फुस्रेमा चहलपहल बढाउन स्थानीयहरु सक्रिय बने

धरान÷राणाकालीन समयमा पूर्वाञ्चलको मुख्य व्यापारिक केन्द्र रहेको धरान उपमहानगरपालिका–१३ स्थित फुस्रे बजारको ऐतिहासिकतालाई उजागर गर्न यतिबेला स्थानीयबासी जुटेका छन् । कोसी राजमार्ग सञ्चालनमा आएपछि यातायातको पहुँच पूर्वी पहाडी जिल्लाहरुमा सोझै पुग्न थालेपछि मृत बजारको रुपमा इतिहासमा सिमित हुन पुगेको बजारको पूरानो साख फर्काउन उनीहरु जुटेका हुन् ।
राणाकालीन समयमा राणाहरुले पूर्वमा खाद्यान्य पु¥याउन धरान उपमहानगरपालिका–१३ स्थित फुस्रेमा गोदाम घर स्थापना गरेका थिए । गोदाम घर निर्माण भएपछि करिब वि.स २०३५ सालसम्म फुस्रे बजारमा व्यापारिक चहल पहल धेरै नै थियो । स्थानीय स्वर्गीय
रामजी श्रेष्ठको पहलमा फुस्रे बजारको स्थापना भएको थियो । त्यसबेला पूर्वी पहाडी भेगका मानिसहरु दुई तीन दिनको पैदलै हिडेर डोकोमा बोकेर कृषिजन्य सामग्री यही बजारमा ल्याएर विक्री गर्दथे भने दैनिक उपभोग्य बस्तुहरु खरिद गरेर लिएर जाने गर्दथे । तर, यो बजार अहिले सुनसान छ । करिब ४० वर्ष अगाडी कोशी पहाडी राजमार्ग सञ्चालनमा आएपछि पहाडी क्षेत्रमा यातायातको विस्तार हुन थालेपछि व्यापारिक केन्द्रको रुपमा रहेको फुस्रे बजार विस्तारै सुनसान बन्दै गएको हो । तर, यो फुस्रे बजारलाई पुर्नजिवित बनाउन यतिबेला स्थानीय सरकार, स्थानीयबासी जुटेका छन् । फुस्रे चोकमा व्यापारिक ऐतिहासिकता झल्किने गरी फुस्रे चोक सौन्दर्यकरण पार्क निर्माण भएपछि फुस्रेका स्थानीय हर्षित छन् । स्थानीय सुधिर महर्जनले ऐतिहासिकता झल्किने
गरी फुसे्रमा पार्क बनेपछि फुस्रेको चहलपहल बढ्नेमा आशा व्यक्त गर्नुभयो । फुस्रेमा पार्क निर्माण धमाधम हुन थालेपछि मृत भएको फुस्रेले पुनर्जीवन पाउने स्थानीय देवेन्द्र श्रेष्ठको समेत भनाई छ ।
फुस्रे छेवैमा रहेको सर्दुजलाधार क्षेत्रलाई वीपी पार्कको रुपमा विकास गरेपछि केही चहलपहल बढेको फुस्रे बजारमा पार्क निर्माण भएपछि फुस्रे बजारको पुरानो साख फर्किनेमा स्थानीयहरुले विश्वास लिएका छन् । फुस्रेको ऐतिहासिकता बारेमा नयाँ पिढीलाई चिनाउन र सुनसान बनेका फुस्रेलाई पर्यटकीय हब बनाउने परिकल्पनाका साथ पार्क निर्माण गरिएको फुस्रे चोक सौन्दर्यकरण उपभोक्ता समितिका अध्यक्ष गौतम श्रेष्ठले बताउनुभयो ।
धरान उपमहानगरपालिकाको १४ लाख ४० हजार र स्थानीयको ३ लाख ६० हजार गरी १८ लाखको लागतमा पार्क निर्माण गरिएको हो । स्थानीय मूर्तिकार धिरज राईले कलात्मक ढंगले मुर्तीहरुको निर्माण गर्नुभएको छ । त्यहाँ पहाडी भेगबाट झरेका कृषक, तराइबाट आउने व्यापारी र स्थानीय व्यापारीहरुको मुर्र्तीहरुसहित धरानको खानेपानीको मुख्य स्रोत सर्दु जलाधार क्षेत्र झल्किने आकृति समेत निर्माण गरिएको छ । फुस्रेको ऐतिहासिकतालाई फर्काउन स्थानीयको सहयोगमा स्थानीय सरकार लागि परेको धरान १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताउनुभयो ।
यसै वडाका स्थायी बासिन्दा समेत रहनु भएका प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले पार्कको निर्माण भएपछि अब फुस्रे बजारले पहिलाको साख फर्काउने विश्वास व्यक्त गर्नुभयो । पछिल्ला समयमा फुस्रेलाई आन्तरिक पर्यटकीय हबको रुपमा विकास गर्न विभिन्न पार्कहरु निर्माण भइरहेका छन् । फुस्रे चोकमा पार्क निर्माण भएपछि फुस्रे बजार पर्यटकीय गन्तव्य बन्ने कुरामा धरानबासी निश्चिन्त देखिन्छन् ।

तपाईको प्रतिक्रिया