धरान÷धरानमा भट्टराई कुल देवताको मन्दिर निर्माण हुने भएको छ । धरान उपमहानरपालिका वडा नं १४ को दुईधारेमा झण्डै एक करोडको लागतमा मन्दिर निर्माण हुने भएको हो ।
भट्टराई कुल वंश प्रतिष्ठानका जिल्ला कार्य समितिका सचिव प्रा. भवानी शंकर भट्टराईले दिनुभएको जानकारी अनुसार भट्टराई कुल मन्दिर निर्माणका लागि तदारुकताका साथ काम भइरहेको छ । यसका लागि कमल भट्टराईको संयोजकत्वमा निर्माण समिति गठनसँगै मन्दिरको डिजाइन समेत तयार भएको छ ।
धरानमा छरिएर रहेका भट्टराईहरुको गत शनिवार भएको सामूहिक गोठ पूजामा विभिन्न निर्णयहरु समेत भएका छन । भट्टराई कुलवंश प्रतिष्ठान धरान उपमहानर समितिको आयोजनामा धरान १५ स्थित नरबहादुर भट्टराइको घरमा सम्पन्न कुलपूजामा सहभागी
भट्टराईहरुले मन्दिर निर्माणलाई पहिलो प्राथमिकता दिएका थिए । यसका लागि धरान उपमहानगर पालिका वडा नं. १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले जग्गा उपलब्ध गराउनु भएको छ ।
यसैगरी समाजको नाममा धरानस्थित मितेरी विकास बैंकमा चल्ति खाता खोली यस भन्दा अगाडि कल एकाउन्टको रकम रेखबहादुर भट्टराई, गंगा भट्टराई र कुवेर भट्टराईको संयुक्त नाममा सञ्चालन गर्ने निर्णय समेत भएको छ । आगामी गोठ पूजा कहाँ गर्ने भन्ने सम्बन्धमा भएको वृहत छलफल पश्चात धरान ६ पानबारी निवासी पिताम्बर–सुशिला भट्टराईकोमा गर्ने, वर्तमान नगर समितिको कार्यकाल समाप्त भई पुनर्गठन गर्नु पर्ने अवस्था भएकोले आगामी गोठपूजाकै अवसरमा नगर समिति पुनर्गठन गर्ने निर्णय समेत भएको थियो ।
सो अवसरमा भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष नारायण भट्टराई, मन्दिर निर्माण समितिका संयोजक कमल भट्टराई, सचिव दिनेश भट्टराई, सुमन भट्टराई, शिव भट्टराई, गोपाल भट्टराई, सन्तोष भट्टराईले समेत मन्दिर निर्माणमा सबै जुट्नुपर्ने बताउनु भएको थियो भने सञ्चालन भवानी शंकर भट्टराईले गर्नुभएको थियो ।
