धरान÷ दोस्रो चरणको कोरोना संक्रमण बढ्दै गएपछि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले स्वास्थ्य निर्देशिकामार्फत संघीय, प्रदेश र स्थानीय सरकारलाई निर्देशिका पालना गर्न सर्कुलर जारी गरेपनि त्यो कही कतै अलिकति पनि पालना भएको पाइँदैन ।
विशेष गरी सरकारले जारी गरेको निर्देशिका यातायात व्यवसायीहरुले पालना गरेको पाइँदैन । सार्वजनिक बसमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गरी यात्रुलाई यात्रा गर्न दिने, भौतिक दूरी पालना गरेर यात्रुलाई सिटमा राख्ने लगायतका कुरा निर्देशिकामा उल्लेख भएपनि धरानबाट सञ्चालन भएका पूर्व, पश्चिम, कोशी पहाडी क्षेत्रमा चल्ने यात्रुवाहक सवारी साधनले पालना गरेको पाइदैन ।
दोस्रो चरणको कोरोना संक्रमण फैलिन थालेपछि नेपाल सरकारले जोखिम न्युनिकरणका लागि ४० बुदे निर्देशिका जारी गरेको छ । तर निर्देशिका पालना गर्न लगाउने संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गम्भीरतापूर्वक निलिदा पछिल्लो समय कोरोनाको जोखिम बढ्दै गएको हो । धरानको बसपार्कबाट चल्ने अधिकांंश सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले सामान्य मास्कको प्रयोग गर्ने गरेपनि सेनिटाइजर तथा भौतिक दूरी कायम गरेको पाइदैन ।
यस विषयमा यातायात व्यवसायीहरुले सरकारले निर्देशिकामा के छ भन्ने कुरा यायतायात मजदुर, यातायात व्यवसायी तथा यात्रुलाई जानकारी नदिएका कारण अन्यौलमा रहेको बताएका छन् । नेपाल यातायात रष्ट्रिय महासंघ एक नं. प्रदेशका संयोजक सरोज श्रेष्ठले निर्देशिका आएपनि स्थानीय सरकारले यस विषयमा छलफल, निर्देशिका सम्बन्धमा जानकारी नदिँदा यातायात व्यवसायी अलमलमा परेको बताउनुहुन्छ ।
यता यात्रुहरुले पनि सवारी साधनमा यात्रा गर्दा जोखिम रहेको बताउने गरेका छन् । यात्रु सागर प्रसाईले सार्वजनिक यातायाताका मजदुरहरुले अनिवार्य मास्क प्रयोग गर्न, सेनिटाइजर प्रयोग गर्न तथा भौतिक दूरी पालना नगरी यात्रु तानातान गरेर यात्रा गराउन बाध्य हुदा जोखिम अझ चुलिएर गएको बताउनुभयो ।
यता यातायात मजदुरहरु जोखिम छ भन्ने थाहा पाउदा पाउदै पनि स्वास्थ्य निर्देशिका पालनना गरेको पाइदैन । बसमा भौतिक दूरी पालना नगरी खचाखच यात्रु हाल्ने, मास्क नलगाउदा पनि मास्क लगाउन आग्रह नगर्ने, सेनिटाइजरको प्रयोग नगर्ने गर्छन । तर उनीहरु नै सावधानी अपनाउनुपर्ने बताउदै आएका छन् ।
जोखिम बढ्दै जादा धरानमा दोस्रो चरणको संक्रमणबाट सक्रमित थपिने र मर्ने क्रम रोकिएको छैन । यस विषयमा उपमहानगरपालिका भने कोरोना संक्रमण न्यूनिकरणका लागि तयारमिा बसको बताउने गरेको छ । उपमहानगर अन्तर्गतको कोरोना नियन्त्रण तथा रोकथाम समितिको छलफल भइरहको र नियन्त्रणको प्रयासमा गम्भीर हुने नगरपालिकाले जनाएको छ । उपमहानगरपालिका अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहताले सार्वजनिक यातायातमा मास्कको प्रयोग, सेनिटाइजर तथा भौतिक दूरी कायम गर्न यातायात मजदुर, यात्रु तथा सर्वसाधारणलाई आग्रह गर्ने बताउनुभयो ।
नेपालमा फेरि दोस्रो चरणको कोरोना संक्रमण जोखिम बढ्दै गएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले ४० बुदे निर्देशिका जारी गरेको छ, तर यो निर्देशिका सम्बन्धमा नत संघीय सरकार, नत स्थानीय सरकार न त प्रदेश सरकारले सर्वसाधारणलाई बुझाउन सकेको छ । त्यसमाथि पनि लापार्बाही अझ बढेर गएको अवस्था छ । अब यो जोखिम न्यूनिकरणका लागि सबै पक्ष गम्भीर नभए कोरोनाको जोखिम हिजोको भन्दा झन् धेरै भयावह अवस्था आउन सक्ने देखिन्छ ।
