धरान÷चरम आर्थिक अनियमितताका कारण उत्पन्न गम्भीर संकटसँगै विघटनको सघारमा पुगेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चारै जना पदाधिकारीहरुको राजीनामाको माग राखी सम्पूर्ण चिकित्सक, प्राध्यापक, नर्स, विद्यार्थी, कर्मचारीहरुले आषाढ १ गतेदेखि शुरु गरेको सुद्धीकरण अभियान (आन्दोलन) आज ४४ औं दिनसम्म जारी रहेको छ ।

प्रतिष्ठानमा भएका भ्रष्टाचार तथा अनिययमितताका सम्बन्धमा सम्बन्धित निकायमा विगतदेखि नै उजुरीका चाङ लागे पनि सम्बन्धित निकायले संलग्नमाथि कार्वाही नगर्दा, आवाज उठाउँदा उल्टै स्पस्टीकरण सोध्ने, कार्वाहीको धम्की दिने काम भएपछि आन्दोलनरत पक्षले प्रधानमन्त्री मातहतको उच्चस्तरीय छानविन तथा वार्ता टोली माग राखी गत हप्ता २४ घण्टे अल्टिमेटम दिएको थियो ।
अभियानकर्ताहरुको अल्टिमेटम पश्चात श्रावण ४ गते सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकमा गठित कार्य दलले दुई दिनसम्म खरिद सम्बन्धी कागजात, आवश्यक अनुसन्धान, विभिन्न पक्षसँग सोधपुछ गरी १५ दिनमा प्रतिवेदन बुझाउने गरी साउन ५ गते काठमाण्डौ फर्किएको थियो । उनीहरुले प्रतिवेदन बुझाएसँगै भ्रष्ट पदाधिकारीहरुमाथि कार्वाही नगरेसम्म खबरदारी आन्दोलन जारी राख्ने निर्णय गरेका छन् , सुद्धीकरण अभियान तथा संयुक्त संघर्ष समितिका संयोजक डा. विष्णु पोख्रेल भन्नुहुन्छ, हाम्रो आन्दोलन भ्रष्ट चारै जना पदाधिकारीको बर्खास्त नहुँदासम्म जारी रहन्छ ।
मन्त्रीको चाकडी बजाउन रजिष्ट्रार काठमाण्डौमा

भ्रष्टाचार र अनियमितताका एक पछि अर्को काण्डले दंंगदंत्ती गन्हाएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मी स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको चाकडी बजाउन यतिबेला काठमाण्डौ पुगेका छन् । प्रतिष्ठानका एक कर्मचारीले दिएको जानकारी अनुसार उनी एक मदिरा व्यवसायीलाई लिएर काठमाण्डौ पुगेका हुन् । ती कर्मचारीले भने प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव डा. बैकुण्ठ अर्याल संयोजकको टोलीले साउन ५ गते रजिष्ट्रार रेग्मीको झाँको झारेका थिए । प्रतिष्ठानको नियमावली विपरीत नियुक्ति भएकोले प्रतिष्ठानमा कार्यकाल सिद्धिएपछि तपाई के गर्नुहुन्छ भनेर प्रश्न गर्दा निजले पुन ः डिपार्टमेन्टमै फर्कन्छु भन्ने जवाफ दिएका थिए । सचिव अर्यालले फर्कने भए अहिल्यै फर्कनुस्, रजिष्ट्रार पद तपाइका लागि होइन, प्रतिष्ठानको नियमावली विपरीत तपाइको नियुक्ति भएको छ । पछिल्ला दिनमा अप्ठेरो पर्न सक्छ भनेपछि रजिष्ट्रार रेग्मीले यस सम्बन्धमा म पछि गफ गर्छु भन्दै पन्छिएका थिए ।
ती कर्मचारीले भने रजिष्ट्रार रेग्मी यतिबेला हतास मनस्थितिमा छन । साउन ९ गते शनिवार चितवनमा मेरो एकजना आफन्तलाई क्यान्सर भएको छ भन्दै चितवन जान्छु भनेर हिडेका थिए । तर हाल उनी यतिबेला एकजना मदिरा व्यवसायीका साथ काठमाण्डौमा भेटिएका छन् । उनले सुनाए नव नियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ यतिबेला चितवनका बासिन्दा हुन् । भोजपुर घर भएपनि उनले केही बर्ष अगाडि चितवनमा घर बनाएकोले ससुराली चितवन नै भएका रेग्मी ससुराली मार्फत भनसुनमा लागेको उनले सुनाए ।
‘गलत मान्छेलाई हामी सिफारिस गदैनौं’
जुन पार्टीको सरकार आउँछ त्यही पार्टीको सदस्यता लिने छेपारे प्रवृत्ति भएका रजिष्ट्रार रेग्मीले गगन थापा स्वास्थ्य मन्त्री हुँदा चितवनबाट नेपाली काँग्रेसको, उपेन्द्र यादव स्वास्थ्य मन्त्री हुँदा संघीय समाजवादी पार्टीको, हृदयेश त्रिपाठी स्वास्थ्य मन्त्री हुँदा म तपाइकै खास मान्छे हुँ र एमाले सत्तामा हुँदा एमालेको सदस्यता लिएको एक चिकित्सकले बताए ।
उनले भने हिसिला प्रवृत्ति भएका रेग्मी अहिले काँग्रेस हुँ भन्दै हिँड्न थाल्या छन् रे । उनले हाँस्दै भने अहिले रजिष्ट्रार काँग्रेसको साधारण सदस्य मात्र होइन सक्रिय सदस्य भइसकेका होलान् । यसै सम्बन्धममा हामीले चितवनका नेपाली काँग्रेसका जिल्ला कार्य समितिका सचिव राजीव न्यौपानेलाई बीपीको नामको प्रतिष्ठान डुबाउन, भ्रष्टाचार अनियमिततामा मुछिएका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मी चितवन काँग्रेसबाट सिफारिस गराउन चितवन आएको भन्ने सुन्नमा आएको भन्ने जिज्ञासा राख्दा सचिव न्यौपानेले भन्नुभयो रेग्मीको ससुराली चितवन महानगरपालिका वडा न. १० मा छ । उहाँहरु नेपाली काँग्रेसका इमान्दार कार्यकर्ता हुनुहुन्छ । तर ससुरालीको साइनो भँजाएर आउँदैमा हामीले सिफारिस गरिदिने कुरा आउँदैन । एमालेका तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालबाट रेग्मीको नियुक्ति हुनुले उनको राजनैतिक पृष्ठभूमि प्रष्ट हुने सचिव न्यौपानेले बताउनुभयो ।
सिरक डस्ना किन्न प्रतिष्ठानबाटै खर्च

रजिष्ट्रार रेग्मीले प्रतिष्ठानलाई कतिसम्म दोहान गरेका छन् भन्ने पछिल्लो एउटा सामान्य घट्नाले समेत पुष्टि
गरेको छ । एक कर्मचारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा भने आफूलाई चाहिने सिरक डस्नासमेत निजले प्रतिष्ठानबाटै खरिद गर्न लगाएका छन् ।
प्रतिष्ठानको आर्थिक प्रशासन शाखाको दर्ता नं. ३०२२ र २०७८ असार १३ मा Stock Entry ( Against for Registra Qtr) डस्ना सिरक समेत किनाएका छन् । रजिष्ट्रारको आवासको आवश्यकता अनुसार स्थानीय बजारबाट खरिद गरी बनाई ल्याएको हुँदा लागत १५२५० रजिष्ट्रारका कार्यालय सहयोगी गोकुल खनालमार्फत बुझाएको पत्र धरान साप्ताहिकलाई प्राप्त भएको छ ।
यतिमात्र होइन निजले प्रतिष्ठानलाई बार्षिक करोडौ व्ययभार थोपरेर आफ्नो सुरक्षाका लागि तीन जना गार्ड राखेका छन् । एकजना वडी गार्ड राखेका छन् । लाखौ खर्च गरेर क्वाटरमा टायल ओछ्याएका छन् । एक पटक बनायो, फेरि भत्कायो गरेर तीनपटकमा प्रतिष्ठानको लाखौ सिध्याए । क्वार्टरलाई नै आफ्नो कार्यालय बनाएका छन् ।
