धरान÷स्कन्धपुराणको हिमवत खण्डमा उल्लेख भए अनुसार सुनसरीको धरान २० स्थित विष्णुपादुका पितृ श्राद्धका लागि पवित्र स्थल मानिन्छ । तर, व्यवस्थितरुपमा सेवा, सुविधाहरु नपाउदा भक्तजन श्राद्ध गर्ने रहर भएर पनि त्यहाँ पुग्न नसक्दा ओझेलमा परेको छ ।
पौषे औशीको दिन नजिकै आउदैछ । यस दिन धरान २० स्थित विष्णुपादुका मन्दिरमा देशका विभिन्न जिल्ला र भारतबाट समेत पितृ श्राद्धका लागि भक्तजनहरु आउने गर्दछन् । धरान देखि ४ किलोमिटर उत्तर पश्चिममा कोकाहा नदीको किनारमा रहेको विष्णुपादुका मन्दिरको महत्वलाइ स्कन्धपुराणको हिमवत खण्डमा नै कोकाह नदीमा नुहाएर विष्णको पाउँ रहेको विष्णुपादुकामा श्राद्ध गरे पितृहरुले मोक्ष पाउने अभिलाषा लिएर विष्णुपादुका मन्दिर आएको भक्तजनहरु बताउछन् ।

हिन्दुधर्मावलम्बीहरु पितृ श्राद्धको लागि नेपालबाट पनि भारतको गया, बद्रीनाथतिर जाने गर्थे, पछिल्लो कालमा भने भारततिरबाट पनि तीर्थालुहरु विष्णुपादुका मन्दिरमा आउने गरेका छन् । वर्षमा एक पटक मात्रै श्राद्ध गर्ने प्रचलन रहेकाले मन्दिरको वैभवता ओझेलमा पर्दै गएको छ । मन्दिरको ऐतिहासिकताको प्रचार प्रसार र सुविधा एवं पूर्वाधार थपिने हो भने धार्मिक पर्यटन प्रर्वद्धनमा समेत योगदान पुग्ने पर्यटन व्यावसायी बासुदेव बरालको भनाई छ । उनी भन्छन्–‘पौराणिक रुपमा यो मन्दिरको महत्व धेरै छ, प्रचारप्रसार खासै हुन सकेको छैन, यसले गर्दा महत्व बोकेको मन्दिर पनि ओझेलामा परेका छ ।’
पछिल्लो समय धरान उपमहानगरपालिका धार्मिक पर्यटनलाई चासो दिदै विष्णुपादुका क्षेत्रमा होमस्टे संचालन गरेको छ । त्यो संगै पौषे औशीमा मात्रै श्राद्ध गर्ने प्रचलनलाई हटाउँदै जुनसुकै समयमा पनि श्राद्ध गर्ने सकिने व्यवस्था मिलाउन जरुरी छ । जसले गर्दा धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने देखिन्छ ।
