म आफै निस्कृय भएको होइन, वर्तमान नेतृत्वले निस्कृय बन्न बाध्य बनाएको हो–मदन ढकाल

मदन ढकाल । नेपालको विगतका प्रजातान्त्रिक आन्दोलनका हरेक गतिविधिमा धरानका काँग्रेसहरुका बीच मनमस्तिस्कमा बसेको नाम हो । पद र प्रतिष्ठा भन्दा पनि नेपाली काँग्रेसलाई सशक्त बनाउन विगतदेखि उहाँले गर्नुभएको योगदान धरानका काँग्रेसका कार्यकर्ता माझमा मात्र नभएर देशका अन्य स्थानका काँग्रेसका लागि पनि मदन ढकाल परिचित नाम हो ।
नेपाल विद्यार्थी संघको राजनीतिबाट आउनु भएका ढकालले नेपाली काँग्रेसको आगामी हुने १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ को सभापतिका लागि आफनो उमेदवारी घोषणा गर्नुभएको छ । विगतमा नगर, क्षेत्र, जिल्ला तहका जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुभएका ढकालले प्रजातान्त्रिक आन्दोलनका क्रममा काराबाससँगै अनेकौ यातना भोग्नु भएको थियो ।
खासगरी धरानको संस्थापन काँग्रसमा विगत केही बर्षदेखि मौलाएको विकृति, संगठन सुदृढ गर्ने भन्दा पनि पार्टी नेतृत्व कब्जा गरेर काँग्रेसको आचरण विपरीत क्रियाकलाप गरी आर्थिक फाइदाका लागि सक्रिय सिण्डिकेट परास्त नहुन्जेल धरानको काँगेस संंगठन सुदृढ हुन नसक्ने ढकालको मान्यता छ । धरानको परम्परागत संस्थापनपक्षले धरानमा काँगे्रेस सशक्त होस् बलियो होस् भन्ने चाहना नराखी कार्यकर्ताबीचमै वैमनस्यता पैदा गर्ने, फुटाउने प्रपञ्च गर्दै आएकोले त्यसका विरुद्धमा आफूले सुनसरी क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट सभापतिमा उमेद्वारी घोषणा गरेको ढकाल बताउनुहुन्छ ।
धरानका पुराना काँग्रेस कायर्ककर्ता र नयाँ कार्याकर्ताबीचमा सुपरचित सभापतिका प्रत्यासी ढकालसँग यस पटक हामीले १४ औं महाधिवेशनमा उहाँको उमेद्वारीलाई लिएर वार्ता गरेका छौं । प्रस्तुत छन्, उहाँसँग गरिएका वार्ताका सारसंक्षेप :-

दनेपाली काँग्रेसको आगामी मंसिरमा हुने १४ औं महाधिवेशन अन्तर्गत चाँडै हुन गइरहेको सुनसरी क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ को सभापतिमा तपाईले आफनो उमेद्वारी घोषणा गर्नुभएको छ । तपाइको उमेद्वारी घोषणाका आधार के के हुन् ?
–नेपाली काँग्रेसको प्रदेश धेरै कमजोर छ । त्यसमाथि पनि धरान उपमहानगरपालिकाका १५ वटा वडा पर्छन् प्रदेशसभा ‘क’ मा । प्राय ः यो सबै बजार एरियामा छ तर काँग्रेस एकदमै कमजोर छ । संगठन लथालिंग अवस्थामा भएको हुनाले मैले सानै ठाउँबाट भएपनि आगामी दिनमा काँग्रेसलाई चुस्त, दुरुस्त, गुटरहित काँग्रेस बनाउने लक्ष्यका साथ नेतत्व लिन म अगाडि बढेको हुँ ।
नेपाली काँगेसमा अहिले यो ठाउँमा एउटा सक्षम नेतृत्वको आवश्यकता छ नगरमा, क्षेत्रमा, प्रदेशमा । केन्द्रमा पनि काँग्रेसको नीति, नियम, आदर्शलाई Ïलो गर्ने कार्यकर्ता जिम्मेवारीमा जानुपर्छ भनेर नै मैले उमेद्वारी घोषण गरेको हुँ ।
तपाईका आगामी योजनाहरु के के छन् त ? संगठन कसरी विस्तार गर्ने ? तत्कालै मुलुकमा तीन तहको निर्वाचन हुँदैछन्, काँगे्रसलाई जिताउनुपर्छ भन्ने कुरामा तपाईका योजना के के छन् ?
–हेर्नुस मैले मास राजनीति गर्दै आएको हुँ । मैले विद्यार्थी राजनीति महेन्द्र वहुमुखी क्याम्पसबाट शुरु गरेको हुँ । मैले एक दुई हजार विद्यार्थीमाझबाट गरेको हुँ । २०४४ सालमा स्ववियुको चुनावमा अखिलको प्रस्तावक र समर्थक लिएर निर्वाचन लडें । त्यसबेला मैले नेविसंघबाट प्रस्तावक र समर्थक समेत पाइन । त्यस्तो अवस्था थियो । मलाई अखिलले संस्थागत निर्णय गरेर प्रस्तावक र समर्थक दिएर म सभापति उठेको थिएँ । त्यसबेला समर्थक र प्रस्तावक नभेटेको अवस्था थियो । हामीले वेलकम गर्दा कार्यकर्ता हुँदैनन् थिए । बे्रन्चीहरु खाली हुन्थे । तर त्यसलाई चिर्र्दै मैले सांगीतिक कार्यक्रमबाट मोडिफाइ गर्दै वा कसरी मासलाई आकर्षित गर्न सकिन्छ भन्ने कुरा मलाई राम्ररी थाहा थियो । मैले यही कुरालाई विद्यार्थी राजनीतिमा प्रयोग गरेँ र म सफल पनि भएको छु । मेरो काम गर्ने तौरतरिका भिन्नै छ । वार्ड वार्डमा, टोलटोलमा संगठन बनाउनुपर्छ । म क्याम्पसमा हुँदा ८ वटा जिल्ला सम्पर्क समिति गठन गरेको थिएँ । झापा, मोरङ, ताप्लेजुङ, ओखलढुंगा, तेह्रथुम, भोजपुर, उदयपुर आदिमा सम्पर्क कार्यालय स्थापना गरेको थिएँ ।
जसरी त्यसबेला मैले सम्पर्क कार्यालय स्थापना गरेँ त्यसैगरी अब वडा, टोलमा राजनीति तहमा सम्पर्क कार्यालय गठन गर्नुपर्छ । संगठन गर्न मलाई राम्ररी आउँछ । मैले मास राजनीति गरेको हुनाले मलाई त्यो अनुभव छ । मैले २५ बर्ष जति त नेतृत्व नै लिएको छु ।
कुन कुन नेतृत्व लिनुभयो ?
–मैले नेविसंघमा महेन्द्र वहुमुखी क्याम्पसमा इकाई सभापति आठ बर्ष चलाएँ । त्यसपछि नेविसंघमै हुँदा क्षेत्रीय समितिको तदर्थ समितिमा दुई बर्ष सचिव भएँ । त्यसपछि निर्वाचित भएर ५ बर्ष बसे । जिल्ला सचिव मैले दुई बर्ष चलाएँं । नगर अध्यक्ष ५ बर्ष, वडा अध्यक्ष ५ बर्ष चलाएँ । त्यस हिसाबले २५÷३० बर्ष अध्यक्ष र सचिवको नेतृत्व लिएको मेरो अनुभव छ । त्यही नेतृत्वको अनुभवले अब मैले काँग्रेसका कार्यकर्ता परिचालन गरेर काँग्रेसलाई अगाडि बढाउने हो ।
मदन ढकाल निस्क्रिय बस्नु भएको छ भने एक प्रकारको आरोप तपाईमाथि एकथरिले लगाइरहेका छन् । यसलाई तपाई कसरी चिर्नु हुन्छ ?
–यसमा के छ भने यहाँको वर्तमान नेतृत्वले मलाई निस्कृय बनाएको हो । म जहिल्यै पनि चुनावका बेला फ्रन्टलाइनमा छु । यस भन्दा अगाडि पनि म क्षेत्रीय सभापतिमा उठ्दा यो प्रजाान्त्रिक काँग्रेस हो भन्ने ट्याग लगाइदिए । म यिनीहरुसँग सहमत नभएर विद्रोह गरेर उठेको थिएँ । यिनीहरुले भनेझै म प्रजातान्त्रिक काँग्रेस थिएँ भने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइरालाले मेरो घरमै आएर कार्यकर्तालाई जम्मा गरी स्पिच दिनुभयो, मेरो पक्षमा भोट मागिदिनु भयो ।
अहिलेको नेतृत्वमा एउटा सिण्डिकेट छ । २५÷३० बर्षदेखि यो सिण्डिकेट यहाँ सक्रिय छ । त्यो सिण्डिकेट भन्दा बाहिरको मान्छेलाई उहाँहरु रुचाउनु हुन्न । सिण्डिकेटको जुन डिजाइन छ त्यही डिजाइन अनुसार उहाँहरु हिड्नु हुन्छ । हामी जस्तो कार्यकर्तालाई जहिल्यै पनि पाँखा लगाउनु हुन्छ । किनकी हामी ब्रेनबाट चल्छौै बे्रडबाट चल्दैनौं । हाम्रो विशेषता के छ भने व्रेनबाट चल्ने कार्यकर्ता भएको हुनाले म मात्र होइन अरु अग्रज नेताहलाई पनि उहाँहरुले पेसिव बनाएका छन् । मलाई नेतृत्वले पेसिव बनाएको हो, निस्कृय बनाएको हो । म जहिले पनि सक्रिय छु, हरेक पटक काँग्रेसलाई सहयोग गरेकै छु । म निस्क्रिय हुनेवाला पनि होइन ।
त्यो सिण्डिकेटलाई म्यासकेट गर्नका लागि तपाईले यसभन्दा अगाडि कुनै काम गर्नु भएन ?
–त्यसैको विरोधमा पाँच बर्ष अगाडि क्षेत्रीय सभापतिको उमेद्वारी दिएँ । नेतृत्व लिन खोजेको थिएँ । उहाँहरुको सर्टेन साम, दाम, दण्ड र भेद नीतिले म परास्त भएँ । मैले त्यसबेला एकपैसा खर्च नगरी ६२÷६३ भोट पाएँ । मैले ३०÷३५ भोटले हारें । उहाँहरुको २०–३० लाख खर्च म एक्लैले गराइदिएँ । त्यसैले मदन ढकाल उहाँहरुका लागि नामै काफी छ । जसरी हुलासको कर्कट पाताको विज्ञापनमा नामै काफी छ भन्ने गरिन्छ । मदन ढकाल भनेको उहाँहरुकालागि हरेक चुनावमा आतंक हो । म त्यसैको रुपमा आफूलाई विद्रोह स्वभावको रुपमा लिन्छु । विगतमा मैले घोर असन्तुष्टि व्यक्त गर्दै दुई पटक साधारण सदस्यबाटै राजीनामा दिएको थिएँ ।
किन त्यसरी राजीनामा दिनुभयो ?
–मैले राजीनामा दिएँ पनि मेरो योगदान, सांगठनिक कुशलता हेरेर दुई पटक नै पार्र्टीले राजीनामा स्वीकृत गरेन । २०४४ सालको स्थानीय चुनावमा काँग्रेसले स्थानीय निकाय कब्जा गर्नुपर्छ भनेर गिरिजाप्रसाद कोइरालाको आवहानमा वडा नं. ४ बाट अत्याधिक वहुमत ल्याएर चुनाव जितें । २०४६ सालको आन्दोलनमा म विद्यार्र्थी नेताको रुपमा सक्रिय भएँ । मलाई प्रक्राउ
गरियो र अढाई महिना लौकी हिरासतमा राखियो । २०४८ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षमा निर्वाचन जितें । वडाध्यक्ष , उपमेयर, मेयर हुँदै जाने मेरो लक्ष्य थियो । तर भर्खर एमालेबाट प्रवेश गरेका मिन विकलाई उपमेयरमा टिकट दिइयो । मैले त्यसको विरुद्धमा विद्रोह गरें । मैले उपमेयरमा उमेद्वारी दिएँ तर पछि पार्टीले मलाई चित्त बुझाएर बसायो । त्यसबेलामैे चुनौति दिएर विद्रोही उमेद्वार भएर कार्यालय नै खोलेको थिएँ ।
अर्कौ पटक नेपाली काँग्रेस र प्रजातान्त्रिक काँग्रसबीच संयोजन गर्दा संस्थापक नगर अध्यक्ष भएपनि भागबण्डाको आधारमा मलाई हँटाइयो । इटहरीमा संस्थापनलाई दिने र धरानमा प्रजातान्त्रिकलाई दिने काम भयो । त्यसबेला पनि मैले साधारण सदस्यबाटै राजीनामा जिल्ला सभापति रामबहादुर बस्नेतलाई बुझाएँ । त्यसको दुई दिनपछि फेरि मलाई जिल्ला सचिव बनाएर काँग्रेसमा फिर्ता गर्नुभयो । मेरो स्वभावनै विद्रोही खालको छ । म विद्यार्थी राजनीतिबाट आएको हुनाले पनि यस्तो स्वभाव भएको होला ।
तपाईले हाल प्रदेश ‘क’ बाट सभापतिको उमेद्वारी घोषणा गरिसक्नु भएको छ । कार्यकर्ताको धारणा तपाईले कस्तो पाउनु भएको छ ?
–यहाँ दुई खालको धारणा छ । एक खाले केही सीमित साथीहरुको धारणा के छ भने मैले कुनै पनि चुनावमा उठ्नु हुँदैन । यो चुनावमा नउठोस्, यो सभापति बन्नुहँदैन भन्ने छ । किनकि मेरो वडा नं. १ मा सिण्डिकेट चलाउनेहरुले चार पाँचवटा महाधिवशेन प्रतिनिधि, जिल्ला बाँडेको सुनिदैछ । लोकल भाषामा लड्डु बाँडेको भनिन्छ । उहाँहरुले १५÷१६ जनालाई लड्डु बाँड्नु भएको छ । मान्छेहरुले लड्डु खाइसकेका छन् । लड्डु खानेहरुले मलाई नउठ, उठ्नु हुँदैन भन्ने उहाँहरुको प्रेसर छ । जसले लड्डु बाँडेको छ उनीहरुले मदन ढकाललाई जसरी भए पनि बसा भन्ने निर्देशन दिएका छन् ।
लड्डु कसले बाँडेको हो ?
–जसले असक्षम नेतृत्व काँग्रेसमा लिएका छन् । उनीहरुले वडावडाका कार्यकर्तालाई विभाजन गरिदिएका छन् । मैले नेपाली काँग्रेसको राजनीति प्रतिबन्धित अवस्थादेखि हेरे कहिल्यैै अहिलेको जस्तो विकृति आएको थिएन । अहिले वडामा पनि विभाजन गराइदिएको छ । यसको असर भोलिको आम चुनाव, स्थानीय चुनाव, वडाको चुनावमा पर्छ । २०४८ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसले ८ वटा वडा जितेको थियो, एमालेले १० सिट जित्यो, २०५४ सालको निर्वाचनमा काँग्रेसले ६ वटा वडामात्र जित्यो एमालेलेले १३ वटा जित्यो । अहिले पाँचकन्या गाविस र विष्णुपादुका गाविसँग गाभिदा पनि ५ वटा वडा मात्र जित्यो । नढाटी भन्दा एक दुई वडामा मात्र काँग्रेसले वडा अध्यक्ष जिताएको छ र बाँकी वडामा उमेद्वारले काँग्रेसलाई जिताएको छ । उमेद्वारको लोकप्रियता, सक्रियताले वडा नं. ४, ५, १८ नं वडाध्यक्षले काँग्रेसलाई जिताएका हुन् । २ र १४ पनि उमेद्वारले नै काँग्रसलाई जिताएका हुन् । काँग्रेसले उमेद्वारलाई जिताएको होइन । १ नं. वडामा चाहिँ काँग्रेसले उमेदवारलाई जिताएको हो ।
गणतन्त्र स्थापनापछि काँग्रेसले आफ्नो उमेद्वारलाई जिताएको भनेको १ वडा मात्र हो । यतिसम्म लाजमर्दो छ कि यहाँको नेतृत्व गएको चुनावमा फोरमको उमेद्वार अशोक राईलाई भोट हाल्नु प¥यो । जसले पहाडे र मधेशीको नाममा ‘र’ को डिजाइनमा विभाजन गराएको छ । त्यस्तो उमेद्वारलाई भोट हाल्न बाध्य बनायो । एउटा संसदको उमेद्वार पनि अहिलेको नेतृत्वले तयार गर्न सकेन । प्रदेशसभाको निर्वाचनमा पनि डिजाइन अनुसार जिताइएको छ एमालेलाई । असफल गिरोहले आफ्ना उमेद्वारलाई असफल बनाएर भीम आचार्य, प्रदीप भण्डारीलाई जिताउने काम भएको छ । गिरोहलाई आम चुनावमा जित्छु, जितेर जनताको सेवा गर्छु भन्ने आँट छैन । उहाँहरु लोकप्रिय हुनुहुन्न । त्यसैले उहाँहरु पार्टी कब्जा गरेर फाइदा लिने काम गर्दैै आउनु भएको छ । उहाँहरुको एउटैं उद्देश्य छ जसरी भएपनि पार्टी कब्जा गर्ने, आफ्नो अण्डरमा राख्ने र यसबाट फाइदा मात्र लिने । मलाई सञ्चारमाध्यममा भन्न आफैलाई लाज लाग्छ काँग्रेसमा यहाँ कति विकृति छ भन्ने कुरा । वडाध्यक्षको टिकट बेचिएको छ । महाधिवेशनको टिकट पनि यो भन्दा अगाडि १० औं लाखमा बेचिएको छ । म कसैको नाम लिन्न क–कस्ले किन्यो भनेर । महाधधिवेशनका उमेद्वारको घरमा गएर ५लाख, ७ लाख रुपैयाँ मागिएको छ । पैसा दिन्न भन्दा उहाँहरुलाई हराइएको छ । यो सबै काँग्रेसीलाई थाहा छ । चरम विकृत्ति छ, यो भन्दा थप विकृति हुनै सक्दैन । पार्टी कब्जा गरेर फाइदा लिन उहाँहरु चतुर हुनुहुन्छ । पार्टीको चुनाव आउँदा उहाँहरुलाई दशै आए जस्तो हुन्छ । बाइद वे अहिले दशैको बेलामै पार्टीको चुनाव छ । उहाँहरुलाई दशै छ । हामीलाई दशा छ किनकी पार्टी उहाँहरुले कब्जा गरेर फाइदा लिइरहेका छन् । लोकप्रिय कार्यर्काहरुलाई उहाँहरु कहिल्यै अगाडि बढ्न दिनुहुन्न । चन्द्रप्रसाद श्रष्ठकै टिममा बसेर मैले १५÷२० बर्ष विताएँ । उहाँको घरमा बसेर तरकारी केलाइन कि ? ७ बर्ष नगर सभापति हुँदा उहाँकै टिममा बसेर काम गरें । तर म कहिल्यै उहाँको नजिक हुन सकिनँ । म व्रेनबाट चल्थे ब्रेडबाट चल्दिन थिएँ । म बेलुका जमघट गर्दिन थिएँ विहान भेटेथे । मेरो कमजोरी नै उहाँहरुलाई बेलुका नभेट्नु नै हो । नखानु र नखुवाउनु नै हो ।
अन्त्यमा केही छ कि ?
–कार्यकर्ताहरुले काँग्रेसलाई नै जिताउने हो । जित्ने पनि काँग्रेसले नै हो हार्ने पनि काँग्रेस नै हो । जितहार उमेद्वारले गर्छ । पार्टीलाई गतिशील बनाउने नेतृत्वले हो । यो बजार हो । उमेद्वारहरुको समीक्षा पक्कै मतदाताले गर्छन् । मदन ढकाल कस्तो मान्छे हो, उसको प्रतिद्वन्द्वी कस्तो छ भन्ने मुल्यांकन पक्कै गर्छन् । चन्द्रप्रसाद श्रेष्ठले अरु कोही कार्यकर्ता देख्नु भएन । उहाँले आफ्नै रिलेसनबाटै उठाउने काम गर्नु भएको छ । त्यसैले उहाँको सोचाई कस्तो रहेछ भन्ने कुराको मुल्यांकन गर्छन् । जसले मासफेस गर्न सक्दैन त्यस्तालाई उठाउनु राम्रो होइन ।

तपाईको प्रतिक्रिया