संखुवासभा÷संखुवासभा जिल्लाको चैनपुर–४ मैदानेमा शनिवार राति प्रहरी र नेकपा नेत्रविक्रम चन्द समूहका कार्यकर्ताबीच दोहोरो भीडन्त भएको, दुवै पक्षबाट गोली प्रहार भएको र ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको भन्ने समाचारको चन्द समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्माले खण्डन गरेका छन् ।
प्रवक्ता विश्वकर्माले आइबार एक विज्ञप्ती प्रकाशित गरी प्रहरी र चन्द समूहका कार्यकर्ता बीचमा कुनै भिडन्त नभएको सुरक्षा निकायप्रति कुनै आक्रमणको नीति नरहेको अवस्थामा परिस्थितिलाई उकास्ने, उत्तेजित बनाउने र दमन गर्ने नीति राज्यको रहेको भन्दै यही नीति कायम रहेमा सशक्त प्रतिकार गर्ने चेतावनी समेत दिएका छन् ।
प्रवक्ता विश्वकर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ मैदानेमा भिडन्त भएको भनिएको हल्ला निराधार हो । पार्टीका जिल्ला सेक्रेटरी युवराज राईको घरमा एक्कासी प्रहरी गएर परिवारका सदस्यमाथि र स्थानीय सर्वसाधारणमाथि सांघातिक रुपमा कुटपिट भएको छ ।
राईकी बहिनी चन्द्रकला राईमाथिको कुटपिटले उनको ढाँड भाचिएको र अचेत अवस्थामा पु¥याएको भन्दै घट्नाको घोर निन्दा र भत्सर्ना समेत गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय संखुवासभाले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरी विप्लव कार्यकर्ता र प्रहरी बीच भिडन्त भएको र त्यस क्रममा प्रहरीतर्फबाट १२ राउण्ड गोली चलेको जनाएको छ । उसले ठूलो मात्रामा विस्फोटक पदार्थ समेत बरामद गरेको जानकारी दिएको थियो ।
