धरान÷ धरानमा खानेपानीको अभाव चुलिएसंगै फूलको नर्सरी सञ्चालन गर्नेहरु नर्सरी सञ्चालन गर्नै नसक्ने अवस्थामा पुगेका छन् । नर्सरी सञ्चालन गर्दा पानी पर्याप्त चाहिने भएपनि धरानमा खानेपानीको हाहाकार भएपछि विरुवामा पानी हाल्न नपाउदा विरुवा नै सुकेर जान थालेको छ । यसले गर्दा व्यवसायीहरु विस्थापित हुने अवस्थामा पुगेका हुन् ।
केही समय अगाडि क्यामेलिया नर्सरीका सञ्चालक राजेशुकमार राईले धरानमा चुलिएको खानेपानीको अभावका कारण नर्सरी सञ्चालकहरु विस्थापित हुने अवस्थामा पुगेको भन्दै फेसबुक स्टाट्समा कुण्ठा पोख्नुभयो । उहाले धरान खानेपानी बोर्डले दिन विराएर १० मिनेट पानी वितरण गर्दा विरुवामा पानी हाल्न नपाएपछि विरुवा सुकेर गएको भन्दै यही अवस्था आए व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको स्टाट्समार्फत आफ्नो समस्या पोेख्नुभएको थियो ।
वास्तवमा यो कुण्ठाभित्र सत्यता लुकेको थियो । पानी अभावकै कारण क्यामेलिया नर्सरीका राजेशमात्र हैन धरानमा नर्सरी सञ्चालन गरेर बसेका दुई दर्जनभन्दा बढी पानीकै अभावमा व्यवसायबाट हात धुनुपर्ने अवस्था आएको छ । उनीहरुले लाखौ लगानी गरेर लगाएको फूलका विरुवा सुकेर खङ्ग्या¥ङखुग्रुङ भएका छन् ।
१० बर्ष अगाडिदेखि धरान ७ शान्तिपथमा क्यामेलिया नर्सरी सञ्चालन गर्दै आएका राईले नर्सरी व्यवसाय पानी विना चल्नै नसक्ने बताउनुहुन्छ । पानी अभावका कारण लगाएको फूलका विरुवा सुकेर सबै नष्ट भएको उहा गुनासो पोख्नुहुन्छ ।
फ््लोरीकल्चर एसोसिएसन नेपाल सुनसरीका सचिव समेत रहनु भएका राईले पानी अभावकै कारण आफूले लगाएको ५० प्रतिशत विरुवा मरेको बताउनुभयो ।
धरान ९ पूर्णपथमा एन्जिला नर्सरी सञ्चालन गर्दै आउनुभएका रतन वेराको अवस्था पनि राईकै जस्तै छ । उहा पनि पानी अभावका कारण आफूले लगाएको सबै विरुवा मरेको बताउनुहुन्छ ।
धरानमा सुख्खा मौसमसंगै पानी अभाव चुलिदा राई र बेराजस्तै नर्सरी सञ्चालन गरेर बसेकाहरुको अवस्था पनि दयनीय बन्दै गएको छ ।उनीहरुले पानी आपूर्तिका लागि सम्बन्धित स्थानमा गुहारे पनि पानी आपूर्तिमा सहज नभएको गुनासो पोख्छन् । एसोसिएसनका अनुसार धरानबाटमात्र २२ वटा नर्सरी सञ्चालनमा छन् ।
