नेपालको आन्तरिक मामलामा चिनिया हस्तक्षेपको संकेत

पछिल्लो केही बर्ष यता नेपालको आन्तरिक मामलामा चिनियाँ हतक्षेपको संकेत मात्र देखिएको छैन नांगो नाँच नै शुरु भएको जो कोहीले अनुभव गर्न थालेका छन् ।
वान वेल्ट वान रोडको योजना अनुसार नेपाललाई विस्तारै आफ्नो प्रभावमा पार्न चीनले अनेकौ उपायको अवलम्बन गर्दै आएको समेत स्पष्ट संकेतहरु देखिन थालेको छ । नत्र उसले नेपालको पछिल्लो घट्ना क्रमबाट विकसित राजनीतिमा आफ्ना संयन्त्रहरु परिचालित गर्ने थिएन । भारतले नेपालमा विकसित राजनीतिक घट्ना क्रमलाई आफूहरुले नोट गरेको र नेपालको आन्तरिक मामलालाई नेपालले आफै सल्टाउन सक्ने बताइरहँदा चीनले भने आफ्ना उच्च पदस्थहरुलाई ग्राउन्डमै खटाएर नियाल्नुलाई शुभ संकेतको रुपमा मान्न सकिदैन ।
नेपालमा पौष ५ गतेदेखि विकसित राजनैतिक घट्ना क्रम र नेकपाको सरकार बनेसँगै चिनियाँहरुको चलखेल ह्वात्तै बढेको छ । नेपालस्थित चिनियाँ राजदूत नेकपाका नेताहरुलाई सामान्य प्रोटोकलको समेत वेवास्ता गर्दै रातारात भेटघाटमा जुट्नुले के कुराको संकेत गर्छ त ? विगतमा नेपाल मामलामा चीनले उति साह«ो हस्तक्षेप गरेको थिएन । उसले आफ्नो सुरक्षामा मात्र चासो राख्दै आएको थियो । खास गरेर नेपालमा तिब्बती शरणार्थीहरुको चलखेल, उनीहरुले गर्ने चीन विरुद्धका प्रदर्शन लगायतका सवालमा उसले चासो व्यक्त गर्ने गरेको थियो । तर हाल उसले आन्तरिक मामलामै गहिरो चासो राख्नुलाई राम्रो मान्न सकिदैन । पूर्व एमाले र पूर्व माओवादी एकीकणका लागि चिनियाँ राजदूत हाउ याङ्गछीले निर्वाह गरेको भूमिका र संसद विघटनसँगै पार्टीमा आएको फुटमा याङ्गछीले देखाएको थप चासो र सक्रियताले नेपालमा चिनियाँ हस्तक्षेपको नांगो नृत्य देखिन थालेको छ ।
राजदूत याङ्गछीबाट नेपालको पछिलो राजनीतिक घट्नाक्रम, नेकपामा आएको विभाजनमा वेइजिङ्गलाई वास्तविक र यथार्थ सूचना उपलब्ध गराउन नसकेपछि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौ र महानिर्देशक छुई यान सहित चार सदस्यीय टोली नेपाल आएको छ । उनीहरु नेपालमा चार दिनसम्म बसेर नेकपाका सत्ता पक्षका नेता र सडकमा धर्ना दिँदै आएका सत्ता बाहिरका नेताहरुसँग भेटघाटमा व्यस्त भयो । आइतबार आएर उनीहरु बुधबारसम्म बसेका थिए । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीको विभाजन लगत्तै चिनियाँ कम्युनिस्ट पार्टीको उच स्तरीय टेलीको यो पहिलो भ्रमण हो । यस भन्दा अगाडि चिनियाँ सेनाका प्रमुखले झण्डै १२ घण्टा नेपालको भ्रमण गरेर फर्किएका थिए । नेकपाको सरकार गठन भएसँगै सरकार चीनतिर ढल्किएको कुटनैतिक बृत्तबाट आरोप लाग्दै आएको थियो । आरोप प्रमाणित पनि हुँदै आएका छन । नेपाल र चीनको कम्युनिस्ट पार्टी बीचमा एक प्रकारको भाइचाराकै सम्बन्ध स्थापित भएको थियो ।
घट्नाक्रमलाई नजिकबाट नियाल्नेहरु भन्छन् विगतमा कहिल्यै नभएको नेकपाको स्कुल विभाग र चीनको अन्तर्राष्ट्रय विभागका तर्फबाट काठमाण्डौमा एउटा वृहत कार्यशाला नै सम्पन्न भएको थियो । यस कार्यशालालाई लिएर कुटनैतिक वृत्तमा आलोचना समेत भएको थियो । कार्याशालामा चिनियाँ राष्ट्रपति सिजिङ्गपिङ्ग पथका सम्बन्धमा वैचािरक छलफल, प्रशिक्षण भएको थियो । कार्यशाला सम्पन्न भएपछि चिनियाँ राष्ट्रपति नेपालको भ्रमणमा बडो उत्साहित भएर आएका थिए । उनको स्वागतमा नेपालको नेकपाको सरकारले कुनै कसर बाँकी राखेन, तीनकुनेमा रातरात वनावटी बगैचा तयार पारियो, सडक किनारमा हरिया दुवो रोपियो, सडक बत्तीको त्यसै प्रकारले व्यवस्था गरियो, विद्युत पोलहरुमा स–साना होडिङ्ग बोर्डहरु झुण्ड्याइए । अझ नेपाल र भारत बीचमा लिम्पियाधुरा, लिपुलेक, कालापानीको विषयमा चिनियाँ राजदूत होउ याङ्गछीको उक्साहट हेर्न लायक थियो । नेपालमा दुई तिहाईको कम्युनिस्टको सरकार बनेपछि उसले आफ्ना हरेक योजनाहरु अगाडि बढाउने योजना बनाएको थियो । नेकपाभित्रको विवाद क्षणिक भएको र आफ्ना राजदूतको सक्रियताले निरुपण हुने विश्वास उसले लिएको थियो तर एक्कासी संसद नै विघटन भई नेकपाको एउटा खेमा सत्तामा र अर्काे खेमा सडकमा आएपछि चीन वास्तवमै अत्तालिएको छ । यति चाडै संसद विघटनको राजनैतिक घट्नाक्रम अगाडि बढ्ला भन्ने उसले सोचेको समेत थिएन ।

तपाईको प्रतिक्रिया