- मणिराज भट्टराई
राजनीति, शिक्षा, समाजसेवालाई एक साथ जीवनको उद्देश्य बनाउनु भएका धरानका प्रखर अग्रज व्यक्तित्व चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) लाई भेट्ने इच्छा मनमा धेरै दिनदेखि जागिरहेको थियो । मध्यान्हको घाम अपरान्हतिर धकेलिँदै गएको थियो, म उहाँको निवास धरान वडा नं. १२ स्थित चतरालाइन पुगें ।
कोठमा पुग्दा उहाँले एकै शब्दमा भन्नुभयो केही दिनदेखि म अस्वस्थ छु । शायद अत्याधिक पीडाले होला उहाँले शरीरको माथिल्लो भागमा वेल्ट बाँध्नु भएको थियो । जसलाई देख्दा उहाँ अस्वस्थ भएको सहजै अनुमान गर्न सकिन्थ्यो । बढ्दो उमेरसँगै थपिने अस्वस्थताले मानिसमा टेन्सन बढ्छ । शायद चन्द सरमा पनि यो कुराले प्रसस्तै ठाउँ पाएको हुनुपर्छ ।
भेटका क्रममा उहाँले भन्नुभयो समाजका लागि धेरै गर्ने ईच्छा भएपनि शारीरिक शिथिलताले चिन्ता बढाएको छ । मानिस जन्मनुको सार्थकता समाजका लागि केही गर्नु हो भन्दै उहाँले सुनाउनुभयो यतिबेला म आत्तिएको छु । उमेरले चारबीस काटेर ६ बर्ष अगाडि धकेलिसकेको छ । मेरा बाबु बाजे सरदर यही उमेरमा स्वर्गीय हुनुभएको थियो ।
थोरै जोशिलो, अनुहारमा केही चमकको भावमा उहाँले भन्नुभयो केही समय अगाडि एकजना ज्योतिषलाई देखाएको थिएँ, उनले अझ धेरै लामो आयु बताइदिए तर आफूलाई त्यत्रो आयु उपयुक्त लागेन ।
धरानमा दुवाजु परिवारको विशिष्ठ योगदान
वि.सं. १९९२ साल जेष्ठ १ गते धरानमा जन्मनु भएका नेवार समुदायभित्रको दुवाजु परिवारका चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) ले सदैव समाजलाई दिँदैमात्र आउनु भएको छ । धरानको विजयपुरको विकास, इतिहास र स्थापनामा दवाजु परिवारको उल्लेखनीय योगदान रहेको छ ।
पृथ्वीनाराण शाहले नेपाल एकीकरण गर्ने अभियान अन्तर्गत विजयपुर स्थापना भएसँगै विजयपुरमा नेवारहरु आएर बसेको पाइन्छ । त्यसबेला नेवारहरु व्यापार, जागिरको शिलशिलामा विजयपुर आएका थिए । खासगरी विजयपुरमा चार नेवार वंशको आ–आफ्नै भूमिका थियो । जसमा दुवाजु, लाखे, पलिखे र हेंजु थिए । आफ्ना बराजुहरु को थिए भने एकिन नभएपनि न्हुच्छे नारायण, गौरीनारायण, रामबहादुर र गणेश प्रसाद (काइला साहुँ) सहित चार पुस्ताको ज्ञान उहाँलाई छ ।
विजयपुरका दुवाजु परिवारले तत्कालीन धरानका लागि महत्पूर्ण योगदन दिएका थिए । मठमन्दिरको स्थापना, स्कूल कलेजको स्थापनामा उनीहरुको योगदान रहेको छ । रामबहादुर श्रेष्ठ धार्मिक स्वभावका भएकोले उहाँले विजयुरमा आप्mनै जग्गामा हनुमानजीको मन्दिर स्थापना गर्नुभयो । त्यसको पूजाआजा आज पनि उहाँका परिवारले गरिरहेका छन् । तर विडम्बना मान्नुपर्छ मन्दिरको संरक्षण हुन नसक्दा आज अतिक्रमणको चपेटामा परेको छ । दुवाजु परिवारका रामबहादुर श्रेष्ठका चार भाइ छोरा थिए । त्यसमध्ये एकजना थिए शिवपसाद श्रेष्ठ जसलाई गोरे सुवेदार पनि भनिन्थ्यो उहाँकै पालामा रत्नपसाद सुब्बा तत्कालीन वन जाँच कार्यालयको हाकिम हुँदा विराटनगरका वडा हाकिम रहस्यप्रताप शाहलाई प्रधानमन्त्री जुद्ध शमशेरले धरानमा वन फँडानी गरी बस्ती बसाल्न आदेश दिए । आदेश बमोजिम वि.सं. १८९० सालमा धरानमा छाताचौकदेखि भानुचौकसम्मको वन फँडानी गरेर जग्गा वितरण गरियो शिवप्रसाद श्रेष्ठ सरकारी जागिरे भएकोले जग्गा वितरणमा साक्षीको रुपमा राखिएको थियो । दुवाजु परिवारकै अम्बिकाप्रसाद श्रेष्ठले पञ्चायतकालमा १६ बर्ष जिल्ला विकास समिति सुनसरीको सभापति भएर काम गरेका थिए । उनकै पालामा इनरुवा दुहवी सडक, इनरुवा कप्तानगञ्जको बाटो बनेको हो ।
दुवाजु परिवारका गणेशप्रसाद श्रेष्ठ
(काइँला साहुँ) अर्थात चन्द्रप्रसाद श्रेष्ठका पिता धार्मिक प्रवृत्तिको हुनुहुन्थ्यो । उहाँको फूपूको विवाह पलिखे परिवारमा भएको थियो । अर्थात् चन्द्रप्रसाद श्रेष्ठको कान्छी अजी जसले
धरानको आजको सिंहदेवी मन्दिरको स्थापना गर्नुभयो । मन्दिरको पूजाआजाका लागि काइँला साहुँले पानमारामा ७ कट्ठा जग्गा दिनुभयो । त्यो जग्गा आज पनि छ । जसको आम्दानीले मन्दिरको पूजाआजा गर्ने काम हुँदै आएको छ । धरानको पब्लिक हाइस्कुल स्थापना गर्न काइला साहुले पु¥याएको योगदानलाई कसैले नकार्न सक्दैन । त्यसबेला भारतबाट पढेर आएका धरानका युवाहरु स्व. गणेशमान श्रेष्ठ, भागवत गोविन्द लाखे, कृष्णगोविन्द लाखे धरानमा स्कूल खोल्न चाँजोपाँजो गर्दा पब्लिक हाइस्कुलको मुख्य सडकमा अढाई कट्टा जग्गा दिनुभयो । वि.सं. २००३ सालमा स्कूल स्थापना भयो र त्यो भवन निर्माणमा समेत काइला साहुले सहयोग पु¥याउनुभयो । जुन जग्गाको मूल्य आज करोडौ पुगेको छ । २००६ सालमा सोही विद्यालयबाट चन्द्रप्रसाद श्रेष्ठका जेठा दाजु कृष्णप्रसाद श्रेष्ठ (विए) ले प्रथम श्रेणीमा एलएलसी उत्तीर्ण गर्नुभयो ।
राजनीतिमा चन्द्रप्रसाद श्रेष्ठ
वि.सं.२०१४ सालमा चन्द्रप्रसाद श्रेष्ठ नेपाली काँग्रेसको राजनीतिमा प्रवेश गर्नुभयो । धरान प्राम्भदेखि नै वामपन्थीहरुको प्रभावमा थियो । चन्द्रसर काँग्रेसम प्रवेश गर्दा धरानमा काँग्रेसको संगठन शून्य थियो ।
उहाँले नेपाली काँग्रेसलाई धरानमा संस्थापक भएर संगठित गर्नुभयो । कतिपय त्यसबेलाका वामपन्थीहरुले उहाँलाई जिस्क्याउँथे, एक्लो वृहस्पति भन्थे । तर कुशल सांगठनिक क्षमता भएका श्रेष्ठले एकातिर काँग्रेसको संगठन विस्तार गर्नुभयो वि.सं. २०१४ सालमै उहाँ नेपालकै जेठो पुस्तकालय धरान सार्वजनिक पुस्तकालयको निर्वाचन सञ्चालक समितिको सचिवमा निर्वाचित हुनुभयो । वि.सं. २०१५ सालमा स्थापना भएको उक्त पुस्तकालय वि.सं. २०१८ सालमा सञ्चालन गर्न कठिन भएकोले धरान नगर पञ्चायलाई हस्तान्तरण गरिएको थियो । आज पनि उक्त पुस्तकालय सञ्चालनमा रहेको छ । वि.ं. २०२९ सालमा सुनसरी रेडक्रस सोसाइटीको गठनमा उहाँको अहम् भूमिका थियो । वि.सं. २०२४ सालमा शारदा नमूना बालिका माविमा शिक्षण पेशामा प्रवेश गरेपछि उहाँलाई घाँटीमा टन्सिलको समस्या देखियो । त्यसताका नेपालमा राम्रा डाक्टरहरु थिएनन् , त्यसैले २०२७ सालमा उहाँ दुई तीन महिना विराएर उपचारका लागि विहारको पटना जान थाल्नुभयो । एकपटक जाडोको महिना कोट लगाएर एउटा रेडक्रस चिन्ह भएको लकेट झुण्ड्याउनु भएको थियो । डाक्टरसँग चेक जाँचका क्रममा डाक्टरको नजर उहाँको कोटमा झुण्ड्याइएको रेडक्रसको लकेटमा प¥यो । त्यसपछि उपचारमा संलग्न डाक्टरलाई तपाई रेडक्रसको मेम्बर हुनुहुँदो रहेछ भनी वडो आदर र सम्मान गरेका थिए । त्यसबेला उहाँ बडो द्विविधामा पर्नुभएको थियो । उपचारपछि उहाँ धरान आई साथीहरुसँग रेडक्रस स्थापनाकालागि सरसल्लाह गर्नुभयो । उहाँले आफूलाई विदेशमा पनि रेडक्रसको चिन्हले परिचित र सम्मानित गराएको साथीहरुलाई सुनाउनु भयो । त्यसपछि चन्द्रप्रसाद श्रेष्ठ, प्रेमसिंह धामी, कुन्ता शर्मा, सरला कायस्थ, इन्दु माया शाक्य रहेको एक तदर्थ समिति गठन भयो । तदर्थ समितिले केही कार्य पूरा गरेपछि पहिलो निर्वाचन भयो श्रीमति सरला कायस्थ अध्यक्ष, सचिव प्रेमसिंह लिम्बु, इन्द्रमाया शाक्य, कुन्ता शर्मा, चन्द्रप्रसाद श्रेष्ठ कार्यसमितिमा चयन हुनुभयो । त्यसपछि उहाँकै प्रयासमा नेपाल रेडक्रस सोसाइटीले पहिलो पटक एम्बुलेन्स सञ्चालनमा ल्यायो ।
अध्ययनकै शिलशिलामा आफनो यवसायलाईसमेत निरन्तता दिन उहाँले झुक्का सरुवा मिलाएर जानुभयो । झुम्काका गएपछि त्यहाँका अभिभावक, बृद्धिजीविहरुसँग सम्पर्क गरी नेपाल
रेडक्रस सोसाइटी झुक्का शाखाको स्थापना गर्नुभयो । उहाँले स्थानीय नागरिकहरु तीर्थ सुवेदी, ईश्वर घिमिरे, प्रितनारायण चौधरीलाई अगाडि सानुभएको थियो । त्यसबेला नेपाल रेडक्रसमा आवद्ध भएकाहरुले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य वीमाको सुविधा पाउँथे । त्यस सम्बन्धमा पनि उहाँले उनीहरुलाई अभिप्रेरित गर्नुभएको थियो ।
नेपाल शिक्षक संघको संस्थापक
वि.सं. २०३५÷०३६ सालमा शिक्षा सुधार र शिक्षक हकहितको माग राखी देशव्यापी भएको शिक्षक आन्दोलनमा चन्द्रप्रसाद श्रेष्ठको अहम् भूमिका थियो । मकवानपुर हेटौडाको भुटनदेवी माविका प्रद्यानाध्यापक बद्रीप्रसाद खतिवडको अध्यक्षतामा रहेको नेपाल राष्ट्रिय शिक्षक संगठनले आवहान गरेको आन्दोलमा उहाँले हरतरहले सहयोग पु¥याउनु भएको थियो ।
त्यसबेला शिक्षकहरुको एउटै संगठन थियो । शिक्षकहरुको आन्दोलन देशव्यापी भएपछि तत्कालीन सरकारले शिक्षकहरुको माग पूरा गर्न बाध्य भएको थियो । त्यसबेला पूर्वाञ्चलका शिक्षकहरुको नेतृत्व चन्द्रप्रसाद श्रेष्ठले नै गर्नुभएको थियो । त्यही आन्दोलनका कारण आज मुलुकभरिका सामुदायिक विद्यालयका शिक्षकहरुले शैक्षिक सुविधाहरु पेन्सन, सञ्चयकोष, उपदान, औषधोपचार लगायतका पाएका हुन । वि.स. २०४६ सालको पहिलो जनअन्दोलनमा चन्द्रप्रसाद श्रेष्ठले प्रजातन्त्र पुनर्वहालीका लागि महत्वपूर्ण नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । पद रप्रतिष्ठानभन्दा अलग्गै बस्न रुचाउने चन्द्रससाद श्रेष्ठलाई आन्दोलन सफल भएपछि नेपाल शिक्षक संघको अध्यक्षमा बस्न सुनसरीका आम शिक्षकहरुले आगह गरे । नेपाली काँग्रेसका सुनसरीका तत्कालीन सभापति तथा जिल्ला विकास समितिका सभापति समेत रहनु भएका रामबहादुर बस्ने घरमा नेपाली काँग्रेससँग आवद्ध शिक्षकहरुको भेला भएको थियो । उक्त भेलाले चन्द्रप्रसाद श्रेष्ठलाई अध्यक्षमा प्रस्ताव गर्दा उहाँले आफू लालायित नभएको भन्दै सिसाम्बर झाको सिफारिस गर्नुभएको थियो ।
श्रेष्ठमाथि सांघातिक आक्रमण
वि.सं. २०४२ सालको मुलुकभरि नेपाली काँग्रेसको आवहानमा जारी सत्याग्रहमा शिक्षकहरुसमेत सहभागी भएका थिए । शिक्षकहरु आन्दोलित भएपछि उनीहरुको भेला र उपस्थितिलाई असफल बनाउन पञ्चायती शासकहरुले क्रुरता देखाएका थिए । धरानमा प्रहरीको दमन र गोली प्रहारबाट धरानमा एकजनाको मृत्यु समेत हुन पुग्यो । त्यही दौरान चन्द्रप्रसाद श्रेष्ठलाई प्रक्राउ गरी आक्रमण गर्दा उहाँ मरणासन्न अवस्थामा पुग्नु भएको थियो । उहाँलाई उपचारका लागि प्रहरीले विराटनगर अस्पताल पु¥यायो । जसको समाचार त्यसबेला भारतीय अखबारहरुले प्रकाशित गरेका थिए ।
वि.सं. २०२७ सालमा चन्द्रप्रसाद श्रेष्ठले शाखा अधिकृत पदको लागि लोक सेवा आयोगमा परीक्षा दिनुभयो । तर परीक्षाफलमा पञ्चायती सरकारले चन्द्रप्रसाद श्रेष्ठलाई अराष्ट्रिय तत्व घोषणा गरी सेवाबाटै बञ्चित गरायो । जसका कारण उहाँले सरकारी अधिकृतको सेवाबाट सदैवका लागि बञ्चित हुनु परेको थियो ।
परोपकारी क्षेत्रमा योगदान
वि.सं. २०५५ सालमा शिक्षक पेशाबाट सेवानिवृत्त भएपछि चन्द्रप्रसाद श्रेष्ठले परोपकारको क्षेत्रमा आफूलाई सहभागी गराउँर्दै आउनु भएको छ ।
वि.सं. २०७२ सालमा पब्लिक हाइस्कुलको भवन निर्माणार्थ लगाइएको श्रीमद् भागवत महापुरणमा तुलादान, नेपाल रेडक्रस सोसाइटी सुनसरीको दैवीप्रकोप आपत्तकालीन उद्वार कोषलाई एक लाख, बाल अनाथाश्रम (तुर्के) मा आश्रित असहाय बालबालिकाकालागि स्वावलम्बी व्यवसायिक तालिमका लागि एक लाख २५ हजारको अक्षय कोष, बालिका विद्यालयमा आफ्ना मातापिताका नाममा अक्षय कोष, संस्कृत विद्यालय पञ्चकन्यामा छात्रवृत्ति कोष, पितृहरुको स्मरणमा चतरामा पिउने खानेपानी जडान, दन्काली मन्दिरमा छाना लगाउन सहयोग, ९० फिट अग्लो शिवजीको त्रिशुल निर्माण गर्न २१ केजी तामा, सिद्धि नेवाः परिषदमा ५ लाखको अक्षयकोष लगायतका दजनौ स्थानमा अक्षयकोष स्थापना गरिदिनुभएको छ ।
आफनो ८४ औं जन्मोत्सव अनाथाश्रममा
दुई बर्ष अगाडि चन्द्रप्रसाद श्रेष्ठले आफ्नो ८४ औ जन्मोत्सव सरस्वती बाल अनाथाश्रममा मनाउनु भएको थियो । ८४ औ जमोत्सवलाई हरेक मानिसको जीवनमा पुर्नजन्मको रुपमा लिइन्छ । पुर्नजन्म वा जंकु गर्न प्रचलन अनुसार विभिन्न विधि, पूजाआजा गरिन्छ । खुशियाली मनाइन्छ । तर उहाँले बाल अनाथाश्रमका बालबालिालाई फलफूल, लत्ता कपडा वितरण गरेर मनाउनुभयो ।
बृद्धाश्रम बनाउने योजना अधुरै वि.सं.०६१÷६२ सालमा चन्द्रप्रसाद श्रेष्ठले धरानमा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्नुभयो । त्यसको मुख्य उद्देश्य धरानमा सुविधा सम्पन्न एक बृद्धाश्रमको स्थापना गर्नुथियो ।
बृद्धाश्रमका लागि धरानको दुई धारेस्थित मन्दिरको नाममा दर्ता रहेको दुई विघा जग्गामध्येबाट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष स्व. सूर्यप्रसाद उपाध्याय र जग्गादाता आचार्य परिवारबाट जग्गा प्रदान गर्न मञ्जुरी भइ जगको काम समेत शुरु भएको थियो । तर पछि आचार्य परिवारबाट अवरोध भएपछि निर्माण कार्य स्थगित भयो । पुन ः उहाँले दुई धारे र तीन धारे बीचको गिरी बन्धुहरुको १३ कट्ठा जग्गामध्ये ५ कट्ठा दिन मञ्जुरी भए पनि पुन ः गिरी बन्धु परिवारबाटै अवरोध भएपछि बृद्धाश्रम निर्माण गर्ने उहाँको योजना अधुरै रहयो ।
महेन्द्र वहुमुखी क्याम्पसको स्थापनामा भूमिका
वि.सं. २०१३ सालमा राजा महेन्द्रको पूर्वाञ्चल भ्रमणका क्रममा धरान सवारी हुँदा धरानका समाजसेवी गोशणमान श्रेष्ठको अगुवाईमा धरानमा एउटा क्याम्पसका लागि निवेदन दर्ता
भयो । राजा महेन्द्रबाट क्याम्पसका अध्ययन गर्न चाहने विद्यार्थीको नाम र संख्या पेश गर्न आदेश भयो । त्यसबेला एएलसीपास गरेका र नगरेका जोडजाड गरेर नामावली पेश भयो । त्यो मध्येको एउटा नाम चन्द्रप्रसाद श्रेष्ठको पनि थियो । जग्गाको कुरा हुँदा स्थानयि शिक्षाप्रेमी कालीप्रसाद श्रेष्ठले महेन्द्र कलेज रहेको दुई विगाहा जग्गा प्रदान गर्नुभयो र राजा महेन्द्रबाट कलेज सञ्चालनको स्वीकृति प्राप्त भयो । चन्द्रप्रसाद श्रेष्ठ भनुहुन्छ धरानमा कलेज स्थापनामा थोरै भएपनि योगदान पु¥याउन पाएकोमा आज गर्व लाग्छ । आज चन्द्र प्रसाद श्रेष्ठको योगदानलाई मुल्यांकन गरेर धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले १ लाख ५० हजार राशीको चन्दप्रसाद श्रेष्ठ शिक्षा पुरस्कार स्थापना गरिदिनु भएको छ ।

