उहाँले भन्नुभयो तीन बर्ष अगडि धरान उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारीले समेत मोही कायमका लागि वडा समितिले गरेको सिफारिसमा सहमति जनाउँदै सिफारिस गरेपछि अहिलेको अवस्था आएको हो ।
प्रा.डा भण्डारीले भन्नुभयो यत्तिका बर्षसम्म मोहीको कुरै उठेको थिएन । लोकेन्द्रप्रसाद आचार्यले आफ्नो कार्यकालमा सम्पूर्ण प्रक्रिया पूरा गरेर उक्त जग्गा खरिद गर्नुभएको हो । उहाँ पनि २०५०÷०५१ सालमा सेवा निवृत्त हुनुभयो । त्ससबेला यो कुरा उठेन मोहीको चर्चा पनि भएन । तीन बर्ष यता विवाद शुरु भएर हाल मोहीको नाममा नामसारी गर्ने जुन चर्चासँगै निर्णय भएको छ यो गलत हो । यसो भएमा भोलिका दिनमा सार्वजनिक सम्पत्तिको संरक्षण हुनसक्दैन । यसमा क्याम्पस प्रशासनले पूर्ण रुपमा वेवास्ता गरेको पनि भन्न मिल्दैन । अब कानूनी बाटोमा जानुपर्छ ।
उहाँहरुले केही गर्नुभएको होला तर जोड नपुगेको देखियो । भूमिसुधारले गरेको निर्णय माफियाहरुकै दबाबमा, लेनदेनको आधारमा गरेको हुनसक्ने आशंका भण्डारीको छ । यो निर्णय साह«ै दुःखलाग्दो हो । क्याम्पसको इतिहासमै सबैन्दा नराम्रो हो । अब अरु शैक्षिक सस्थाहरुले पनि आफ्नो सम्पत्ति जोगाउन शतर्क हुनुपर्ने भएको छ । क्याम्पसको जग्गा जोगाउन विद्यार्थी संगठन, नागरिक समाज, प्राध्यापक, धरानका बौद्धिक समुदाय, स्थानीय बासिन्दाले पहल गर्नुपर्छ । क्याम्पस प्रमुखलाई मात्र दोष दिएर हुँदैन उनी भर्खर आएका हुन् सबै कुरा थाहा नहुन सक्छ । जग्गा जोगाउन कानूनी प्रक्रियासँगै सरकारलाई पनि घच्घच्याउनुपर्छ । शैक्षिक संस्था, विद्यालय, विश्व विद्यालयका जग्गामा मोही कायम हुँदैन भनेर मन्त्रिपरिषद्बाटै निर्णय गराए यो मोहीको विवाद खारेज हुन्छ । शैक्षिक संस्थाको सम्पत्तिलाई व्यक्तिले हडप्न खोज्नु दुर्भाग्य हो ।
सहयोग र दानबाट खडा भएको हो महेन्द्र कलेज
धरानस्थित महेन्द्र वहुमुखी क्याम्पसले हाल चर्चेको जग्गा, भवन सबै धरानका शिक्षाविद्, समाजसेवी, साहु, महाजनहरुको सहयोग र दानबाट प्राप्त भएको हो ।
धरानका शिक्षाप्रेमी स्व. कालीप्रसाद श्रेष्ठले २०१५ सालमा हाल महेन्द्र वहुमुखी क्याम्पस रहेको जग्गा निःशुल्क प्रदान गर्नुभएको हो । एक विगाह ५कट्टा जग्गा उहाँले दिएपछि कलेजको पुरानो एकतले भवन जनश्रमदान, दाताहरुको सहयोगमा पहिलो तला बन्यो । यद्यपि महेन्द्र वहुमुखी क्याम्पस २०१२ सालमै स्थापना भइसकेको थियो । त्यसबेला कलेजको आफ्नो भवन र जग्गा थिएन । पब्लिक हाइस्कूलको कक्षा कोठामा पठन पाठन हुँदै आएको थियो । २०१९ सालसम्म पब्लिक हाइस्कूलमै कक्षाहरु सञ्चालन भएर २०२१ सालमा धरानका हरिकृष्ण अग्रवाल र ओम अग्रवाल दाजुभाइले दोस्रोतला निर्माण गरिदिनु भयो । त्यसपछि विधिवत रुपमा महेन्द्र वहुमुखी क्याम्पस आफ्नो भवनमा सरेको हो । त्यसपछि वनेका अन्य संरचनहरु पनि स्थानीय शिक्षासेवी, दातृ निकाय, सरकारको अनुदान सहयोगमा विस्तारै निर्माण हुँदै गएको हो ।

तपाईको प्रतिक्रिया