नेपाल पत्रकार महासंघले विज्ञप्तीमार्फत पछिल्लो पटक गरेको निर्णय स्वागतयोग्य रहेको छ । विगत केही बर्षदेखि पत्रकारिता पेशामा संलग्नहरु विभिन्न राजनैतिक पार्टीको झोले बन्ने, पार्टीका विभिन्न पदहरुमा आसिन हुने बढ्दो प्रवृत्तिप्रति नेपाल पत्रकार महासंघले आफ्ना मातहतका सबै इकाई, साधारण सदस्यदेखि पदाधिकारीसम्मलाई सचेत गराएको छ ।
नेपाल पत्रकार महासंघको विधान २०६० पाँचौ संसोधन २०७६ ले प्रष्ट रुपमा महासंघका केन्द्रीय समिति, शाखा समिति तथा साधारण सदस्यहरुले सो पदमा वहाल रहेसम्म कुनैपनि राजनैतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न नपाइने व्यवस्था गरेको छ ।
राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभागमा वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने वा सदस्यता खारेज गर्ने सम्मको प्रावधान रहेको जनाइएको
छ । महासंघले विज्ञप्तीमार्फत हाल झारा टराई मात्र गरेको होइन भने उसले पछिल्लो निर्णयसँगै आएको विज्ञप्तीको स्वागत गर्नुपर्छ । विगतमा सदस्यता वितरण गर्दा निर्वाचन जित्ने प्रयोजनका लागि मात्र अनलाइन व्यापार गर्दै हिड्ने, चियापसले, होटल सञ्चालक, कुनै सञ्चार माध्यममा आवद्ध नभएका, जग्गा दलाल, व्यापारी, राजनैतिककर्मीहरुलाई महासंघको साधारण सदस्यता वितरण गरिएको छ । यसप्रति महासंघको ध्यानाकर्षण हुनु पर्दैन ? कतिपय ठाउँमा यस्ता पदाधिकारी पनि छन जसको कुनै सञ्चार माधयमसँग आवद्धता छैन तर बर्षेनी उनीहरुको सदस्यता नविकरण हुन्छ । महासंघले साँच्चै नै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो भने त्यस्ता फर्जी सदस्यहरुको सदस्यता खारेज गर्नुपर्छ ।
एकपटक महासंघको पदाधिकारी भएको व्यक्ति आजीवन पत्रकार कसरी हुन्छ ? अन्य पेशा र व्यवसायमा संलग्न भएर पत्रकरिता पेशाबाटै पलायन भइसक्दा पनि उसको साधारण सदस्यता खरोज हुँदैन, महासंघको जिल्ला, प्रदेश वा केन्द्रीय पदाधिकारीमा निर्वाचन लड्छ भने दोष कस्को हो ? आस्थाका आधारमा पत्रकारहरु कुनै न कुनै राजनैति दलप्रति निकट हुनु स्वभाविक हो । तर पार्टीका पदाधिकारी नै बन्न निर्वाचन लड्ने, राजनैतिक दलको जिम्मेवारी सम्हाल्ने जस्ता कारणले पछिल्ला दिनमा पत्रकारिता पेशा नै लज्जित बन्न पुगेको छ । पत्रकारिता पेशा नै अमर्यादित बन्न पुगेको छ । विज्ञप्ती प्रकाशित गरी ध्यानाकर्षण गराउँदैमा केही हुनेवाला छैन । महासंघका केन्द्रीय पदाधिकारीहरुलाई, आफ्ना शाखा, क्षेत्र र इकाई कमिटीमा भएका पदाधिकारीरुको नालीबेली थाहा छ । टाटो मार्ने उद्देश्यले मात्र विज्ञप्ती प्रकाशित गर्नुको कुनै तुक छैन ।
यतिबेला प्राय ः सबै राजनैतिक दलहरुलाई चुनाव लागेको छ । अर्थात नेपाली काँग्रेस, एमाले, माओवादी, जसपा सबै महाधिवेशनतर्फ उन्मुख भएका छन् । नेपाल पत्रकार महासंघसँग आवद्ध भएका को को ती राजनैति दल निकट छन् र कुन कुन पदमा उनीहरुले उमेद्वारी दिएका छन्, निर्वाचित भएका छन भन्ने सामान्य जानकारी महासंघलाई अवस्य नै हुनुपर्ने हो । यदि जानकारी छैन भने त्यो दुःखद् पक्ष हो ।
