बीपी प्रतिष्ठानलाई निकास दिन राजीनामा दिन तयार छु : शिक्षाध्यक्ष प्रा.डा. खनाल डा. गोेविन्द केसीद्वारा प्रतिष्ठानका चारै पदाधिकारीको बर्खास्तको माग

धरान÷चिकित्सा शिक्षा अभियन्ता प्रा.डा. गोविन्द केसीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष ४ पदाधिकारीहरुलाई बर्खास्त गर्न माग गरेका छन् ।
आज शुक्रबार अभियन्ता प्रा.डा. केसीले एक विज्ञप्ती प्रकाशित गरी पदाधिकारीहरुको शैलीकै कारण पूर्वी नेपालको स्वास्थ्य सेवा तथा देशकै मेडिकल शिक्षाको धरोहरका रुपमा स्थापना भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले धरासायी हुने अवस्थामा पुगेको बताउनुभएको छ ।
विज्ञप्तीमा प्रा.डा. केसीले भ्रष्ट र दलीय आधारमा प्रतिष्ठानका पदाधिकारी नियुक्ति गरिएकोले पनि यस्तो अवस्था आएको बताउनुभएको छ । विज्ञप्तीमा भनिएको छ दलीय वफादारिताका आधारमा पदमा पुग्ने नालायक र भ्रष्ट पदाधिकारीहरु रहेकोमा कसैको विमति छैन । त्यसमाथि पनि धरानस्थित प्रतिष्ठानको नजिकै खुलेको निजी मेडिकल कलेज र अस्पतालहरुका स्वार्थका लागि प्रतिष्ठान डुबाउन स्यवय् प्रधानमन्त्री र उनका स्वास्थ्यमन्त्रीहरु लागेको कुरा बारम्बार मिडियामा सार्वजनिक भइरहेको छ । उनीहरुले तत्काल पद खाली गर्नुपर्ने र पदाधिकारी मापदण्ड निर्धारण समितिले सुझाव दिए अुनसार बरिष्ठता, इमान्दारीता र योग्यताका वस्तुगत आधारमा नयाँ पदाधिकारी नियुक्ति गर्नुपर्ने डा. केसीको माग छ ।
प्रतिष्ठानलाई निकास दिन राजीनामा गर्न तयार छु

प्रतिष्ठानमा जारी अन्यौलता चिर्न आफू पदबाट राजीनामा दिन तयार रहेको बताएर प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालले निकासको पहल शुरु गर्ने संकेत दिनुभएको छ । आज विहान प्रतिष्ठानका अधिकृत स्तरका कर्मचारीहरुसँग भएको पदाधिकारीहरुसँगको बैठकमा प्रा.डा. खनालले हिजो म उपकलपति हुन लाग्दा डा. गिरीलाई उपकुलपति बनाउन ज्यान छोडेर हिड्ने रजिष्ट्रार नै हुन । आफू उपकुलपति नियुक्ति भएपछि डा. रेग्मी (मोहनचन्द्र रेग्मी) लाई रजिष्ट्रार बनाउने पनि तिनै गिरी हुन् । दुवैमा अटुट सम्बन्ध देखिन्थ्यो । अहिले खै के भएको हो मारामार छ । यसरी प्रतिष्ठान अगाडि बढ्न सक्दैन । म निकासको निम्ति राजीनामा दिन तयार छु, शिक्षाध्यक्ष निकट स्रोतले जनायो । स्रोतका अनुसार यस्ता भ्रष्ट र अनैतिक रजिष्ट्रार र उपकुलपतिसँग काम गरेर जीवनभरि कलंक बोक्नु भन्दा हाललाई पदबाट राजीनामा दिएर आफ्नो छविको शाख जोगाउनु नै उपयुक्त हुने सोचमा शिक्षाध्यक्ष र अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह पुग्नु भएको छ ।
उपकुलपति र रजिष्ट्रारले राजीनामा नदिने

तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई जनही सात सात करोडको दरले १४ करोडको डिल गरेर नियुक्ति लिएका उपकुलपति डा. गिरी र रजिष्ट्रार डा. रेग्मी आफनो लगानी डुब्ने र इज्जत पनि नरहने डरले कुनै हालतमा राजीनामा नदिने मनस्थितिमा देखिएका छन् ।
प्रदेश नं. १ का एक रक्सी व्यापारीको योजनामा उपकुलपति डा. गिरीलाई निकालेर आफू उपकुलपति हुन अनेक हर्कत गर्देै आएका रजिष्ट्रार रेग्मी अहिले आफ्नो सबै कर्तुत बाहिरिएको र आफनो पनि राजीनामाको माग आएको देखेर हिजो विहान उपकुलपति निवास गई उपकुलपति गिरीसँग माफी माग्दै आन्दोलनकारीहरुलाई आफूले मिलाउने र अबदेखि सदैव डा. गिरीको आदेश मान्ने कसम खाएको स्रोतले जनाएको छ । यसै अनुरुप उपकुलपति डा.गिरीले हिजो प्रष्ठिानमा भएको विभागीय प्रमुखहरुको बैठकमा रजिष्ट्रार र आफू एक भएको बताएका थिए । यी भ्रष्टहरु एक हुनु भनेको प्रतिष्ठनलाई अझै खतरा बढ्यो, अब त झन मिलेर खाने भए आन्दोलनमा सहभागी एक प्राध्यापकले बताए । छेपारोले झै राजनैतिक रंग फेर्न माहिर रजिष्ट्रार कहिले धरानका स्थानीय काँग्रेसका नेता, कहिले जिल्लाका नेतालाई काँग्रेस हुँ भन्छन् । कहिले जनता समाजवादी पार्टीको सदस्यता लिन्छन् त कहिले नेकपा एमालेको अग्रपंक्तिका कार्यकर्ता बन्छन् प्रतिष्ठानमा हाल भएका हरेक भ्रष्टाचार, अनियमितताका जड मानिएका रजिष्ट्रार रेग्मीले कमिशन नमिल्दा सबै भन्दा कम दररेटमा टेन्डर हालेको अ‍ैषधि खरिदको टेन्डर तीन पटक क्यान्सिल गरिसकेका छन् ।
सम्पूर्ण पदाधिकारीलाई राजीनामा दिन आग्रह

यसैबीच आन्दोलनको नेतृत्व गरिरहनु भएका प्रतिष्ठानका शिक्षक कल्याण समाजका अध्यक्ष डा. विष्णु पोख्रेलले सामाजिक सञ्जालमार्फत सम्पूर्ण पदाधिकारीहरुलाई पदबाट राजीनामा दिन आग्रह गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ हाम्रो आन्दोलनको १८ औ दिन पुगिसक्दा पनि असार १५ को घट्नापछि हाम्रा केही फ्याकल्टी तथा कर्मचारी साथीहरुलाई अझै पनि आफ्नो प्राज्ञिकतामा अनि आफ्नो क्षमतामा विश्वास नभएको हामीलाई महसुस भएको छ ।
स्वास्थ्य, शिक्षा, सेवा र अनुसन्धानको अग्रणी संस्था अनि सम्पूर्ण पुर्वको आस्थाको धरोहरलाई नेतृत्वकर्तामा देखिएको चरम प्राज्ञिक अनि नैतिक स्खलनले मृत अवस्थामा पु¥याएर समग्र प्रतिष्ठानको इज्जत धुजाधुजा गर्ने यति नांगो प्रस्तुति हुँदा पनि उनीहरुकै पक्षपोषण गर्ने प्रवृत्ति एवम् दाशत्वले भरिपूर्ण मानसिकता नै प्रतिष्ठानको अद्योगतिको कारण हो भन्ने अब सोचिरहनु पर्दैन । यो धर्म युद्ध हो । यहाँ मेरो गुरु, मेरो विभागीय प्रमुख, मेरो शाखा प्रमुख, मेरो आफन्त भन्ने कोही छैनन् । छ त मात्र सही र गलत । नैतिकता, आचरणको वकालत गर्ने र नैतिक पतन हुने कार्य गर्ने र त्यसको पक्षपोषण गरी आफनो दुनो सोझ्याउने लाचारहरुले अब कित्ताकाट गर्ने बेला भएको छ ।
कि त अब यो अभियानको पक्षमा उभिनुहोस् कि त विपक्षमा, बीचको बाटो छैन । हामी एक पटक चुकिसक्यौ । जब एक व्यक्तिले आफ्नो हुँदै नभएको पद लेखेर प्राज्ञिक मर्यादाको खिल्ली उडाउँदा हाम्रा अन्य पदाधिकारीहरु, हाम्रा सिनेटरहरु, हाम्रा कास सदस्यहरु, विभागीय प्रमुखहरु अनि हाम्रा आदर्शवान प्राधयापकहरु मौन बस्नुभयो । त्वम शरणम भन्दै नाँगो महाराजलाई तपाईले लगाएको वस्त्र अनमोल छ भन्दै उहाँको स्तुतिगानमा लाग्नुभयो । यदि त्यही दिन रोकेको भए आज यो दिन देख्नुपर्ने थिएन ।
असार १५ गते हामीलाई वार्तामा बोलोर एउटा महाराजको शैलीमा मदिराले लठ्ठिएर आफ्नो शब्द र चाललाइ पनि सम्हाल्न नसक्ने अवस्थामा त्यस प्राज्ञिक भेलामा उपस्थिति हुने आँट गरिसक्दा पनि हामीलाई अझै पनि हाम्रो आदर्शको, हाम्रो प्राज्ञिकताको, हाम्रो नैतिकताको रक्षा भइरहेको छ जस्तो लाग्छ भने आजै एक चम्चा पानीमा डुबेर मरे हुन्छ । धिक्कर छ तिनीहरुलाई आउदा दिनमा इँतिहासले मुल्यांकन गर्ने छ, को कताको कित्तामा थियो भनेर । त्यसैले अब लडाइमा आफ्नो सम्पूर्ण स्वार्थ र आग्रहलाई छोडेर प्राज्ञिक सर्वोच्चताको लागि, अनि प्रतिष्ठानको उत्थानका लागि आफ्नो सक्रिय सहभागिता जनाउन अनुरोध छ । हामीले सामुहिक राजीनामा दिनुभन्दा अगाडि यो असक्षम नेतृत्वमा हामीले काम गर्न सक्दैनौ भनेर सन्देश दिन सम्पूर्ण विभागीय प्रमुख, शाखा प्रमुख, डिन, सहायक डिन, अस्पताल उपनिर्देशक, सहनिर्देशक लगायत सम्पूर्ण अतिरिक्त पदबाट राजीनामा दिऔं ।

तपाईको प्रतिक्रिया