नेपाललाई सदैव भारतले सहयोग रहन्छ, रञ्जित राय

एयर इन्डियाको उद्वार टोलीले त्रिभुवन विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस जहाज सोँचेभन्दा छिटो हटाउन सफल भएको बताएको छ । टोली नेता एयर इन्डियाका सिएजीएम एस. रामास्वामीले अहोरात्र खटिएर जटिल काममा सोँचेभन्दा छिटो सफलता हासिल गरेको बताएका हुन् ।
‘विमानको नोज गियर ४ फिट जमिनभित्र गाडिएको थियो, खाल्डोबाट बाहिर निकाल्न निकै कठिन भयो,’ रामास्वामीले भने,’ सोचेको भन्दा छोटो समयमा सफलता हासिल गर्‍यौं ।’
इन्डियन एयरफोर्सको जहाजमा बिहीबार दिउँसो एक बजेर ७ मिनेट  जाँदा उद्वार टोली त्रिभुवन विमानस्थल आइपुगेको थियो । दिउँसो ३ बजेदेखि नेपाली तथा इन्डियन टोली रातदिन नभनी जहाज हटाउने काममा खटिएका थिए ।
आफूहरुले उच्चतम प्रविधिको प्रयोग गरेर विमान धावन मार्गबाट हटाएको उनको भनाई छ । विमान हटाउन नेपाली सेना र नेपाल प्रहरीको टोलीले पनि दिनरात काम गरेको भन्दै उनले प्रशंशा गरे ।
टोलीले मुम्बईमा यस्तै घटना हुँदा विमान हटाउन चार दिन लागेको बताए । रामास्वामीले भने, ‘ठूलो रेस्क्यु विमान ल्याउन ५० मिटरमा विमान अवतरण गर्नुपर्ने वाध्यताले सफल नभएपछि सानो ल्याउनुका कारण ठूला उपकरण ल्याउन नसकिएको हो ।’
४० टनको दुई र ३० टनको दुई गरी १४० टनको बेलुनले विमानको धसिएको भाग उठाएर हटाउन सफल भएको रामास्वामीको भनाई थियो ।
नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपालमा कुनैपनि समस्या पर्दा समाधानका लागि भारत सधै तयार रहेको बताउनुभयो ।
भारतले नेपालमा सधै सहयोगी भूमिका निभाउँदै आएको उल्लेख गर्दै दुर्घटनाग्रस्त विमानलाई धावनमार्गबाट हटाएर उडान सुचारु राख्न भारतले सहयोग गरेको बताउनुभयो ।
रायले भन्नुभयो, ‘भारत र नेपालबीचको सम्बन्धको प्रकृति एक अर्काको दु:खमा पनि साथ दिने खालको छ ।’ उद्वार टोलीको खुलेर प्रशंशा गर्नुभएका राय स्वयंले त्यसबारे चासोपूर्वक प्रश्न गर्नुभएको थियो । हजारौं यात्रु समस्यामा परिरहँदा उडान सुचारु हुनुलाई मानवीय दृष्टिले महत्वपूर्ण कार्य भएको उल्लेख गर्नुभयो । एअर इंडिया लिमिटेडका नेपाल प्रमुख आर. राजाशेखरनले विमान हटाउन सबैबाट सहयोग पाएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । पत्रकार भेटघाटमा भारतीय राजदूतावासका उच्चपदस्थ कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र नागरिक उड्यान प्राधिकरणका उच्च अधिकारीहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया