अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर धरान उपमहानगरपालिकाले मजदुरी गरी जीविकोपाजर्न गर्ने पाच जना महिलालाई सम्मान गरेको छ ।
धरान उपमहानगरपालिकाको आयोजना तथा महिला सञ्जाल धरानको संयोजनमा सोमबार धरान उपमहानगरपालिकाको कार्यकक्षमा भएको कार्यक्रममा पाचजना महिलालाई नगद २ हजारसहित सम्मान गरिएको हो । सम्मान पाएपछि श्रमिक महिलाहरु खुशीले गदगद देखिन्थे । बर्षौदेखि मकै पोलेर जीविकोपार्जन गर्न धरान १३ की शिवकुमारी तामाङले सम्मानित हुन पाउदा उनी खुशी प्रकट गरिन् । उनले सम्मान गर्लान भन्ने कुरा आफ्नो कल्पना बाहिरको कुरा भएको बताइन् ।
यस्तै धरान १७ की सीता मगर पनि सम्मान हुन पाउदा अत्यन्तै खुशी थिइन् । मगर विगतदेखि नै ज्यालादारीको काम गर्दै आएकी थिइन् । उनीहरुजस्तै डोकोमा तरकारी बोकेर बिक्री गर्ने धरान ८ की विष्णुमाया कटवाल, धरान ६ की तरकारी व्यापारी मैया गौतम र लेबर काम गर्ने धरान १५ की लक्ष्मी तामाङलाई पनि सम्मान गरिएको थियो । उनीहरु पनि उनीहरुलाई धरानका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदीले सम्मान पत्रसहित नगद पुरस्कारद्वारा सम्मान गरिएको थियो । उनीहरुसंगै दिवसकै अवसर पारेर विपतका समयमा खटिने महिलाहरुलाई समेत सम्मान गरिएको थियो । कोरोना महामारीको समयमा स्वाब संकलनमा फ्रन्टलाइनमा खटिने स्वास्थ्य प्राविधिक लुना अधिकारी र चन्द्रकला राईलाई पनि सम्मान गरिएको थियो ।
