लोकप्रिय प्रशासक स्व. गणेशप्रसाद भट्टराइको स्मृति ग्रन्थ लोकार्पण

धरान÷बारा जिल्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी स्व. गणेशप्रसाद भट्टराईको स्मृतिग्रन्थ आइबार एक भर्जुअल कार्यक्रमको आयोजना गरी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतिले लोकार्पण गर्नुभएको छ ।
तीन बर्ष अगाडि भट्टराई बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी रहेको अवस्थामा अस्वभाविक ढंगले २०७५ माघ १२ गते पथलैयामा सवारी दुर्घटनामा परी दिवंगत हुनु भएको थियो । प्रमुख जिल्ला अधिकारी भट्टराईसँगै बारा जिल्लाका सशस्त्र प्रहरीका एसपी बलराम पोख्रेलको समेत निधन भएको थियो ।


चितवन स्थायी घर भएका भट्टराईले बारामा आउनु भन्दा अगाडि गोरखा जिल्लाको प्रमुख जिल्ला अधिकारीको भूमिका कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । साहित्यिक अनुरागीसँगै कुशल प्रशासक एवम् इमान्दार राष्ट्रसेवक भट्टराइको सम्झनामा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव डा. तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा गणेशप्रसाद भट्टराई स्मृति प्रतिष्ठान गठन गरिएको थियो । सोही प्रतिष्ठानले दिवंगत भट्टराईको सम्बन्धमा विभिन्न विद्वान, समालोचकहरुद्वारा स्मरण गरिएका आलेखहरु स्मृति ग्रन्थमा समेटिएका छन् । भर्चुअल कार्यक्रममा बरिष्ठ समालोचक प्रा.डा. कुलपसाद कोइरालाले स्मृति ग्रन्थका सम्बन्धमा समालोचनात्मक टिप्पणी गर्नुभएको थियो । यसैगरी पोखरा विश्व विद्यालयका पूर्व उपकुलपति प्रा.डा. खगेन्द्रप्रसाद भट्टराई लगायत एक दर्जन विद्वानहरुले स्व. गणेशप्रसाद भट्टराईको वहुआयामिक व्यक्तित्वका सम्बन्धमा आफ्ना धारणा राख्नु भएको थियो ।

तपाईको प्रतिक्रिया