धरान÷प्रदेश नं. १ को प्रदेशसभा बैठक अनिश्चित भएको छ । आइतबारको प्रदेशसभाको वैठकबाट मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने कार्यसूचि तय भएको थियो ।
प्रदेश नं. १ का प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबारको बैठक स्थगनको माग गर्दै संसद सचिवालयमा निवेदन दिएपछि बैठक अनिश्चित बनेको हो । काँग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवाको आइतबार भएको पूर्वाञ्चल भ्रमणमा सांसदहरु व्यस्त हुने भएकोले बैठक स्थगनको माग गरेको भएपनि केन्द्रीय गठबन्धनले माधवकुमार नेपालको नव गठित नेकपा एकीकृत समाजवादीका राजेन्द्र राईलाई मुख्यमन्त्री दिने निर्णय गरेपछि दोस्रो सबैभन्दा ठूलो दल नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपाले चरम असन्तुष्टि जनाउँदै आएका थिए ।

गत शुक्रबार बसेको प्रदेशसभा वैठकबाट मुख्यमन्त्री भीम आचार्यले विश्वासको मतका लागि निवेदन दर्ता गराएका थिए । प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले आइतबार मत विभाजन गर्ने घोषणा समेत गरेका थिए । कँगे्रस, राप्रपा, जसपाका सांसदहरुले मुख्यमन्त्री भीम आचार्यको बहिर्गमन पश्चात सबैभन्दा ठूलो दल कँग्रेसबाट मुख्यमन्त्री बन्नुपर्ने मत राख्दै आएका थिए । तर केन्द्रीय गठबन्धनले यो सम्भावना क्षिण बनाएपछि राजेन्द्र राईभन्दा भीम आचार्य नै ठीक भन्दै १० जना सांसदले फ्लोर क्रस गर्ने सम्भावना भएपछि आइतबारको वैठक स्थगित गर्नै काँग्रेसले नै माग गरेको हो । अब प्रदेश नं. १ को राजनीति नयाँ कोर्षबाट शुरु हुने संसदीय दलका नेता राजीव कोइरालाले बताउनुभयो ।
