धरान÷धरानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको ग्राफ दिनप्रतिदिन बढ्दै गएको छ । कोरोना संक्रमणकै कारण शनिवार राति पिण्डेश्वर संस्कृति विद्या पीठ धरानका सह प्राध्यापक डा. घनश्याम दाहालको दुःखद् निधन भएको छ ।

पारिवारिक स्रोतका अनुसार दुई साता अगाडि डा. दाहालमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई उपचारार्थ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उहाँमा श्वासप्रश्वास लगायतका समस्या आएपछि कोभिड अस्पतालको भेन्टिलेटरमा राखेर उपचार शुरु गरिएको थियो । अचानक राति ८ . ४० बजे एक्कासी जटिल स्वास्थ्य अवस्था आएपछि चिकित्सकहरुले दाहाललाइ बचाउन गरेको अनेकौ प्रयास सफल हुन सकेन ।
५० बर्षीय दाहाल पिण्डेश्वर संस्कृत विद्यापीठमा नेपाली विषयको सह–प्राध्यापकको रुपमा अध्यापन गराउँदै आउनु भएको थियो । धरानका झण्डै आधा दर्जन शिक्षण संस्थामा उहाँको आवद्धता रहेको थियो । धरान १ लक्ष्मी सडकमा बस्दै आउनु भएका दाहालका दुई छोरी र श्रीमति रहनु भएको छ ।
