हङकङका सञ्चारकर्मी राईको निधन

धरान÷विगत दुई दशकभन्दा बढी समयदेखि हङकङलाई कार्यक्षेत्र बनाई एभरेष्ट खबर पत्रिका प्रकाशन गर्दै आउनु भएका धरानका किशन राईको आइबार भीरबाट लडेर निधन भएको छ ।
धरान–१५ स्थित ज्ञानोदय बोर्डिङ्ग स्कूलका संस्थापक समेत रहनु भएका राई दुई महिना अगाडि हङकङबाट नेपाल आउनु भएको थियो । हङकङमा बसेर नेपालीहरुको सहयोगमा सक्रिय रहेको भन्दै गएको भाद्रमा उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले गोरखा दक्षिण वाहु चौथोबाट काठमाण्डौमा विभूषित समेत गर्नुभएको थियो ।


गोरखा दक्षिण वाहु ग्रहणकै लागि नेपाल आउनु भएका राई तिहार धरानमै मनाएर हङकङ फर्कने योजनामा रहेको ज्ञानोदय स्कूलका प्रिन्सिपल टिवी क्षेत्रीले जानकारी दिनुभयो । यो बीचमा आफना अनन्य मित्र एवम् सहकर्मी सशस्त्र प्रहरीका एसपी प्रेम श्रेष्ठ लगायतसँग राई पूर्वी पहाड खोटाङ, ओखलढुंगा, सोलुखुम्बु भ्रमणमा निस्किको र फर्कदा खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी वडा नं. ८ पंखु खोलाको भीरबाट लडेर राईको निधन भएको प्रिन्सिपल क्षेत्रीले बताउनुभयो । यसभन्दा अगाडि उहाँ मनाङ्ग, मुस्ताङ पनि जानु भएको थियो । हाल धरानमा उहाँका कोही परिवार छैनन् । परिवारका सबै सदस्य बाहिरै बस्दै आउनु भएको छ । उहाँका ससुरा युके, बहिनी ज्वाई युके रहनु भएको छ राईका सम्पूर्ण परिवार हङकङमै रहँदै आउनु भएको छ । सोमबार उहाँको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याई पोष्टमार्टम गरिएको थियो ।

तपाईको प्रतिक्रिया