द्विदेश जोड्ने मध्यपहाडी लोकमार्गको ट्रयाक खोल्न अब तीन किलोमिटर बाँकी

फुङलिङ (ताप्जेजुङ)÷नेपालको चीनसँग र भारतसँग जोड्ने प्रदेश नं १ को वहुप्रतिक्षित लोकमार्गको ट्रयाक खोल्न अब तीन किमी मात्र बाँकी रहेको छ ।
चीनसँग सीमा जोडिएको फक्तालुङ्ग गाउँ पालिकाका प्रवक्ता छेतेन शेर्पाले दिएको जानकारी अनुसार अब सडकको ट्रयाक खोल्न मात्र तीन किमी बाँकी रहेको छ । अब ४, ५ महिनामा ट्रयाक खोल्ने काम सिद्धिन्छ । अत्यन्तै महत्पूर्ण मानिएको फुङलिङ बजारदेखि टिप्तला भन्याङ्गसम्मको यो सडकको तीन किमी ट्रयाक खुलेपछि पर्यटन लगायत हरेक क्षेत्रमा लाभै लाभ हुने शेर्पाले बताउनुभयो । उहाँले भन्नुभयो यो ट्रयाक गत बर्ष नै खुलिसक्नुपर्ने थियो तर कोरोना संक्रमणका कारण लकडाउन र ठेकेदारलाई ब्लाष्टिङ सामाग्री समयमै उपलब्ध गराउन नसक्दा चट्टाने भीर फुटाउन सकिएको थिएन । अहिले धमाधम ब्लाष्टिङको काम भइरहेको प्रवक्ता शेर्पाले बताउनुभयो ।
फुङलिङ नगरपालिकादेखि टिप्तला भन्ज्याङसम्मको सडकमा हाल टिप्तला भन्ज्याङदेखि ओलाङचुङगोलासम्मको ३१ किमी ट्रयाक गत बर्ष नै क्लियर भइसकेको छ । ओलाङचुङगोला भन्दा यता ९ किमी चट्टाने भीर फुटाएर सडक निर्माण भइसकेको छ । फुङलिङ बजारबाट टिप्तला भन्ज्याङसम्म माथिल्लो सडकको कुल लम्बाई १ सय किमी रहेको छ भने तल्लो बाटो अर्थात तमोर
करिडोरबाट जाँदा ९० किमी रहेको छ । हाल इला डाँडामा ब्लाष्टिङको काम भइरहेको पनि प्रवक्ता शेर्पाले बताउनुभयो । यो सडक बनेपछि तिब्बतको रियुकाउन्टी पुगेर ताप्लेजुङका स्थानीयले व्यापार व्यवसाय गर्न मात्र नभएर रियु बजारबाट भारतको सीमावर्ती बजार झापाको पृथ्वीनगरसम्म सिधा सडक यातायातले जोडिन्छ । तल्लो तमोर करिडोरको सडकको बीचमा पर्ने शिवा बजार, लेलेप र माथिलो सडकले जोड्ने किवा बजारको मुहार फेरिने पनि प्रवक्ता छेतेन शेर्पाले बताउनुभयो ।
फुङलिङ नगरपालिकको गणेश चौक टिप्तला भन्ज्याङबाट आउने यातायात र पृथ्वीनगरबाट जाने यातायातले पूर्व पश्चिम लोकमार्ग अर्थात पुष्पलाल मार्गलाई छुनेछन् । नेपालको पूर्व पश्चिम जोड्ने महेन्द्र राजमार्ग र हाल निर्माण भइरहेको हुलाकी राजमार्गपछिको मध्य पहाडी लोकमार्ग तेस्रो राजमार्ग हो । निर्माण सम्पन्न भएपछि यो राजमार्गको लम्बाई १ हजार ७ सय ७६ किलोमिटर हुने भएको छ । मध्य पहाडी लोकमार्ग पाँचथर जिल्लाको सिक्किम राज्यसँग जोडिएको चिवाभन्ज्याङबाट शुरु भएर वैतडी जिल्लाको झुलाल घाटमा गएर टुंगिने छ । चिवाभन्याङदेखि झुलालघाट (भारतीय सीमा क्षेत्र) मा पुग्दा यो सडकले पहाडका २४ जिल्ला छुन्छ । यद्यपि नेपालको ३९ वटा पहाडी जिल्ला भएपनि अन्य सहायक सडकले बाँकी जिल्लालाई छुने मध्यपहाडी लोकमार्ग आयोजनाले जनाएको छ । आयोजनाका अनुसार सन २०१० सम्ममा ट्रयाक खोल्ने काम सम्पन्न गर्ने योजना भएपनि मौसम प्रतिकूलता, कामदारको अभाव, समयमै ब्लाष्टिङ सामाग्री नपाउँदा पछाडि धकेलिएको हो । यहाँ स्मरणीय कुरा के छ भने आर्थिक बर्ष २०६४÷०६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी लोकमार्गको रेखांकन वि.सं. २०६५ फागुन २६ गते को मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको थियो ।


ताप्लेजुङको विकासमा कोशेढुंगा
ताप्लेजुङ जिल्ला जैविक विविधता र प्राकृतिक दृष्टिले महत्वपूर्ण जिल्ला भएकोले फुङलिङबाट टिप्तला भन्याङसम्मको सडक निर्माण भएपछि विकासका लागि उक्त सडक कोशेढुंगा सावित हुने प्रवक्ता छेतेन शेर्पाको बुझाई छ ।
ताप्लेजुङ जिल्ला नेपालका ७७ जिल्लामध्येको तेस्रो ठूलो जिल्ला हो । यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत, पूर्वमा भारतको सिक्किम, पश्चिममा संखुवासभा र दक्षिणमा तेह्रथुम, पाँचथर जिल्ला पर्छन् । यस जिल्लामा विश्वकै तेस्रो र नेपालको दोस्रो ठूला हिमश्रृखला कञ्चनजंघा (८५८६ मिटर) र ७ हजार भन्दा बढी अग्ला १० भन्दा बढी हिमश्रृंखला, ३ सय भन्दा बढी हिमताल समेत रहेको छ । यस जिल्लामा जैविक विविधता,प्राकृतिक सुन्दरता, धार्मिक, ऐतिहासिकसँगै दर्जनौ पर्यटकीय स्थलहरु रहेका छन् । प्रसिद्ध पाथीभरादेवीको मन्दिर, दिक्की छोलिङ गुम्बा, तिम्बु पोखरी, फुङलुङे झरना, पापुङको तोक्पेगोला, सोदु पोखरी आदिको भ्रमणमा आन्तरिक पर्यटकहरु मात्र नभएर बाह्य पर्यकहरुमा चिनियाँ, भारतीयहरुसमेत ठूलो संख्यामा पुग्ने गर्छन् ।
चीनसँग निकट रहेको फक्तालुङ
ताप्लेजुङ फक्तालुङ गाउँ पालिका उत्तरी चीनसँग सीमावर्ती विकट गाउँ पालिका हो । यस गाउँपालिकाका स्थानीयहरुको व्यापार व्यवसाय तिब्बबतको रिउ बजारमा निर्भर रहने गरेको छ । रिउ बजारको स्थानीय सरकारले यस गाविसको विकासमा स्थानीयहरुको आग्रहमा सडक निर्माण, पुल पुलेसा, ह्युम पाइप, खाद्यान्न, लत्ता कपडा आदि समय समयमा उपलब्ध गराउदै आएको छ ।
वि।स। २०७३ सालमा संघीय मामला तथा स्थानीय विकास मन्त्रायलयले ७४४ वटा स्थानीय तह लागू गर्दा साविकका ७ गाउँ विकास समितिहरुलाई एकीकृत गरी फक्तालुङ गाउँ पालिका बनाइएको थियो । त्यसबेला एकीकृत हुने गाउँ पालिकाहरुमा खेजनीम, मवादीन, इखाबु, लिङखिम, तापेथो,,लेलेप र ओलाङचुङगोला थिए । यस गाउँ पालिकाको कुल जनसंख्या १२०१७ रहेको छ भने यसको अन्य छिमेकीहरुमा पूर्वका ताप्लेजुङ जिल्लाको सिरिजंघा गाउँपालिका, उत्तरमा चीन, पश्चिममा भिक्वाखोला गाउँ पालिका र दक्षिणमा फुङलिङ नगरपालिका रहेको छ । गाउँ पालिकको कुल क्षेत्रफल १८५८।५१ वर्ग किमी रहे पनि जनसंख्या अत्यन्तै न्यून रहेको छ ।
बसाई सराईले रित्तिदै जिल्ला
क्षेत्रफलको दृष्टिले अत्याधिक ठूलो भएपनि न्यून जनसंख्याका कारण ताप्लेजुङको फक्तालुङ गाउँपालिका सुनसान जस्तै देखिने गरेको छ । अवसर र रोजगारीको खोजीमा स्थानीयहरु तराईका सहर पस्ने, वैदेशिक रोजगारीमा गएकाहरु शहरतिरै घरजम गरेर बस्ने प्रवृत्तिले फक्तालुङमा जनसंख्या कम भएको प्रवक्ता छेदेन शेर्पाको बुझाई छ ।
यसका अलावा रैथने स्थानीयले आफ्ना छोराछोरी पढाउन शहर पठाउने तर पछि उनीहरु फर्केर नआउने न्यून जनसख्याको दोस्रो कारण मान्छन् शेर्पा । उनले भने एउटा गाउँबाट अर्को गाउँसम्म पुग्न पनि धेरै कठीन छ, दुई चार दिनको पैदल यात्र नै गर्नुपर्छ । गाउँमा बस्नेहरु पनि विस्तारै लेलेप, किवा, शिवा, इला लगायतका ग्रामीण सहरमा सर्ने प्रवृत्तिले गाउँहरु प्राय ः सुनसान नै हुने गरेका छन् ।
आम्दानीको मुख्य स्रोत
फक्तालुङ गाविसका ग्रामीण क्षेत्रका बासिन्दाहरुको मुख्य आम्दानीको स्रोत वहुमूल्य जडीबुटी, चौरी गोठ, राडी पाखी नै हो । साविक खेजनिम गाविसका स्थानीय दोर्जी भाटेका अनुसार यहाँका स्थानीयहरुको मुख्य आम्दानीको स्रोत भनेकै जडीबुटी, चौरी गोठ र
राडीपाखी भएको बताउँछन् ।
खास गरेर चैत्र महिनादेखि उच्च हिमाली क्षेत्रहरुमा चौरी गोठ राख्ने चलन रहेको र असोजदेखि औलतिर झार्ने गरिएको छ । महिलाहरु घरैमा बसेर राडी पाखी, तानमा कपडा बुन्ने काम गर्छन् । चौरी गोठमा उत्पादन भएका घ्यू, छुर्पीहरु खरिद गर्न राजधानी काठमाण्डौबाटै व्यापारीहरु गोठ गोठमा पुग्ने पनि उनले सुनाए । बजार नपाइएला कि भन्ने कुनै डर छैन । राडी पाखीहरु चीनको रियु बजार प¥याइन्छ, जडीबुटीको बजार पनि रियु नै हो, उनले भने । रियु काउन्टी बजारमा नेपाली उत्पादनको उच्च माग रहेको पनि उनले सुनाए । जडीबुटी राडी पाखी विक्री गरेर ग्रामीण क्षेत्रका बासिन्दाहरुले खाद्यान्न लगायतको जोहो गर्ने गरेका छन् । यो क्रम साविक फक्तालुङ गाविसमा एकीकृत भएका सबै गाविसका स्थानीयहरुको दैनिकी हो । अब फुङलिङदेखि टिप्तला भन्ज्याङसम्म यातयात चलेपछि व्यापार व्यवसायमा सहजता हुने दोर्र्जीको बुझाई छ ।

तपाईको प्रतिक्रिया