धरान÷ लामो समयपछि धरान १३ स्थित कृषि उपज बजारमा कोल्ड रुम (चिस्यान घर) सञ्चालनमा ल्याएसंगै कृषक तथा व्यापारीहरुलाई सहज भएको छ ।
प्रदेश १ सरकारसँगको साझेदारीमा निर्माण भएको कोल्डरुम (चिस्यान घर) सञ्चालनमा आएसंगै लामो समयसम्म विक्री नभई रहेको कृषक तथा व्यापारीको कृषिजन्य समाग्री विग्रिने चिन्ताबाट मुक्त भएका हुन् ।
यो कोल्डरुम प्रदेश १ सरकारको ५० लाख सहयोग र कृषि बजारको २५ लाख लागत साझेदारीमा निर्माण भएको हो । कोल्ड रुम निर्माण भएसंगै विक्री नभई लामो समयदेखि राखिएका फलफूल तथा तरकारी त्यसै फ्याक्नु नपर्ने भएको कृषि बजारका व्यापारी शैलेन्द्र साह र दानबहादुर प्रधान बताउछन् ।
नेपालमा सरकार मातहतको सरकारीस्तरका कालीमाटीसहित ११ कृषि बजार रहेका छन् । सरकारी स्तरमा बनेका कृषि बजारमध्ये धरानमा पहिलो पटक कोल्डसेन्टर निर्माण भएको कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराई बताउनुहुन्छ । उहाले भर्खर निर्माण सम्पन्न भएकोले अहिले परीक्षण गरिएको बताउदै सम्पूर्ण कुरा हेरेर राखेको शुल्क तोकिने बताउनुभयो ।
अहिले बजारले परीक्षणको रुपमा कोल्ड रुममा १० टन स्याउ राखेको जनाएको छ । कोल्ड रुममा ६ देखि ८ महिनासम्म स्याउ राख्न सकिनेछ । निर्माण भएको कोल्डरुमको क्षमता ७५ टनको रहेको बताउदै उहाँले पहिलो चरणको कोल्डरुम उपयोगी र सफल भएमा थप २ चरणमा गरी ३ सय टन क्षमताको कोल्डरुम बनाइने बताउनुभयो ।
प्रदेश सरकार र स्थानीय सरकारको सहयोगकै कारण धरानको कृषि उपज बजार सातौ पटकसम्म उत्कृष्ट बजार भएको छ । कृषक र व्यापारीकै सुविधाका लागि सञ्चालन भएको कृषि बजारमा अझै धेरै सेवा सुविधा सम्पन्न बनाउदै लगिने
धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्रप्रसाद काफ्लेले बताउनुभयो ।
कोल्ड रुम निर्माण भएपछि कृषक तथा व्यापारीहरु लाभान्वित हुने निश्चित छ । समयमै विक्री नहुदा पनि लामो समयसम्म कोल्डरुममा राखेर फलफूल तथा अन्य कृषिजन्य सामाग्री विक्री वितरण गर्न सकिने भएकोले पनि कृषक तथा व्यापारीहरु खुशी देखिएका छन् ।
