धरान÷ अमेरिकाको सिएननले विश्वमा रहेको १२ औं गन्तव्य स्थलमध्ये धनकुटाको सागुरीगढी गाउपालिका वडा नं. ६ भेडेटार, नाम्जे लगायतका क्षेत्रलाई आठौ गन्तव्य स्थलको रुपमा लिएपछि आन्तरिक तथ वाह्य पर्यटकको घुइचो नै लाग्ने गर्दथ्यो ।
गन्तव्य स्थलको परिचय दिलाउन नाम्जेमा मगरहरुले आफ्नो सास्कृतिक पहिचान झल्काउने प्रकृतिको ग्रामीण होमस्टे सञ्चालनमा आएपछि भेडेटारको सुन्दरता सुनमा सुगन्ध थपिएझै थियो । यहा आउने आन्तरिक तथा वाह्य पर्यटकहरु एक रात नाम्जेमा भएको होमस्टेको मजा नलिई कोही पनि फर्किदैन थिए । तर अहिले कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गरी लामो समयदेखि नेपाल सरकारले लगाएको लकडाउनका कारण होमस्टे प्रभावित भएका छन् भने होमस्टे सञ्चालक आफ्नो गुजारा चलाउन कृषि पेशातर्फ फर्केका छन् ।
मगरहरु जातिहरुको सांस्कृतिक पहिचान झल्काउने लोकसंस्कृतिसंगै परम्परागत खानपिनलाई प्राथमिकतामा राखेर नाम्जेमा खोलिएका २२ वटा होमस्टेका सञ्चालक लगातकारको लकडाउनले आफ्नो व्यवसाय सञ्चालन हुन छाडेपछि गुजारा चलाउन कृषि पेशामा लाग्न बाध्य छन् ।
कुनै बेला नेपालका राष्ट्रिय, स्थानीय तथा प्रदेश स्तरका नेतामात्र हैन पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई समेत एक रात बसेर यहाको सांस्कृतिक नाचगान, खानपिनको स्वाद लिनुभएको थियो । मगरहरुको सांस्कृतिक नाच हुर्रासंगै आफ्नै बारीमा उत्पादन गरेको तरकारीको स्वाद लिन पाउने यहाका होमस्टेका सञ्चालकहरु लकडाउनले जनजीवन नै अस्तव्यस्त बनाएको नाम्जे थु्रम्की होम स्टे व्यवस्थापन समितिका अध्यक्ष अनिलकुमार राना मगरले बताउनुभयो ।
विगतमा यहाका होमस्टेहरुमा दैनिक ५ देखि ६ लाख रुपैयासम्म कारोबार हुने गर्दथ्यो । अहिले गर्मी महिनाको समय त्यसमा पनि नया बर्षमा सबैभन्दा बढी पर्यटक आउने सिजनको बेला लकडाउन भएकोले झन धेरै पीडा खेप्नुपरेको उहाको भनाई छ । अहिले लकडाउनको समयमा पशुपालन तथा बारीमा सिजन अनुसारका तरकारी उमारेर विक्री गर्ने बाहेक अर्को विकल्प नभएको नाम्जे सामुदायिक होम स्टे सञ्चालक समेत रहनुभएका मगरको मनाई छ । लकडाउनका कारण अनिलमात्र हैन यहा रहेका २२ वटा होम स्टलको दिनचर्या नै होमस्टेको विकल्प कृषिलाई रोजेका छन् । गर्मी बढेसंगै चिसो लिन आउने पर्यटकको सिजन भएपनि अहिले पर्यटकको आगमन आउन छाडेपछि उनीहरुको दिनचर्या नै बद्लिएको हो ।
होमस्टेमा आउने पाहुनाहरुले रमाइलो गर्ने भएकोले केही होमस्टे सञ्चालकहरु भने दिन काट्न नै गाह्रा भएको बताउछन् । नाम्जेमा होम स्टे सञ्चालन गर्दै आउनु भएका जगतबहादुर राना मगरले अहिले यस्तो अवस्था भएपनि भविष्यमा फेरि पनि होमस्टे सञ्चालन गर्न पाउने अपेक्षा रहेको बताउनुभयो ।
पछिल्लो समय भेडेटार घुम्न आउने पर्यटकहरुपनि भेडेटारमा सञ्चालन भएका ठूला तथा सुविधा सम्पन्न होटलहरु भन्दा पनि नाम्जेमा सञ्चालन भएका होमस्टेमा बस्न बढी रुचाउथे । अहिले लकडाउनले उनीहरुको व्यवसाय ठप्प भएपछि भने आम्दानी मर्नुका साथै दिन कटानी गर्न गाहूो भएको बताउने गर्छन् ।
