इटहरी÷उद्योग वाणिज्य संघ इटहरीले आफ्नो २२ औ साधारणसभामा चन्द्रबहादुर बस्नेत र देशबन्धु बस्नेतलाई सम्मान गरेको छ । चन्द्रबहादुर बस्नेत उद्योग वाणिज्य सघ इटहरीका संस्थापक अध्यक्ष हुनुहुन्छ भने देशबन्धु बस्नेत उद्योग वाणिज्य महासंघका वर्तमान केन्द्रीय सदस्य हुनुहुन्छ । सम्मानित हुने चन्दबहादुर बस्नेत देशबन्धु बस्नेत बाबुछोरा हुन् ।
उहाँहरुलाई उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले शनिवार प्रशंसापत्र सहित दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । चन्द्रबहादुर बस्नेतले वि.सं. २०५० सालमा आफ्नो अध्यक्षतामा पहिलो पटक उद्योग वाणिज्य संघ इटहरीको स्थापना गर्नुभएको थियो । त्यस क्रममा धरान उद्योग वाणिज्य संघले इटहरी उद्योग वाणिज्य संघका विरुद्धमा मद्धा समेत दायर गरेको थियो । पछि अदातले उद्योग वाणिज्य सघ इटहरीलाई नै मान्यता दिएको थियो । इटहरीका व्यवसायिका अनुसार व्यवसायीका बीचमा मात्र नभएर समाजसेवाको क्षेत्रमा समेत चन्द्रबहादुर बस्नेतको अहम् भूमिका रहँदै आएको छ ।
उता चन्द्र बहादुर बस्नेतका छोरा देशबन्धु बस्नेत (अजित) पेशाले इन्जिनियर हुनुभए पनि व्यवसायिक क्षेत्रमा उदीयमान युवा उद्यमीका रुपमा लिइन्छ । केही समय अगाडि सम्पन्न उद्योग वाणिज्य महासंघको निर्वाचनमा उहाँ केन्द्रीय सदस्यमा निर्वाचित हुनु भएको थियो । इटहरीमै जन्मनु भएका बस्नेतले यतिबेला कर्मथलोको रुपमा काठमाण्डौलाई बनाउदै आउनु भएको छ । उहाँ महासंघ अन्तर्गतको द्विराष्ट्रिय एवम् गैह्र आवासीय नेपाली समन्वय फोरमका अध्यक्ष, अफ्रिकी मुलुक जाम्बियाका अवैतनिक महावाणिज्य दूत समेतको कार्यभार सम्हाल्दै आउनु भएको छ । काठमाण्डौमा उहाँले सञ्चालन गरेको एवी होल्डिङ्सले देशका कैयन स्थानमा लगानी समेत गरेको छ ।
