विराटनगर÷नेपाल–भारत सीमा क्षेत्र मोरङका तीन स्थानमा विओपी (बोर्डर अब्जरवेशन पोष्ट) स्थापना भएका छन् । यस भन्दा अगाडि भारतसँग सीमा जोडिएका ८ स्थानमा विओपी स्थापना गरिएको थियो । तीनवटा थपिएसँगै मोरङमा विओपीको संख्या ११ पुगेको छ ।

पछिल्लो पटक स्थापना भएको सशस्त्र सीमा सुरक्षा बल रहने विओपीमा रतुवा माइको मिर्चाडाँगी, सुनबर्सी ८ को सिक्टी र रंगेलीको धनापटी रहेका छन् । रतुवामाइ ३ को मिर्चाडाँगीमा र सिक्टीमा विओपी स्थापना गर्न संघीय सांसद मिनेन्द्र रिजालले सांसद विकास कोषबाट १० लाख उपलब्ध गराउनु भएको थियो । सिक्टीमा निर्माण भएको पोष्टका लागि नगरपालिकाले समेत ५ लाख उपलब्ध गराएको थियो । यसैगरी रंगेलीको धनापटीमा विओपी निर्माण गर्न रंगेली नगरपालिकाले १६ लाख उपलब्ध गराएको थियो ।
नेपाल सरकारले नेपाल भारत सीमा क्षेत्रमा ५ सयवटा विओपी स्थापना गर्ने योजना बनाएको छ । सीमा क्षेत्रको साढे तीन किमीको दूरीमा एउटा विओपी स्थापना गर्ने नीति अनुसार विओपीको संख्या थप गर्दै गएको सशस्त्र प्रहरी बल ३ नं. गण कंकालिनी मोरङले जनाएको छ ।
