धरान÷आइतबार धरानले शान्त, शालीन, सज्जन, शिक्षाविद्, भद्र र एक राष्ट्रवादी व्यक्तित्व गुमाएको छ । अर्थात सूर्य प्रसाद उपाध्याय । धरानको शिक्षा, खानेपानी, स्वास्थ्यका क्षेत्रमा सूर्यप्रसाद उपाध्यायको योगदान अतुलनीय रहेको छ ।
वि.सं. १९९३ सालमा अभिनारायण ढुंगेल र आमा सावित्री ढुंगेलका सुपुत्रको रुपमा चैत्र २६ गते जन्मनु भएका सूर्यप्रसाद उपाध्यायको राजनीतिक जीवन २००८ सालबाट शुरु भएको हो ।
प्रा.डा. राजेन्द्र शर्मा भन्नुहुन्छ २००८ सालमा राजा त्रिभुवनको धरानमा सवारी हुँदा उहाँले कालो झण्डा देखाएर राजनैतिक जीवनको शुरुवात गर्नुभएको थियो । राजा त्रिभुवनलाई कालो झण्डा देखाउने शाहस त्यसबेला कसैले गर्नु त परै जाओस सोच्नसम्म सक्दैनन् थिए । उहाँले राजा त्रिभुवनलाई कालो झण्डा देखाउनु कुनै राजनैतिक उद्देश्यले थिएन । कुनै राजनैतिक दलको उक्साहटमा उहाँले राजा त्रिभुवनलाई कालो झण्डा देखाउनु पनि भएको थिएन । १५ बर्षकै उमेरमा उहाँले राजा त्रिभुवनलाई कालो झण्डा देखाउने शाहस गर्नुको अन्तर्य कुराहरु बेग्लै थिए । त्यो कालो झण्डा देखाउनुको प्रमुख उद्देश्य थियो धरानमा कलेज चाहियो, स्कूलहरु चाहियो, पठनपाठन हुनुप¥यो, खानेपानीको समुचित व्यवस्था हुनुप¥यो, अस्पताल चाहियो भन्ने माग उहाँको थियो ।

वि.सं. २००८ सालको त्यस घट्नालाई राजा त्रिभुवनले बडो सम्बेदनशील रुपमा लिनुभयो । त्यसपछि धरानमा धमाधम स्कूलहरु खुले, खानेपानीको लागि व्यवस्था हुँदैगयो । वि.सं. २००८ सालदेखि २०१७ सालको बीचमा एक आद्य राजनैतिक गतिविधिबाहेक अरु केही गर्नु भएन । त्यसबेला उहाँले एसएली, आइए, विए पास गर्नुभयो । महेन्द्र वहुमुखी क्याम्पसको उहाँ पहिलो व्याची हुनुहुन्थ्यो । अध्ययनका क्रममा उहाँको वाम राजनीतिमा झुकाव थियो । उहाँले नेपाल कम्युनिस्ट पार्टीको सदस्यताचाहिँ लिनु भएको थिएन । वि.सं. २०१५ सालको आम निर्वाचनमा वाम राजनीतिले जस्तो भूमिका ग¥यो उहाँले त्यसै गर्नुभयो । ०१५ सालमा धरानदेखि दुहवीसम्म एउटंै क्षेत्र थियो । त्यसबेला नेपाली काँग्रेसले आम चुनावमा विजयी हासिल ग¥यो । वि.स. २०१७ सालको राजनैतिक घट्नापश्चात भएको पहिलो नगर परिषद्को निर्वाचनमा विजयपुरबाट वडाअध्यक्ष उठेर नगर परिषद्मा केही दिन उपाध्यक्ष हुदै उपसभापति भएर काम गर्नुभयो ।
वि.सं. २०१९ सालमा नेपालमा संविधान जारी भएपछि पहिलो पटक धरान नगर पञ्चायतको निर्वाचन भयो । धरान उपमहानरपालिका तथा तत्कालीन धरान नगर पञ्चायतको पहिलो प्रधानपञ्च हुनुभयो । त्यसपछि २०२४ सालमा भएको नगर पञ्चायतको दोस्रो चुनावमा पनि विजयपुरबाट वडाध्यक्ष हुँदै नगर पञ्चायतको प्रधानपञ्च बन्नुभयो । त्यसबेला नगर परिषद्ले प्रधानपञ्चमा निर्वाचित गथ्र्यो ।
(२००८ सालमा कालो झण्डा देखाएका कारण राम पाठशाला खोल्ने कामहरु भए । जिल्ला कार्यक्रम भन्ने निकायलाई राजा त्रिभुवनले हुकुम नै दिएका थिए कि त्यो कालो झण्डा देखाउनेहरुको माग तुरुन्तै पूरा गर्नु भनेर)
वि.सं. २०२८ सालमा राजा महेन्द्र वीर विक्रम शाहले मनोमित गरेर राष्ट्रिय पञ्चायतको सदस्यमा बनाउनु भयो । त्यसबेला उहाँले संसारका एक दर्जन भन्दा बढी बिदेशको भ्रमण गर्नुभयो । युरोप,
अमेरिका, बेलायत, रुस, श्रीलंका, जर्मन लगायतका देशको भ्रमण गर्नुभयो । अमेरिकाको नेवास्का भन्ने स्टेटले उहाँलाइ अनरेरी सिटिजन भनेर उपाधि समेत दिएको थियो । जुन कागजातका आधारमा उहाँले चाहेको भए आजीवन अमेरिकामा भएर बस्न सक्नुहुन्थ्यो तर उहाँले त्यसो गर्नु भएन ।
वि.सं. २०३२ सालमा चारबर्षे राष्ट्रिय पञ्चायतको कार्यकाल सिद्धिएपछि उहाँ एक किसिमले सामाजिक जनजीवनमा सीमित रहनुभयो । राजनीतिमा खासै कुनै प्रकारको चासो देखाउनु भएन । प्रारम्भिक अवस्थामा वामपन्थी झुकाव भएपनि उत्तरार्धमा आएर उहाँ पञ्चायतीवादी हुनुभयो । एउटा इमान्दार राष्ट्रवादी हुनुहुन्थ्यो । एउटा देश भक्तको रुपमा उहाँ बस्नु भयो । गाउँ फर्के राष्ट्रिय अभियान शुरु भएपछि उहाँ त्यसको अञ्चल सभापति बन्नुभयो । त्यसपछि २०४३ सालको आम निर्वाचन पश्चात १४ वटै अञ्चलको अञ्चलाधीशमा नियुक्ति गर्ने क्रममा उहाँ पनि जनकपुर अञ्चलको अञ्चालाधीशमा राजा वीरेन्द्रबाट नियुक्ति हुनुभयो । २०४६ सालको जनआन्दोलन अघिसम्म उहाँ जनकपुर अञ्चलको अञ्चलाधीशमा कायम हुनुहुन्थ्यो । वहुदल आएपछि उहाँको अञ्चलधीशको पद सिद्धियो ।
त्यसपछि उहाँ घरमै आएर बस्नुभयो । उहाँको राजनैतिक तटस्थता पछिसम्म कायमै रहयो । प्रा.डा. राजेन्द्र शर्मा सम्झनु हुन्छ उहाँ धरान नगर पञ्चायतमा रहँदा तीनवटा महत्वपूर्ण शाखाहरु खोल्नुभयो । तीनवटा शाखाहरुमा खानेपानी शाखा, शिक्षा शाखा, स्वास्थ्य शाखा थिए । उहाँले आजीवन खानेपानी, शिक्षा र स्वास्थ्यमा जोड दिनुभएको थियो । नेपाल अधिराज्यमा धरान पहिलो नगर पञ्चायत हो जसले प्राथमिक स्कुललाई निःशुल्क गरिदिएको थियो । यो उहाँकै योगदान थियो । सबै प्राथमिक स्कूलका शिक्षक, कर्मचारीलाई नगर पञ्चायतबाट तलब खुवाउने व्यवस्था उहाँले गर्नुभएको थियो । शिक्षाको क्षेत्रमा त उहाँले अद्धितीय योगदान दिनुभएको थियोे । धरान १६ स्थित रहेको भगवती मिडिल स्कूलमा त अध्यापन पनि गर्नु भयो । महेन्द्र क्याम्पसको कुनै एउटा कार्यकालमा उहाँ व्यवस्थापन समितिको अध्यक्ष पनि हुनभयो । शिक्षा क्षेत्रमा मात्र नभएर धरानको पावर हाउसमा उहाँको योगदान धरानले कहिल्यै विर्सन सक्दैनन् । २०३४ सालमा धरानमा विजुली अड्डा बन्यो । धरान नगर पञ्चायतको सक्रिय सहभागिता विद्युत प्राधिकरणले पावर हाउस बनाएको थियो । त्यसबेला विद्युत कर्पोरेशन भनिन्थ्यो । यसरी हेर्दा के देखिन्छ भने स्व. सूर्यप्रसाद उपाध्यायको शिक्षा क्षेत्रमा उहाँको लगावसँगै सामाजिक, राजनैतिक क्षेत्रमा धरानका लागि ठूलो योगदान रहेको छ । उहाँका २ छोरा, २ छोरी रहनु भएको छ । केही समयदेखि उहाँ मुटुको रोगबाट पीडित हुनुहुन्थ्यो ।
