धरान÷दशैको समयमा सरकार तथा यातायात व्यवसायीले सवारी आवागमनमा सहज नगरिदिदा सर्वसाधारणले हैरानी व्योहोरेर यात्रा गर्नपर्ने बाध्यता बर्षौदेखि रहे पनि समाधानतर्फ लागेको पाइदैन ।
विगतदेखि नै रहेको यो समस्या यस बर्ष त झन एकातिर कोरोना महामारीको प्रकोप न्यूनिकरण नभइसकेको अवस्था र अर्कोतर्फ सिट क्षमताभन्दा बढी यात्रु बसमा खादेर लाने समस्याले आफन्त तथा मान्यजनकहा टिका थाप्न हिडेका सर्वसाधारण मारमा परेका हुन् ।

दशैमा आफन्त तथा मान्यजनकहा टिका थाप्न हिडेका सर्वसाधारण अहिले धरानको भानुचौकमा अलपत्र परेका थिए ।कोशी पहाडी राजमार्ग छुट्ने बस पर्याप्त नभएकै कारण दशै मनाउन घर हिडेका यात्रुहरु पाच घण्टा भन्दा बढी समयदेखि बसको पर्खाइमा हुदा गन्तव्यसम्म पुग्न नसकी भानुचौकमै अलपत्र परेका हुन् ।
एकातिर पर्याप्त बस नहुनु, अर्कोतर्फ कोरोना संक्रमण न्यूनिकरण नभएकै अवस्थामा सिटभन्दा बढी खचाखच यात्रु बोकेर हिड्दा जोखिम बढेर गएको यात्रुहरु बताउछन् ।
बसमा यात्रा गर्ने सर्वसाधारण बसभित्रै खचाखच यात्रु हाल्दा आक्रोस बन्दै सिट मिलाई दिन आग्रह गर्दै गरेको दृश्यले पनि यात्रुहरु कति सुरक्षित ढंगले यात्रा गरिरहेका छन् भन्ने स्पष्ट हुन्छ । समयमै गन्तव्यमा पुग्ने भनेर हिडेका यात्रुहरु यसरी अलपत्र पर्दा समेत सम्बन्धित निकाय गम्भीर नभएकोप्रति सर्वसाधारण यात्रुहरु आक्रोसित समेत बनेका छन् । विशेष गरी विभिन्न स्थानमा रोजगारीमा रहेका तथा वैदेशिक रोजगारीबाट दशै मनाउन आएका मात्र हैन, साना बालबालिकादेखि बृद्धाबृद्धासम्म यसरी यात्रुवाहक बसको पर्खाइमा रहेका हुन् । मोरङको केराबारीबाट पुख्र्यौली घर टिका लगाउन तेह्रथुम हिड्नु भएका रमेश बस्नेतले तेहूथुम जाने बस पर्खेको तीन घण्टा भएको बताउनुभयो । उहाले तेह्रथुम जाने बस विहानदेखि एउटा पनि नआएको गुनासो पोख्नुभयो । उहाले भन्नुभयो, ‘चाडो टिका लगाएर घर फर्किने उद्देश्यले हिडेको बस नपाएर अलपत्र परिएला जस्तो पो भयो ।’
पूर्वी पहाडी जिल्ला धनकुटा, संखुवासभाका बसहरु बसपार्कमा प्रसस्त भएपनि ती सवारी साधनमा खचखच यात्रु थिए । तर भोजपुर र तेह्रथुम जाने बस भने नपाउदा सर्वसाधारण घण्टौ सवारी साधन पर्खेर बसेका थिए । काठमाण्डौबाट धनकुटाका लेगुवा हिडेका नवराज मैनालीले घण्टौ पर्खदा पनि बस नआएको गुनासो पोखे । काठमाण्डौबाट सहज रुपमा धरान आए पनि धरानबाट घरसम्म पुग्न भने सकस भएको उहाले बताउनुभयो । उहाले भन्नुभयो–‘काठमाण्डौबाट सहज रुपमा धरान आइपुगियो, धरान आएपछि चाहिँ बस नपाएर अलपत्र परियो ।’
यता यातायात व्यवसायी तथा मजदुर संगठनहरुले भने यात्रुको चापलाई मध्यनजर गरी बस थपेको बताएपनि बसकै अभावमा तातो घाममा गन्तव्यसम्म हिडेका बृद्धबृद्धा, बच्चा तथा महिलाहरु प्रतिक्षामा बस्न बाध्य थिए । विगतमा चाडपर्वको समयमा सहज रुपमा यात्रुहरुलाई यात्रा गराउने बताउने मजदुर संगठन, यातायात व्यवसायीका नेताहरु भने सुरक्षित यात्रा गराउनेतर्फ त्यति गम्भीर देखिएको पाइएन ।
यातायात मजदुर पर्शुराम काफ्लेले दशैलाई लक्षित गरी विगतको भन्दा दोब्बर सवारी साधन सञ्चालन गर्दा समेत यात्रुको चापलाई धान्न नसकेको बताउनुभयो । उहाले आफूहरुले सुरक्षित रुपमा यात्रा गराउन खोज्दा पनि बसकै अभावका कारण यात्रु नै आफै खचाखच गरेर चढ्ने गरेको बताउनुभयो । उहाले कोरोनाको जोखिम त्यसमाथि खचाखच यात्रु भएका कारण सर्वसाधारणलाई यात्रा गर्दा मास्क लगाउन आग्रह गरेको बताउनुभयो ।
यो समस्या पूर्व पश्चिम राजमार्गमा भने छैन । पूर्वी पहाड क्षेत्रमा जाने बसमा भने यो समस्या छ । विगतमा ३० मिनेटको समयमा एउटा बस छुटने भए पनि अहिल यात्रुको चाप अत्याधिक भएका कारण १० मिनेट, ५ मिनटमा यात्रुवाहक बस भरिएर जाने गरेका छन् । सीमित बस त्यसमा पनि तेह्रथुममा सडक जीर्ण भएर गन्तव्यसम्म बसलाई धौ धौ पर्ने
गरेकाले पनि समस्या भएको यातायात मजदुर बताउँछन्
