हङकङबाट सयथान अक्सिजन कन्सन्ट्रेटर आइपुग्यो बांकी सयथान एयर कार्गोका लागि पर्खिदै

नेपालका विकट गाउका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर हङकङ नेपाली महासंघले कोरोना संक्रमित गम्भिर विरामीहरुका लागि सय थान अक्सिजन कन्सन्ट्रेटर पठाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई वितरण गर्ने उदेश्यले महासंघले पहिलो चरणमा सयथान अक्सिजन कन्सन्ट्रेटर पठाएको जनाएको छ ।


महासंघका निवर्तमान अध्यक्ष समेत रहेकी संयोजक रिता गुरुङकाअनुसार नेपालका कोरोना संक्रमणको दर र मृत्यु दरमा सोचेजति कमि नआएकाले महासंघले हङकङस्थित नेपाली महाबाणिज्यदुतको कार्यालय, हङकङ सरकार, चिनिया दुताबास र त्यहीको गैरसरकारी संस्था सोअर्स एक्सन वीच समन्वय गरेर नेपालमा सयथान अक्सिजन कन्सन्ट्रेटर पठाएको हो ।
उनले भनिन्, ‘महासंघलाई २ सय थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएकोमा सवै एकै पटक नेपाल पठाउने प्रयास गरेका थियौं तर एयर कार्गो समस्याले पहिलो चरणमा सयथानमात्र पठाउन सकिएको छ । नेपालमा छिटो भन्दा छिटो ती सामान पठाउने प्रयास जारी छ । बांकी सयथान दुइतिन भित्रमा पठाउने छौं । नेपालबाट आउने जहाजको पर्खाइमा छौं ।’ हङकङको सरकारी स्तरबाट गठित याउ चिम मोङ डिस्ट्रीक फाइट क्राइम कमिटिका उपाध्यक्ष समेत रहेकी गुरुङकाअनुसार नेपाल पठाइएका ती मेडिकल उपकरण वितरणको व्यबस्था हाल कर्णाली प्रदेशका सात जिल्लामा स्थानीय गैर सरकारी संस्थाहरुको समन्वयमा भइरहेको छ ।
चिनको कुनमिन शहरबाट प्रति कन्सन्ट्रेटर १ हजार १ सय ५० अमेरिकी डलरमा दुइसय थान खरिद गरिएको र एउटैको तौल करिव ३० केजि हुने भएकाले सवै एकसाथ एयर कार्गो गर्न नसकिएको पनि गुरुङले बताइन् ।
अक्सिजन कन्सन्ट्रेटर उपलव्ध गराउने हङकङको गैर सरकारी संस्था सोअर एक्सनलाई धन्यवाद दिदै उनले अर्को चरणमा १ लाख एन्टिजेन टेस्टिङ किट पठाउने तयारी पनि भइरहेको बताइन् । महासंघका पुर्व अध्यक्ष प्रदीप थापाले सकेसम्म ७७ वटै जिल्लाका दुर्गम क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक मध्ये कम्तीमा एक थान अक्सिजन कन्सन्ट्रेटर पु¥याउने लक्ष राखेको बताए । उनले भने, ‘कोरोना संक्रमणबाट गम्भीर भएका विरामीलाई त काम लाग्ने नै छ, कोरोना पछि अरु विरामीका लागि पनि काम लाग्ने छ ।’
कोरोना महामारीले उत्पन्न गराएको विषम परिस्थितीमा ‘हेल्प नेपाल फाइट कोभिड १९’ नाराकासाथ महासंघले १० लिटर प्रति मिनेट अक्सिजन आपूर्ति गर्ने अक्सिजन कन्सन्ट्रेटर वितरण चाडो गर्न प्रत्येक प्रदेशका लागि एउटा ढुवानी ट्रकको व्यवस्था समेत महासंघ आफैले गरेको अध्यक्ष टंक रानाले बताए ।

फोटो
हङकङ नेपाली महासंघको पहलमा नेपाल पठाइएको सयथान अक्सिजन कन्सन्ट्रेटर । तस्वीर सौजन्यः रिता गुरुङ

तपाईको प्रतिक्रिया