महिलाहरुले उत्पादन गरेको सामाग्रीको प्रवद्र्धन गर्न मिनी मेला

महिलाहरुद्वारा उत्पादित घरेलु सामग्रीहरुको प्रबद्र्धनसंगै बजारिकरण गर्ने उद्देश्यले सुनसरीको धरानमा एक दिने विक्री तथा प्रदर्शनी मेला आयोजना गरिएको छ । मेलामा हस्तकला, श्रृङ्गार तथा सजावट, कपडा, विभिन्न परिकारलगायतका २२ वटा स्टलहरु राखिएका थिए ।
धरान(१९ स्थित झुनाज फिट्नेसको आयोजनामा स्थानीय महिला उद्यमीहरुद्वारा उत्पादित घरेलु सामग्रीहरुको विक्री तथा प्रदर्शनी मेला आयोजना भएको हो । एक दिने मिनी मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकला, श्रृङ्गार तथा सजावटका सामग्रीहरु राखिएका थिए । मेलामा स्थानीय स्वादिष्ट खानोका परिकार समेत राखिएको थियो । महिलाहरुले स्थानीय स्तरमा उत्पादन गरेका घरेलु सामग्रीको प्रबद्र्धन गर्न मिनी मेलाको आयोजना गरिएको र झुनाज फिट्नेस धरानकी सञ्चालक झुना मेवाहाङ बताउनुहुन्छ ।
विद्यार्थीहरुले फुर्सदको समयलाई सदुपयोग गदै कलात्मक ढंगले बनाइएका हस्तकलाका सामग्रीहरु मेलाको मुख्य आकर्षण बनेको थियो । अनलाइनमार्फत विक्री गदै आएका सामग्रीहरु प्रदर्शनीमा राख्न पाउँदा उनीहरुले दंग परेका थिए । इशा लिम्बु र आस्मा श्रेष्ठ लगायतका विद्यार्थीहरुले खेर गएको सामानलाई पुन सदुपयोगमा ल्याउदै घरमा सजाउन राम्रा राम्रा सजावटका सामाग्री बनाएर प्रदर्शनीमा राखेका थिए ।

त्यसो, त स्थानीय उद्यमीहरुले पनि मेलामा आफ्नो उत्पादन विक्री भन्दा पनि प्रबद्र्धनमा सहयोग पुग्नेमा आशावादी देखिन्थे । उद्यमी जीना तामाङले आफूले उत्पादन गरेको सामाग्री प्रदर्शनमा राख्न पाउदा खुशीलागेको बताउनुभयो ।
स्थानीय स्तरमा महिलाहरुले घरैमा उत्पादन गरेका सामग्रीको प्रबद्र्धनको लागि प्लेट फर्मको रुपमा कार्यक्रम भएको धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले बताउनुभयो । उहाले निजी क्षेत्रबाट महिलालाई प्रवद्र्धन हुने खालको मिनी मेला लाग्नु सकारात्मक भएको बताउदै यस्ता मेलालाई उपमहानरपालिकाले समेत सहयोग गर्ने बताइन् ।

तपाईको प्रतिक्रिया