धरान÷धरानका साहित्यिक चिन्तक, लेखक, बौद्धिक व्यक्तित्व एवम् वामपन्थी राजनीतिज्ञ कृष्णप्रसाद श्रेष्ठ (विए) को आइतबार निधन भएको छ ।
वि.सं. १९९१ साल मंसिर २३ गते जन्मनु भएका श्रेष्ठले आजीवन साहित्यिक चिन्तन गर्नुभयो । उहाँले कृतिका रुपमा कुनै पुस्तक प्रकाशित गर्नुभएको त छैन तर उहाले लेखेका दर्जन भन्दा बढी राजनैतिक लेख, कविताहरु विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका छन् ।
धरानको विजयपुरमा जन्मिए पनि वि.सं. १९९० सालको भुकम्पपछि उहाँको परिवार धरानको वडा नं. १ मा सरेको थियो । वि.सं. २००३ सालमा धरानका बौद्धिक समाजले पब्लिक हाइस्कुल स्थापना गर्ने उद्देश्य अनुरुप काम अगाडि बढाउँदा उहाँका पिताजी गणेश प्रसाद श्रेष्ठ (काइला साहु) ले अढाइ कट्ठा जग्गा दान दिनुभएको थियो । आजको धरानको चर्चित सामुदायिक पब्लिक हाइस्कूल सोही जग्गाको जग हो । स्व. कृष्णप्रसाद श्रेष्ठका भाई चन्द्रप्रसाद श्रेष्ठ (चन्द्र सर) भन्नुहुन्छ वि.सं. २००६ सालमा पब्लिक हाइस्कूलबाटै कृष्ण प्रसाद श्रेष्ठले प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । एसएलसी पश्चात थप अध्ययनका लागि उहाँ कलकत्ता जानुभयो र विए पास गरेर फर्कनु भयो । त्यसबेलासम्म धरानमा विए पास गर्ने कोही थिएनन् । त्यसैले उहाँलाई
धरानमा कृष्ण प्रसाद श्रेष्ठ (विए) को नामले चिनिन थालियो ।
कलकत्ता अध्ययनका क्रममा उहाँ वामपन्थी विचारबाट प्रभातिव हुनुभयो । अध्ययन पश्चात धरान आएर उहाँले पहिला कृष्णजंग रायमाझीको कम्युनिस्ट पार्टीको संगठन विस्तार गर्नुभयो । तर पछि रायमाझी खेमा दरबार निकट भएपछि उहाँ विष्णुबहादुर मानन्धर ग्रुपमा लाग्नुभयो । मानन्धर ग्रुपमा उहाँ उच्च ओहोदामै पुग्नु भएको
थियो । भाइ चन्द्रप्रसाद श्रेष्ठ भन्नुहुन्छ मानन्धर ग्रुपमा उहाँ पोलिट्व्युरो सदस्य हुनुहुन्थ्यो । त्यसैबेला उहाँ साउथ एशिया प्यासेफिक पिस काउन्सिलकोे सदस्य बन्नुभयो । काउन्सिलकै माध्यमबाट उहाँले संसारका ३० भन्दा बढी देशको भ्रमण समेत गनुभएको थियो । वि.सं. २०१६ सालमा धरान नगरपालिकाको पहिलो पटक भएको निर्वाचनमा वडा नंं १ बाट अध्यक्षमा निर्वाचत हुनुभयो । नगर प्रमुखको रुपमा केदारनाथ खनाल निर्वाचित हुनु भएको थियो । तर खनाललाई सरकारले ललितपुर जिल्लाको मजिष्ट्रेट (सिडियो) बनाएपछि रिक्त हुन पुगेको नगरपमुखको जिम्मेबारी श्रेठले सम्हाल्नु भएको थियो । अर्थात उहाँ कावा नगर प्रमुख भएर काम गर्दै गर्दा वि.स. २०१७ सालमा पञ्चायतको प्रार्दुभावसँग त्यो विघटन भएको थियो । उहाँको सयन कक्षमा संसारमा चर्चित लेखकदेखि नेपालका हरेक लेखकका पुस्तकहरु व्यवस्थित रुपमा राखिएका छन् । हरेक समय उहाँ पुस्तक अध्ययनमै देखिनुहुन्थ्यो । उहाँका दुई छोरा तीन छोरी र श्रीमति हुनुहुन्छ ।
