खानेपानीको चरम अभाव–मृत शहरका लाचार मलामी

धरान खानेपानी बोर्डको नाममा धरान उपमहानगरपालिकाको नेतृत्वले कमाउ धन्दा चलाउँको परिणाम आज धरानबासीले खानेपानीको चरम अभाव भोग्नुपरेको छ ।
जसको जे जिम्मेबारी हो त्यसले सोही काम गरेमात्र परिणाम सकारात्मक आउँछ । बोकाले हलो जोत्ने भए गोरुको के काम ? धरान उपमहानगरपालिकाको वर्तमान नेतृत्व हाल यस्तै छ । नगरपालिकाले व्यापार गर्ने होइन । तर ऊ सोझा, अमुक, मृत सहरका मलामी झै देखिएका धराने जनताको लाचारीपनको फाइदा उठाएर खानेपानीमा व्यापार गर्न उद्यत हुनु बिडम्बना हो ।
जनभावना विपरीत केही चपरचण्डाल माफियाहरुको सल्लाहमा अर्थहीन र असान्दर्भिक कार्यमा हात हाल्न पुगेपछि एकातिर धराने जनताले ऋणको भार बोक्नुपरेको छ भने अर्कातिर जुन प्रयोजनका लागि ऋण ल्यायो त्यसको चरम दुरुपयोग, भ्रष्टाचार, आफू र आफन्त मोटाउने कार्यले मात्र प्रोत्साहन पायो । धरानमा राजनैतिक दल भनेको दलाली गर्ने संगठन भएको छ । विगतका नगर नेतृत्वले गरेका कार्य सर्वथा गलत थियो भन्दै अर्को दलले आफ्ना समर्थकहरुलाई सडकमा उफारेको सबैले देखेकै हुन् । जुन प्रयोजनका लागि धराने जनताको टाउको गनेर ऋण ल्याइएको थियो । सो प्रयोजनमा मात्र खर्च गरिनुपर्छ भनेर आवाज उठाउने राजनैतिक दल धरानमा देखिएन ।
धरान उपमहानगरपालिकामा एमालेको नेतृत्व रहँदा काँग्रेसका केही भिजिलान्तेहरुले विरोध गरेजस्तो देखिए तापनि अन्तत ः उनीहरुको सहकार्य खान्तेपिन्ते र भागबण्डामै पुगेर टुंगियो । एडिवीको गाडी चढेर भेडेटार लगायतका ठाउँमा दारु खान पुग्ने, आफ्नो नीजि प्रयोजनका लागि एडिवीले गाडी उपलब्ध गराउँदा फुरुङ्ग भएर आफूलाई उपल्लो कोटीको नागरिक सम्झने, बेलाबेलामा एडिवीले उपलब्ध गराएका नजरानाबाट ऐøयासी ढंगले परिवारको पालनपोषण गर्ने, भाँडाको गाडीमा यात्रा गर्न नसक्ने हैसियत भएकाहरु प्लेनको सफरमा निस्कने, हैसियत नभएका आयातीतहरु दलका नाममा बार्गेनिङ्ग गरेर कथित बोर्डको सदस्य बस्ने, व्यापार व्यवसाय र पैत्रिक सम्पत्ति केही नहुनेहरुले दैनिक १०–१५ हजार सम्मको मदिरापान गर्ने जुन प्रवृत्ति देखियो त्यसले धरानको खानेपानी आयोजना डुबाएको भन्दा अत्युक्ति हुने छैन ।
आज कथित बोर्डको नाममा छँदाखाँदाको खानेपानी संस्थानलाई बोर्डमा गाँभिएको छ । ३ अर्ब २९ लाखको आयोजनाले धरानका कहीकतै कुनैपनि वार्डमा पानी उपलब्ध गराउन सकेको छेन । धरान जनताहरु एक गाग्री पानीका लागि भौतिरिदै छन् । खानेपानीको व्यापार गर्ने ट्यांकर व्यवसायीहरुको व्यापार फस्टाएको छ । दिनदुगुना रात चौगुना उनीहरुको आम्दानी बृद्धि भएको छ । पूर्ण रुपमा असफल धरान खानेपानी आयोजनाका मतियारहको ट्यांकर व्यवायीहरुसँग लेनदेनको भित्री साँठगाँठ पनि हुन सक्छ । एउटाको जरो नउखेली अर्कोलाई औषधी गर्न सकिदैन । संस्थान कोल्याप्स बनाएपछि एकाएक ट्यांकरको संख्यामा समेत यतिबेला भारी बृद्धि भएको छ । विगतमा मुस्किलले ५÷७ वटा देखिने ट्यांकरहरु यतिबेला गनी साध्य छैन । धरानमा आजको जस्तो पाीनको हाहाकार विगतमा कहिल्यै भएको थिएन । अति सुख्खा मौसममा समेत खानेपानी संस्थानले सर्वसाधारणको घरमा पानी उपलब्ध गराएकै थियो । कथंककदाचित पानी नआएको अवस्थामा समेत संस्थानले आफ्नो ट्यांकरमार्फत सर्वसाधारलाई पानी वितरण गरेको थियो । तर आज त्यो अवस्था छैन । कथित बोर्ड सदस्यहरुलाई फोन गर्दा फोन उठाउँदैनन् । सत्ताको उन्मादमा नगर प्रहरी, नेपाल प्रहरीको सुरक्षा बोड अध्यक्षदेखि सदस्यहरुले हिड्नु परेको छ । दैनिक धराने जनताहरुले तिनीहरुलाई आमाचकारी गाली गरिरहेका छन् । बोर्डका नाममा आफ्ना मान्छेलाई भर्ति गर्ने माध्यम बनाएको छ यसमा न राज्यको कुनै निकायले सुन्ने कुचेष्टा गरेको छ न यस भित्र भएको डरलाग्दो अनियमितता र भ्रष्टाचारको छानविनमा तदारुकता देखाएको छ । आखिरी चोर–चोर मौसरे भाइ भनेको यही हो ।

तपाईको प्रतिक्रिया