आधारविनाको कपोलकल्पित समाचारप्रति समाजसेवी राईको घोर आपत्ति

धरान÷नेपाली कांग्रेस धरान उपमहानगर समितिका पूर्व सभापति, नेपाली काँग्रेस सुनसरीका सदस्य, धरान फुटबल क्लबका अध्यक्ष तथा समाजसेवी किशोर राईले जेष्ठ ४ गते काठमाण्डौबाट अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित सर्दु जलाधार क्षेत्रको १८२ विघा जग्गा सरकारको नाममा फिर्ता शीर्षकको समचारमा आफ्नो नाम सुनियोजित रुपमा मुछ्ने काम भएको भन्दै त्यसको भत्र्सना गर्नुभएको छ ।
समाजसेवी एवम् राजनीतिक कर्मी राईले हिजो विहीबार एक प्रेस विज्ञप्ती प्रकाशित गरी अन्नपूर्ण पोष्ट दैनिकका स्थानीय संवाददाता रत्नप्रसाद आचार्यले लाञ्छनायुक्त समाचार प्रकाशित गरेको भन्दै आपत्ति समेत जनाउनु भएको छ । विज्ञप्तीमा उहाँले भन्नुभएको छ, ‘म धरानमा रहेर लामो समय गरेको राजनीति, सामाजिक, खेलकूद क्षेत्रको लगानी र योगदानलाई पानीमा मिलाउने दुष्प्रयास गरेका छन् ।’
विज्ञप्तीमा भनिएको छ धरानबासीमा मेरो राजनीति, खेलकुद र सामाजिक गतिविधिहरु खुल्ला किताब झै छ । तर तत्कालीन धरान नगर पालिकाको दलीय संयन्त्रले गरेको निर्णयहरुमा अनावश्यक रुपमा म नेपाली काँग्रेसको जिल्ला सदस्य तथा धरान उपमहानगरपालिकाको पूर्व नगर सभापति किशोर राईको नाम जोडेर सर्दु जलाधारको जग्गाको विषयमा कलोपकल्पित र मनगढन्ते समाचार प्रकाशित गरी चरित्र हत्या गर्ने कार्य गरेकोप्रति म घोर आपत्ति जनाउँदछु । हुँदै नभएको विषयमा कसैको उक्साहट र आर्थिक प्रलोभनमा परी राजनीतिक, सामाजिक मानमर्दन हुने गरी चरित्र हत्या गर्ने संवाददाता आचार्यको दुराशय, निकृष्ट कामप्रति मेरो गम्भीर र घोर आपत्ति छ । पत्रकारिताको नाममा विभिन्न व्यक्तिहरुसँग व्यक्तिगत लाभका लागि बार्गेनिङ गर्दै समाजलाई आचार्यले आतंकित बनाउँदै आएको कुरा सुनिदै आएको हो । अहिले आएर त्यसको शिकार म आफै भएको छु ।
विज्ञप्तीमा भनिएको छ विना आधार अरुको चरित्र हत्या गर्दै आर्थिक लाभको लागि जस्तोसुकै निकृष्ट कार्य गर्न समेत पछि नपर्ने भनी आफूले सुनेको आचार्यको यो शैलीको पत्रकारिताले सिँगो पत्रकारिताको नै बद्नाम गरेको छ । धरानको स्वच्छ, पत्रकारितालाई आचार्यको उपस्थितिबाट नै धमिल्याउने काम भएको सिंगो धरानेले महसुस गरेका छन् । धरानको बदनाम गराउँदै धरानको कुनै पनि विकासको बाधक बन्ने काम पत्रकारिता हुनुुहुन्न । तर पत्रकारितालाई धज्जी उडाउँदै गलत शैलीमा कमाउ धन्दामा लागेका यस्ता व्यक्तिको उपस्थितिले सिंगो पत्रकारिता नै बद्नाम र कलंकित हुनेमा कुनै दुईमत छैन । पत्रकारितालाई समाजमा लुट्ने, धम्की दिने लाइसेन्स बनाई पत्रकारिताको लाइसेन्सले अदृश्य रुपमा कमाउन पल्केका यस्ता तत्वदेखि सिंगो धराने जनता सावधान रहन जरुरी छ , विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा राईले भन्नुभएको छ, सर्दु जलाधारको जग्गा आफूले लिएर कसैलाई बिक्री गरेको प्रमाणित गर्न चुनौति दिँदै प्रमाणित भएमा आफू जस्तोसुकैै सजाय भोग्न पनि तयार रहेको उहाँले घोषणा गर्नुभएको र अरुको सम्भवत उक्साहट र आर्थिक प्रलोभनमा परेर चरित्र हत्या गर्ने कार्य बन्द गर्न समेत विज्ञप्तीमा भनिएको छ । जलाधार लगायत कुनै पनि क्षेत्रबाट आफूले सम्पत्ति आर्जन गरेको भए छानविन गर्न सम्बन्धित निकायलाई उहाँले आग्रह समेत गर्नुभएको छ । विज्ञप्तीमा राईले भन्नुभएको छ मैले कुनै पनि सरकारी सुविधा पाउने सार्वजनिक पद अहिलेसम्म धारणा गरेको छैन । तर संवाददाता आचार्यले आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले अकुत सम्पत्ति कमाएको र जलाधारको जग्गा विक्री गरी पैसा कमाएको भन्ने आशयको कुरा समाचारमा उल्लेख गरेकोले सम्पत्ति छानविन गर्न सम्पत्ति सुद्धिकरण निकायलाई उहाँले आग्रह पनि गर्नुभएको छ ।
विज्ञप्तीको अन्त्यमा भनिएको छ पत्रकार आचार्यले सामान्य पत्रकारिता गरेर धरान बजारमा महंगो ठाउँमा लाखौको सुविधा सम्पन्न पक्की घर कसरी निर्माण गर्न सके ? यसको समेत वास्तविक स्रोतको छानविन गर्न म सम्बन्धित निकायसँग माग गर्दछु । पत्रकारिताको माध्यमबाहेक अन्य कुनै आम्दानीको स्रोत नभएका आचार्यको महंगो जीवनशैली र हाइफाइले उनको आम्दानीको स्रोत के हो भन्ने पनि प्रश्न उठ्छ । उनले धरान बजारका मुख्य चौकमा नै तीनवटा घडेरी जोडेका छन् भन्ने समेत सुन्नमा आएको छ । यस्तो अकुत सम्पत्तिको स्रोतको छाविन गर्न साथै हदैसम्मको कार्वाही गर्न समेत राईले माग गरेका छन् । उहाँले पत्रकार, सञ्चारमाध्यमलाई सदैव सम्मान गर्ने भन्दै कुनैपनि नागरिकको सूचनाको हकमा ठोस प्रमाण विना समाचार सम्पे्रेषण नगरिदिनु हुन पनि आग्रह गर्नुभएको छ ।




संवाददाता आचार्यले आफूले गरेको गल्ति स्वीकार नगरी भ्रामक, कपोलकल्पित समाचारको खण्डन आफैले नगरेकोले सम्बन्धित निकायमा ऐन, कानून, नियम अनुसार प्रक्रिया अगाडि बढाउने जानकारी गराउँदै मेरो चरित्र हत्या गर्ने कार्यप्रति आपत्ति जनाउँदै पत्रकार आचार्यले चालेको गलत कदमविरुद्ध साथ दिनुहुने संघ संस्था, नेपाली काँग्रेस पार्टी, भातृ संघ संस्थाहरु, पत्रकार मित्रहरु, बुद्धिजीवि, राजनैतिक कर्मी, सामाजिक अभियन्ता र आम समुदायलाई राईले हार्दिक कृतज्ञता व्यक्त गर्दै धन्यवाद समेत दिनुभएको छ ।
यसैबीच पत्रकार महासंघ सुनसरीले पत्रकार आचार्यमाथि लगाएको आरोपप्रति कानूनी बाटो अवलम्बन गर्न नेपाली काँग्रेसका जिल्ला सदस्य, धरान उपमहानगरपालिकाका पूर्व सभापति तथा धरान फुटबल क्लबका अध्यक्ष राईलाई आग्रह गर्दै विज्ञप्ती प्रकाशित गरेको छ । संघका सुनसरी सचिव धु्रव ढकालले जेठ १२ गते प्रकाशित विज्ञप्तीमा सामाजिक बहिष्कारको कुरा प्रेस स्वतन्त्रता विरुद्ध भएको बताउनुभएको छ । यसै गरी जेठ १३ गते पत्रकार महासंघ केन्द्रीय कार्यालयले पनि एक विज्ञप्ती प्रकाशित गरी चित्त नबुझे कानूनी प्रक्रिया थाल्न आगह गरेको छ । यसैगरी प्रेस चौतारी सुनसरीले समेत प्रेस विज्ञप्ती प्रकाशित गरी समाचारको विषयलाई लिएर कानूनी प्रक्रिया अवलम्बन गर्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया