कृषकहरुले उत्पादन गरेको तेज पत्ता विक्री भएन

धरान÷सुनसरीको धरानस्थित कृषि उपज बजारमा एक वर्ष यता तेज पत्ताको कारोबार ठप्प छ । लकडाउन यता भारतीय व्यापारीहरु तेज पत्ता खरिदका लागि आउन छाडेपछि कारोबार ठप्प बनेको कृषि उपज बजारले जनाएको छ ।
मसलाजन्य बस्तुमा प्रयोग हुने तेजपत्ताको कारोबार धरानको कृषिउपजबजार स्थलमा करिब एक वर्षयता ठप्प छ । पूर्वी पहाडी जिल्ला धनकुटाका कृषकहरुको दरिलो आम्दानीको स्रोतको रुपमा रहेको तेजपत्ताको मुख्य बजार भारत हो । तर, लकडाउन यता भारतीय व्यापारीहरु तेज पत्ता खरिदको लागि नआइदिदा तेजपत्ताको कारोबार ठप्प बनेको छ । डाडापाखा भिरालो जमिनमा उत्पादनगर्न सकिने तेज पत्ताको कारोबार ठप्प हुँदा कृषकहरु मारमा छन् । कृषि बजारको अनुसार गतवर्ष प्रतिभारी १ हजारमा खरिद भएको तेज पत्ता अहिले प्रति भारी ५ सय रुपैयाँ मात्र छ । कृषकहरुले दुःख गरेर ढुवानी गरेर ल्याएको तेज पत्ता विक्री नहुँदा बाध्य भएर कृषि बजारमा थन्क्याउनु पर्ने अवस्था आएको व्यापारी विनोद राई बताउनुहुन्छ । उनी भन्छन्–‘लक डाउन यता भारतीय व्यापारी तेजपत्ता खरिद गर्न आएका छैनन्, व्यापारीको अनुहार कस्तो छ भन्ने कुरा पनि थाहा हुन छाड्यो ।’ कृषि उपज बजारका अनुसार ९५ प्रतिशत तेजपत्ता छिमेकी मुलुक भारतमा निर्यात हुने गरेको छ । कृषिबजारमा वार्षिक करिब ५ हजार मेट्रिकटन अर्थात एक करोड बराबरको तेज पत्ताको कारोबार हुने गरेपनि यो वर्ष कारोबार ठप्प रहेको कृषि उपजबजारका व्यवस्थापक लक्ष्मण भट्टराइ बताउनुहुन्छ । उहा भन्नुहुन्छ, ‘कृषकले तेजपत्ता ल्याउन छाडेका छैनन्, भारत निकासी नहुदा कृषि बजारमै थन्काएर
राखिएका छन् ।’ नेपालमा मसला जन्य उद्योगहरु नगन्य मात्रामा छन् । त्यसैले स्वदेशमा उत्पादन भएको यस्ता मसलाजन्य कृषि सामग्री बाध्य भएर छिमेकी मुलुहरुमा निकासी गर्नुपरिरहेको छ । स्वदेशी उत्पादनलाई जोड दिदै उद्योग स्थापनामा तीनै तहको सरकार लाग्न सके कृषकहरुको जिवनस्तर उकास्नुका साथै रोजगारीको सिर्जना हुने निश्चित छ ।

तपाईको प्रतिक्रिया