प्रेम, सद्भाव र एकताका निम्ति शुभकामना

धरान÷राष्ट्रिय एकताका प्रतीक, नेपाल एकीकरणका महानायक श्री ५ बडामहाराजधिराज पृथ्वीनाराणण शाहको २९९ औं जन्म जयन्तिका अवसरमा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारले सोमबार सम्पूर्ण देशबासीका नाममा प्रेम, सदभाव र एकताका निम्ति शुभकामना व्यक्त गर्नुभएको छ ।
आफ्ना परिवारका साथ पौष १२ गते झापाको दमकस्थित हिमालय टि स्टेटमा एक महिनाको बसाइमा रहनु भएका शाहले २९९ औ पृथ्वी जयन्ति तथा राष्ट्रिय एकता दिवसको पूर्व सन्ध्यामा मौसफप्रति श्रद्धास्मरण गर्दे समस्त नेपाली दिदी बहिनी तथा दाजु भाइहरुमा पे्रम, सद्भाव र एकताका निमित शुभकामना व्यक्त गर्नुभएको हो ।
सन्देशमा भनिएको छ, नेपाली भनेका नेपाली नै हुन् । कुनै अर्को जलप लगाएर हुँदैन भन्ने अपार राष्ट्र भक्तिले ओतप्रोत भएर वडामहाराजधिराजबाट नेपाल राष्ट्र निर्माणमा आफ्नो पूरै जीवन समर्पण गरिबक्सेको तथ्य स्मरण मात्र हुँदा पनि हामी सबै नेपाली गौरवान्वित हुने गर्दछौं । यो समय हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौं । तर त्यो समय केवल आफनो परिकल्पनामा सीमित देशलाई आकारमा ल्याउन सानो चातुर्य, साहस र वीरताबाट मात्र सम्भव थिएन । दैविक आर्शीवाद, अध्यम शाहस, पौरख र कुटनीति कौशलको अद्वितीय क्षमताबाट मात्र देवभूमि नेपालको स्थापना भएको हो । नेपालको निर्माणमा हरेक जातीय, भाषिक र साँस्कृतिक समुदायका आ–आफ्नै विशिष्ट योगदान छन् । संसारमा कतिपय देश जाति, भाषा र धर्मका नाममा परस्पर मतभेदबाट उत्पत्ति भएका छन् तर नेपाल विश्वको एकमात्र त्यस्तो मुलुक हो जुन सबै जातीय, भाषिक र साँस्कृतिक सम्प्रदायको साझा प्रयासको उपज हो । त्यसैले आज पनि राष्ट्र निर्माता वडामहाराजधिराजबाट मार्ग दर्शनका निम्ति बक्सेको दिव्य उपदेश नेपालको अस्तित्व रक्षा, नेपालीको एकता र मुलुकको समृद्धि लक्षित भएको महसुस हामी सबैले गरेका छौं ।
सन्देशमा अगाडि भनिएको छ जनचाहना बमोजिम अघि बढ्नु शाहबंशीय परम्पराको विशेषता भएको तथ्य कसैबाट छिमेको छैन । राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभीमान र राष्ट्रिय हितलाइ केन्द्रमा राखेर अघि बढ्ने क्रममा देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन् , संवैधानिक राजतन्त्रको मर्यादा अनुरुप व्यवहार भएको छ र राजगद्धी त्याग्ने सम्मको उच्च शाहस र इमान्दारी पनि दर्शाएका छन् । हाम्रो निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ । हाम्रो विचारमा राजनीतिक भन्नु नै देश सेवाको उच्चत्तम् साधन हो । तर हामीले व्योहोरेको राजनीति कति इमान्दार र राष्ट्र केन्द्रित छ, कति जनहित अनुकूल छ त्यसको समीक्षा हुन अब विलम्ब भैसकेको छ । परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म सँस्कृति र एकता भत्काउँदै पराया इच्छा पूरा गर्ने अवान्छित क्रियाकलाप यहाँ भित्रिएको महसुस आम नेपालीले गर्नुपरेको छ । राष्ट्रिय अखण्डताका निम्ति हामीले एकताको गाँठो बलियो पार्नुपर्दछ । यसको औचित्य हिजो थियो, आज पनि छ र भविष्यमा पनि रहने छ । यसैमा पृथ्वी जयन्तिको सार्थकता रहन्छ भन्ने हाम्रो मान्यता हो, सन्देसमा भनिएको छ

तपाईको प्रतिक्रिया