धरान÷ सहरको बीच भागमा दुर्घन्धित स्थान । धरान उपमहानगरपालिका वडा नं. २ र ३ को सीमानामा रहेको दोभान चौक जसलाई माछा भौडी भन्ने गरिएको छ । व्यस्त बजारको बीच भागमा रहेको यो स्थानमा बाटो हिड्ने दुर्गन्धका कारण नाक नथुनी हिड्नै सक्दैनन तर त्यही ठाउमा अहिले
रमणीय पार्क बन्न थालेपछि बर्षोदेखि दुर्घन्ध सहेर बस्न बाध्य स्थानीयहरु त हर्षित छदैछन् धरानका सर्वसाधारण समेत पार्क निर्माण सम्पन्न भएपछि पर्यटकीय स्थल बन्ने आशावादी बनेका छन् ।
धरान २ र ३ वडामा रहेको दोभान चौकको माछा भौडी धरानमा बस्ने सर्वसाधारणका लागि नौलो नाम भने होइन । माछा भौडी भन्ने वित्तिकै धरानका सर्वसाधारणले दुर्गन्धित स्थानको रुपमा लिने गरेका छन् । बजारको बीचमा भएको भौडीबाट बर्षादको समयमा ठूलो पानी बग्दा धेरै दुर्घटनाहरु भएका छन् । अब त्यस स्थानमा धरान उपमहानगरपालिकाले गौरवको आयोजना अन्तर्गत पार्क निर्माण कार्य शुरु गरेपछि त्यस वडाका बडाबासीमात्र हैन धरानका सर्वसाधारण हर्षित बनेका छन् ।
माछा भौडी अर्थात दोभानचौकमै जन्मनु भएका सुवोध पाख्रिन र उत्तरकुमार गुरुङको कैयो पुस्ता यही माछा भौडीमा वित्यो । विगतमा सानो खोल्सो बर्षाद्का कारण ठूलो भौडी भयो, बढ्दै जादा खोल्साको रुप धारण ग¥यो, यसलाई सबैले डम्फिन साइडको रुपमा प्रयोग गर्न थालियो । अब भने पार्क निर्माणले आकर्षक पर्यटकीय स्थल बन्ने उहाहरुको बुझाई छ ।
उपमहानगरपालिकाले माछा भौडीलाई पार्कका रुपमा विकास गरेर अगाडि लाने योजना अगाडि सारेर निर्माण कार्यलाई समेत निरन्तता दिएको छ । पार्क निर्माण भएपछि स्थान अभावका कारण रमाउन नपाएका बालबालिकालाई सहज हुने स्थानीय सुदिप पाख्रिन बताउनुहुन्छ ।
धरान उपमहानगरपालिकाका तत्कालीन नगर प्रमुख स्वर्गीय तारा सुब्बाले आफू निर्वाचित भएर आएपछि नगर गौरव योजना अन्तर्गत माछा भौडीलाई पार्कका रुपमा विकास गरेर अगाडि लाने योजना अगाडि सार्नुभएको थियो । पार्कमा बाल उद्यान, बृद्ध मिलन केन्द्र, विभिन्न साहित्यिक, सांस्कृतिक कार्यक्रम गर्ने थलोको रुपमा विकास गर्ने उद्देश्य रहेको धरान ३ का वडा सदस्य विकास वनेपाली बताउनुहुन्छ ।
गत वर्षदेखी निर्माण सुरु भएको पार्कमा हालसम्म उपमहानगरको १ करोड ७ लाख खर्च भइसकेको छ । चालु आर्थिक वर्षमा उपमहानगरले ५५ लाख छुट्याएको बजेटमा पूजा निर्माण सेवाले निर्माण गरिरहेको छ । ३ वर्ष भित्रमा सक्ने लक्ष्य रहेको छ । उपमहानगरले नगर भित्र रहेका यस्ता अन्य खोल्सा खोल्सीलाई पनि सदुपयोग गदै यस्तै पार्कको रुपमा विकास गर्न सके दुर्घटना जोखिम न्यूनिकरण हुनुको साथै रमणिय पर्यटकीय स्थलको विकास हुनेमा दुई मत छैन ।
