रजिष्ट्रार रेग्मी र उपकुलपति गिरीको निर्देशनमा कोठा खाली गराउन राति गएर धम्की यौन हिंसाका आरोपी लेखा अधिकृतद्वारा रक्सीले मातेर चिकित्सकमाथि दुव्र्यवहार

धरान÷बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा अधिकृत हुन् कमल रायमाझी । विगत १२ बर्षदेखि एकाद्य दुई महिनाबाहेक उनी लगातार प्रतिष्ठानको लेखा शाखामा कार्यरत छन् । चप्पल लगाएर प्रतिष्ठान छिरेका उनी अहिले कम्तीमा ८० लाख रुपैया मिटर व्याजमा लगाउँछन् र लाखौको निजी गाडीमा चढ्छन् । यिनै कमल रायमाझीले हिजो आइतबार बेलुका प्रतिष्ठानका आवासीय चिकित्सकमाथि रक्सीले मातेर होस गुमाउँदै चिकित्सकको आवासमै गएर तथानाम अपशब्द बोल्नुको साथै हातपात गरेका छन् ।


शक्तिको उन्मादमा सधै प्रतिष्ठानमा आतंक
प्रतिष्ठानमा हाल मौज्दात आवास जनशक्तिको संख्याभन्दा निकै कम भइसकेको छ । आवास दिने र लिने प्रक्रियामा सदैव रायमाझीले सामान्य प्रशासन शाखा र पदाधिकारीहरुसँगको मिलेमतोमा चलखेल गर्नेै गरेका छन् ।
करिब दुई बर्ष अगाडि रायमाझीले प्रतिष्ठानकै डेन्टल कलेजका एक चिकित्सलाई आवास मिलाइदिने शर्तमा यौन प्रस्ताव गर्दा प्रतिष्ठनभरि हंगामा भएको थियो । निजलाई त्यसबेला प्रतिष्ठानले स्पष्टीकरण सोधे पनि तत्कालीन अख्तियार प्रमुख लोकमान सिह कार्कीको जोडबलले कार्वाही रोकिएको थियो । पीडित महिला चिकित्सकले फेसबुक र म्यासेन्जरमा रायमाझीले पठाएका यौन प्रस्ताव तथा विभिन्न अस्लिल म्यासेजको प्रिन्ट कागजातसहित उपकुलपति र रजिष्ट्रार (तत्कालीन प्रा.डा. बलभद्र प्रसाद दाश र रजिष्ट्रार तुलबहादुर श्रेष्ठ) लाई लिखित उजुरी दिएकी थिइन् ।
जनकपुर घर भई प्रतिष्ठानको डेन्टल कलेजमा करारमा कार्यरत पीडित चिकित्सकलाई रायमाझीले क्वाटरमा लगी आफूसँग सम्पर्क गर्न तथा स्थायी गराउन समेत आफू सहयोग गर्ने भन्दै प्रलोभन देखाउदै यौन हिंसाको वातावरण बनाएका थिए ।
रायमाझीले महिला चिकित्सकलाई यदि यो विषयमा कसैलाई उजुरी गरे करार भंग गर्न सक्ने पावर आफूमा रहको भन्दै ब्लाकमेलिङ्ग समेत गर्ने गरेको उजुरीमा उल्लेख छ । रायमाझीलाई बँचाउन प्रतिष्ठानका तत्कालीन रजिष्ट्रार तुलबहादुर श्रेष्ठ नै लागिपरेका थिए र उनलाई कुनै कार्वाही भएन ।

लेखा शाखामा रहन सधै शक्ति केन्द्र धाउने
प्रतिष्ठानको लेखा शाखमार्फत हुने हरेक भुक्तानीमा खुलेआम एक प्रतिशत कमिशन लिने रायमाझी विभिन्न शक्ति केन्द्रको दबाब दिएर सधै सोही शाखामा बस्न सफल भएका छन् र करोडौ सम्पत्तिमा खेल्छन् ।
तत्कालीन उपकुलपति बीपी दाशको कार्यकालमा उनी लोकमानसिंह कार्कीसँगको ससुुराली नाता जुराएर पदाधिकारीलाई प्रभावमा पारे, डा. ज्ञानेन्द्र गिरी उपकुलपति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, प्रदेश न. १ का मन्त्री हिक्मत कार्की, र तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई प्रभावमा पारेर उपकुलपति डा. गिरीको दाहिना हात बन्न सफल भएको प्रतिष्ठानको लेखा शाखाकै एक कर्मचारीले बताए । प्रतिष्ठानका अधिकृत सागर ताम्राकार, कमल रायमाझी, इलेक्ट्रोनिक्स इन्जिनियर राहुल मिश्र र उपकुलपतिका भाइ अजय गिरी मिलेर प्रतिष्ठानको सबै खरिद योजना बन्ने गरेको छ, अर्का एक कास सदस्यले बताए ।
हिजो आइतबार प्रतिष्ठानमा के भयो ?


प्रतिष्ठानको आवास समितिलाई वाइपास गरेर रजिष्ट्रार डा. मोहनचन्द्र रेग्मीको एकल निर्देशन र उपकुलपतिसँगको सल्लाहमा बेलुका साढे आठ बजेतिर कमल रायमाझी मादक पदार्थ सेवन गरी आफनो कोठामै प्रवेश गरी तथानाम गाली गर्दै हातपात गरे ।
डाक्टर भनेको प्रतिष्ठानको सबैभन्दा ठूलो चोर हुन्, तैले मलाई नटेर्ने ? तँलाई यहाँबाट तुरुन्त निकालीदिन्छु भन्दै प्रतिष्ठानमा कार्यरत डा. विप्लव कार्कीलाई धम्की दिएर हातपासम्म गर्न भ्याए । कमल रायमाझी लेखा शाखाका कर्मचारी हुन् । उहाँले केही दिनयता पटक पटक क्वाटर खाली गर भनेर टर्चर गरिरहनु भएको थियो । वार्डेन म्यामले पनि उसलाई परीक्षा आइरहेको बेला टर्चर नगर भनेर सम्झाउनु भएको रहेछ । तर उहाँले प्रशासनको, भिसीको मान्छे हुँ भनेर थर्काउनु भयो डा. कार्कीले भने । डा. कार्कीले आइबारै राति इलाका प्रहरी कार्यालय धरानमा कमल रायमाझीको दुव्र्यवहारका विरुद्धमा आवश्यक कार्वाहीका लागि उजुरी गर्नु भएको छ । उहाँले आफ्नो उजुरीमा भन्नुभएको छ कमल रायमाझी भन्ने व्यक्ति मादक पदार्थ सेवन गरी रातको ८ः३० बजे कोठाभित्र प्रवेश गरी तथानाम गाली गरी मानसिक तनाव दिएको तथा भौतिक आक्रमणसम्म गर्न खोजेकोले कानून बमोजिम कार्वाही गर्न अनुरोध गर्दछु । मलाई गाली गर्दा विभिन्न अपशब्द समेत प्रयोग गरिएको उहाँले आफ्नो उजुरीमा बताउनु भएको छ । यसैबीच लेखा अधिकृतको हर्कतका विरुद्धमा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटी बीपी केआइएचस धरान लगायतले भत्र्सना गर्दैै दोषी रायमाझीलाई कार्वाहीको माग गरेका छन् ।

तपाईको प्रतिक्रिया