सिंगो प्रजातान्त्रिक, शैक्षिक आन्दोलन र समाजसेवाका अथक योद्धा–चन्द्र सर

धरान÷उमेर जीन्दगीको अंक हो । बार्षिक तिथिमिति सहित तयार पारिएको भित्तामा राखिएको एउटा क्यालेन्डर परिवर्तन गर्दा मान्छेले एक अंक पाउँछ ।
सिंगो प्रजाान्त्रिक,शैक्षिक आन्दोलन र समाजसेवाका अथक योद्धा चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) को जीवनमा ८६ पटक क्यालेन्डर परिवर्तन भएको छ । अर्थात उहाँले जीवनको ८६ औं अंकमा समेत शारीरिक स्फूर्तता, ठमठम हिडाई, चम्किला नझरेका दाँत देख्दा चन्द्र सरले दीर्घायूको बरदान नै पाउनु भएको अनुभूति हुन्छ ।
आजीवन प्रजाान्त्रिक आन्दोलन, शैक्षिक आन्दोलन र समाज सेवाका अथक योद्धा चन्द्र सरले आफ्ना केही अग्रज र समकालीनहरुको साथ सहयोगमा वि.सं. २००५ सालमा हालको धरान उपमहानगरपालिका वडा नंं २ सिंहदेवी मार्गमा सार्वजनिक पुस्तकालयको स्थापना गर्नुभयो । मुलुककै जेष्ठ पुस्तकालयमध्येको एक उक्त पुस्तकालय सञ्चालन गर्न सञ्चालक समितिको प्रजाान्त्रिक पद्धति अनुसार निर्वाचन गराउने कामको थालनी गर्नुभयो । वि.सं. २०१४ सालको सञ्चालक समितिको निर्वाचनमा उहाँ सचिवमा निर्वाचित हुनुभयो । उहाँको प्रतिष्पर्धीका रुपमा उहाँकै दाजु कृष्णप्रसाद श्रेष्ठ (वि.ए.) रहनु भएको थियो । उक्त कार्यसमितिले २०१८ सालसम्म पुस्तकालय सञ्चालन गरेको थियो भने वि.स. २०१९ सालको प्रारम्भसँगै पुस्तकालय धरान उपमहानगरपालिका
(तत्कालीन धरान नगर पञ्चायत) लाई सञ्चालन हेतु हस्तान्तरण गरेको थियो ।
पार्टीका लागि चन्द्र सरबाट भएका महत्वपूर्ण कार्य

वि.सं. २०१४ सालसम्म धरानमा नेपाली काँग्रेसको संगठन नै थिएन । तर वामपन्थीहरुको एकलौटी वर्चस्वजस्तै थियो । वामपन्थीहरु संगठित थिए । धरानमा अरुलाई संगठन बनाउन सहज पनि थिएन ।
तर चन्द्रप्रसा श्रेष्ठ (चन्द्र सर) ले पहिलो पटक नेपाली काँग्रेससँग आस्थावानहरुलाई एकत्रित गर्नुभयो । नेपाली काँग्रेसको मूल्य मान्यता र मार्गदर्शनका बारेमा युवाहरुलाई जागरुक बनाउने काम गर्नुभयो । पार्टीको सदस्यता वितरण गर्दै संगठन विस्तार गर्नुभयो । उहाँको सक्रियताले धरानमा २०१५ सालमा कम्युनिष्टहरुको गढ तोडिएको थियो । तत्कालीन अवस्थामा क्षेत्र नं. ३२
रहेको धरानदेखि विराटनगरसम्मको निर्वाचनमा नेपाली काँग्रेसका डिठा ज्ञानचन्द चौधरीले प्रतिनिधिसभामा विजयी हासिल गर्नुभएको थियो । वि.सं. २०१५ सालको संसदीय निर्वाचन पश्चात धरानमा सदैव वामपन्थीहरुले एकलौटी वर्चस्व कायम गर्दे आएका छन् । वामपन्थीहरुको एकलौटी वर्चस्वलाई लिएर चन्द्र सर भन्नुहुन्छ पार्टीका कार्यकर्तामा इमान्दारिता भएन । स्थानीय नेतृत्वदेखि कार्यकर्ता इमान्दर भएमा वामपन्थीहरुको गढ नै रहँदैन ।
शिक्षा क्षेत्रमा प्रवेश

वि.सं.२०२४ सालमा तत्कालीन शारदा बालिका विद्यालयमा स्थानीय र विद्यालय सञ्चालक समितिको आग्रहमा केही दिनका लागि उहाँ शिक्षण पेशामा सहभागी बन्नुभयो ।
केही समय पश्चात उहाँ विद्यालयबाट बाहिरिन चाहनु भयो । तर उहाँकाको शिक्षण कला, विषयगत शिक्षामा देखिएको पारंगतता, अनुशासन लगायतका कुराले उहाँलाई विद्यालयले विदा दिन चाहेन । विद्यार्थी र विद्यालय सञ्चालकको अनुरोधमा उहाँले सोही विद्यालयमा वि.सं. २०५५ सालसम्म अध्यापन गराउनुभयो । आफ्ना विद्यार्थीहरु माझ अत्यन्तै लोकप्रिय चन्द्र सरलाई पूर्व विद्यार्थीहरुले आज पर्यन्त घरमा गएर सम्मान गर्ने गरेका छन् । आफूले कमाएको सम्पत्ति यही हो भन्ने चन्द्र सर विद्यार्थीहरुबाट सम्मानित हुँदा अत्यन्तै भावुक बन्नुहुन्छ ।
उहाँले वि.सं. २०२४ सालदेखि २०५५ सालसम्म शिक्षण पेशामात्रलाई निरन्तरता दिनुभएन । त्यसबेलाको शिक्षा सुधार शिक्षकहरुको मर्यादा र सेवाको माग राखी आन्दोलनको घोषणा पनि गर्नुभयो । शिक्षकहरुको सेवा सुविधा बृद्धिको माग राखी उहाँले गरेको आन्दोलनको परिणाम आज शिक्षकहरुले सेवा निवृत्तिको सुविधा प्राप्त गरेका हुन् । वि.स. २०३६ सालको शिक्षक आन्दोलन घोषणा गर्नु अगाडि चन्द्रप्रसाद श्रेष्ठले मुलुकभरिका शिक्षकहरुलाई गोल बनाउने काम गर्नुभएको थियो । चन्द्रसरकै भनाईमा उहाँले २०३३ सालदेखि नै यो अभियान चलाउनु भएको थियो ।
उहाँले अभियान चलाउँदा प्रशासनले बारम्बार धम्की दिने, त्रास देखाउने कार्य ग¥यो । तर उहाँले त्यसको कुनै वास्ता गर्नुभएन । देशभरिका शिक्षकहरुले २०३६ सालमा शिक्षहरुको पेशागत सुरक्षा र सुविधाको माग राखी हेटौडाबाट आन्दोलन शुरु गरे । २०३६ सालको शिक्षक आन्दोलनमा प्रजातन्त्रवादी र वामपन्थी शिक्षकहरुले सहभागिता जनाएका थिए । हेटौडाबाट शुरु भएको आन्दोलनले देशव्यापी रुप लियो । त्यसबेला विद्यार्थीहरु पनि आन्दोलित भएकोले शिक्षक आन्दोलनले अझ ऊर्जा प्राप्त ग¥यो । विद्यार्थीहरु आन्दोलित हुनुको प्रमुख कारण पाकिस्तानमा प्रजातन्त्रवादी नेता जुल्फीकर अली भुट्टोलाई फाँसी दिनु थियो । विद्यार्थीहरुले काठमाण्डौस्थित पाकिस्तानी राजदूतावास घेराउ गर्दा प्रहरीले निर्मतापूर्वक लाठी चार्ज, अश्रु ग्याँस र गोली प्रहार गरेको थियो । त्यसबेला कैयौ विद्यार्थीको मृत्यु भएको थियो भने कैयौ घाइते भए । यो घट्ना पश्चात मुलुकभरि विद्यार्थी आन्दोलन र शिक्षक आन्दोलन चर्कियो । राज्य शिक्षक र विद्यार्थी धरपकडमा उत्रियो र अन्तत ः २०३६ सालमा जनमत संग्रहको घोषणा भयो ।
जनमत संगं्रहको घोषणा अगाडि शिक्षकहरुले झापाको भद्रपुर, मोरङ्गको विराटनगर, धनुषाको जनकपुर, पाल्पा, काठमाण्डौमा भएका राष्ट्रिय शिक्षक संगठनको भेलामा चन्द्रप्रसाद श्रेष्ठले शिक्षक हक, हितका लागि बुलन्द आवाज उठाउनु भएको थियो । त्यसबेला शिक्षकहरुको एउटै संगठन थियो । त्यसैमा देशभरिका शिक्षकहरु आवद्ध थिए । जसको नेतृत्व त्यसबेला बद्रीप्रसाद खतिवडाले गर्नुभएको
थियो । पछि शिक्षकहरुको माग पूरा गर्न राज्य बाध्य भयो । पेन्सन, उपदान, सञ्चयकोष, स्वास्थ्य वीमा, शिक्षण पेशाको ग्यारेन्टी त्यही शिक्षक आन्दोलनबाटै आजका शिक्षकहरुले प्राप्त गर्न सफल भएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको संस्थापक

शिक्षण पेशामा सहभागी रहेको अवस्थामा समेत चन्द्रप्रसाद श्रेष्ठ सामाजिक गतिविधिमा सक्रिय रहनु भएको थियो । वि.सं. २०२९ सालमा नेपाल रेडक्रस सोसाइटी सुनसरीको गठन हुँदा उहाँ संस्थापक सदस्य भएर सामाजिक गतिविधिमा सहभागी हुनुभयो ।
त्यसबेला नेपाल रेडक्रस सोसाइटीको धरानमा आफ्नो भवन थिएन । राजनैतिक पहुँच र शक्तिका आडमा सुनसरीका पूर्व गृहमन्त्री दिलबहादुर श्रेष्ठले नेपाल रेडक्रस सोसाइटीलाई इनरुवा लैजाने योजना बनाएका थिए । त्यसका लागि भवन समेत तयार पारेका थिए । धरानका केही व्यक्तिहरु समेत नेपाल रेडक्रस सोसाइटीलाई इनरुवा लैजान सहमत भएका थिए । तर चन्द्र प्रसाद श्रेष्ठ लगायत अन्य केही व्यक्तिहरुले इनरुवा लैजान नदिने अडान लिनुभयो । यसका लागि उहाँहरुले
रातारात रेडक्रस भवनको निर्माण गर्नुभयो । कार्यालय व्यवस्थित गरेपछि उहाँकै सक्रियता र प्रयासले एम्बुलेन्स समेत सञ्चालनमा आयो । धरानमा त्यो नै पहिलो एम्बुलेन्स सेवा थियो ।
सामाजिक एवम् परोपकार कार्यमा संलग्न
शिक्षण सेवाबाट २०५५ सालमा सेवा निवृत्त भएपछि चन्द्र सरले कहिल्यै थकाई मार्नुभएन । उहाँको सक्रियता झन बढ्यो । ८६ बर्षको उमेरमा पनि उहाँको सक्रियता देख्नेहरु आश्चर्य मान्दछन् ।
उहाँले धरान १२ स्थित पब्लिक हाइस्कुलको भवन निर्माण गर्न पं. नारायणप्रसाद पोख्रेलद्वारा वाचित श्रीमद् भागवत महापुराणमा तुलादान गर्नुभएको थियो । धरान वडा नं. ३ स्थित सरस्वती बाल अनाथाश्रममा रहेका वेशहारा आश्रित बाल बालिकाहरुको शीप र बृत्ति विकासका लागि १ लाख २५ हजारको अक्षय कोष स्थापना गरिदिनुभयो । जुन
रकमको व्याजबाट बालबालिकाका लागि प्राविधिक लगायत अन्य तालिमहरु सञ्चालन हुँदै आएको छ ।
यसैगरी आफू संस्थापक सदस्य भएर स्थापना भएको नेपाल रेडक्रस सोसाइटी सुनसरीको दैनिक आपत्तकालीन कोषका लागि १ लाख प्रदान गर्नुभएको छ । धरान ७ स्थित रहेको सिद्धिनेवा परिषदमा सम्मान एवम् पुरस्कारका लागि ५ लाख रुपैयाको अक्षय कोष स्थापना गरिदिनु भएको छ । यतिमात्र होइन आफूले ३१ बर्षसम्म अध्यापन
गरेको शारदा बालिका विद्यालयमा आफ्ना माता पिताको स्मृतिमा छात्रवृत्ति कोष स्थापना गरिदिनुभएको छ । आफ्ना परिवार सम्मिलित दाजुभाइको तर्फबाट छात्रवृत्ति कोषको स्थापना, वाचन शिरोमणि पण्डित नारायणप्रसाद पोख्रेल स्मृति प्रतिष्ठानद्वारा काठमाण्डौमा निर्माण भइरहेको चारधामलाई अर्थिक सहयोग प्रदान गर्नुभएको छ ।
दर्जनौ संघ संस्थाहरुबाट सम्मानित
चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) ले नेपालको प्रजातान्त्रिक आन्दोलन, शैक्षिक आन्दोलन, विभिन्न धार्मिक एवम् सामाजिक संघ संस्थाहरुलाइ आज पर्यन्त पु¥याउदै आउनु भएको सहयोग, सक्रियताको उच्च कदर गर्दै उहाँलाई दजनौ सामाजिक संघ संस्थाहरुले कदर एवम् सम्मान गरेका छन् ।
पछिल्लो पटक उहाँको नाममा पुरस्कार राशीको घोषणा समेत भएको छ । धरानका शैक्षिक क्षेत्रमा मात्र नभएर अन्य क्षेत्रमा संलग्न व्यक्तिहरुका लागि आदरणीय र सम्मानित व्यक्तित्व चन्द्रप्रसाद श्रेष्ठको नाममा चन्द्र प्रसाद श्रेष्ठ शिक्षा पुरस्कारको घोषणा भएको हो । धरान उपमहानगरपालिका प्रमुख तिलक राईले आफूले पाउने पारिश्रमिक एवम् भत्ताबाट १ लाख र स्वयम् चन्द्रप्रसाद श्रेष्ठबाट त्यसमा १ लाख ५० हजार रुपैया थप गरी दुई लाख ५० हजारको राशीको शिक्षा पुरस्कार घोषणा भएको हो । शिक्षा क्षेत्रमा विशिष्ट योगदान पु¥याउने, सेवा निवृत्त वा सेवारत शिक्षकहरुलाई उक्त रकमको व्याजबाट हरेक बर्ष पुरस्कृत गरिने भएको छ ।

तपाईको प्रतिक्रिया