धरान/नेपालमै अल्पसंख्यको रुपमा मानिएको चेपाङ्ग जाति विस्तारै आधुनिकतातर्फ उन्मुख हुदै गएको पाइएको छ ।
पुस्तौपुस्ता जंगलमा र ओढारमा बसेर जीवन विताएका उनीहरुले पछिल्लो समयमा शहरमुखी हुनुका साथै शिक्षा, स्वास्थ्य, रोजगारको अवसर समेत अग्रसर हुन थालेका छन् ।
त्यतिमात्र हैन आफ्नो पुर्खौली धर्मलाई छोडेर चेपाङ्ग जातिमा धर्म परिवर्तन गरेकोप्रति उनीहरु स्वयम् चिन्तित बन्न थालेका छन् । आर्थिक अवस्थाका कारण धर्मपरिवर्तन र पढाई बीचैमा छोड्नुपरेको उनीहरुको भनाई छ । पदमपुर–८ चितवनका २५ बर्षीया विष्णुमाया चेपाङ्ग र १६ बर्षकी राजकुमारी चेपाङ्गले धरान आएर तीनमहिने सिलाइ तालिम लिएको र गाउमा गएर पेशाकै रुपमा अंगाल्ने र आफ्नो धर्मसंस्कृतिलाई जोगाउने समेत बताएका छन ।
धरानको अपांग तथा असहाय केन्द्रको सहायताले धरानमा तालिम लिन आएका उनीहरुले तीन महिने सिलाई बुनाई तालिम लिइसकेका छन् । यी दुईले भने आफ्नो जस्तो अवस्था अरुले नभोग्नु नपरोस भन्ने चाहन्छन्् । उनीहरुलाई धरानको अपांग तथा असहाय केन्द्रले तालिम दिनुका साथै ९ हजार ५ सय पर्ने सिलाइ मेसिन र त्यसमा आवश्यक पर्ने सामाग्री समेत वितरण गरेको छ । राज्यबाट समेत उपेक्षित बनेका यस्ता समुदायलाई सहयोग गर्दा उनीहरुलाई राहत पुगोस् भन्ने उद्देश्यले तालिमको व्यवस्था गरिदिएको केन्द्रका निर्देशक सुनिल खड्काले बताउनुभयो ।
तालिमका साथ सिलाइमेसिनसहित चितवन घर फर्कन लागेका उनीहरुले खुशी व्यक्त गर्दै आफ्नो समुदायमा भएको विकृति विसंगतिका विरुद्धमा गीत समेत प्रस्तुत गरे ।
नेपाल अधिराज्यभर २ हजार जनसंख्या भएको चेपाङ्ग जातिको चितवनमासमेत न्यून बसोबास भएको उनीहरुको भनाई छ ।
