धरान/ इलाका प्रहरी कार्यालय
धरानमा सोमबार विदाई र स्वागत कार्यक्रम एकैपटक भएको छ ।
इलाका प्रहरी कार्यालयको हाताभित्र भएको सो कार्यक्रममा धरानमा कार्यरत रही हाल राष्ट्रिय प्रशिक्षण प्रतिष्ठान
महाराजगञ्ज सरुवा हुनुभएका प्रमुख डिएसपी सञ्जयसिंह थापाको विदाई र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट धरान सरुवा भएर आउनुभएका डिएसपी सुदनकुमार सिजापतिको स्वागत कार्यक्रम एकैपटक भएको हो ।
उहाहरुलाई धरानका नागरिक समाज, सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी, व्यापारी, व्यवसायी लगायतका सर्वसाधारण नागरिकले विदाई तथा स्वागत कार्यक्रम गरेका हुन् ।
इलाका प्रहरी कार्यालय धरानमा नया कार्यभार सम्हाल्न आउनुभएका प्रमुख डिएसपी सिजापतिले थापाले प्रमुख हुदा गरेका अधुरा कामलाई पूरा गर्ने र धरानलाई शान्ति सुरक्षाको प्रत्याभूति दिने बताउनुभयो ।
यस्तै नागरिकहरुसग हातेमाला गरेर धरानलाई लागू औषधमुक्त सहर बनाउने अभियानमा लाग्नुभएका र १६ महिनापछि विदाई भएर जान लाग्नुभएका डिएसपी थापाले धरानको सम्पूर्ण समुदायको साथ सहयोगले
धरानमा धेरै उदाहरणीय काम गरेको बताउनु हुदै धरानका सम्पूर्णलाई धन्यवाद समेत दिनुभयो ।
डिएसपी थापाकै अगुवाइमा लागू औषध नियन्त्रणका लागि विभिन्न समुदायसंग सहकार्य गरी प्रहरीले आफैले धरानको पाचकन्यामा आश्रा सुधार केन्द्र खोल्ने योजना अनुरुप तत्कालीन पूर्व क्षेत्रीय प्रहरी प्रमुखले शिलान्यास गर्नुभएको थियो । हाल त्यसको निर्माणका लागि काम समेत अगाडि बढ्दै गएको बेला आफ्नो कार्यभार सम्हाले लगत्तै द्रुत गतिमा त्यसको निर्माणको काम थाल्ने डिएसपी सिजापतिले जानकारी
दिनुभयो ।
