धरान÷ ‘रिन्केबुङको राँगालाई चुंकेबुङको चुलेसीले’ भन्ने मार्मिक लोकगीत नसुन्ने सायदै कमै होलान् । बाल्यकालदेखि नै सारंगीको धूनमा नेपालको भूगोल, संस्कृति, जनजीवनका यथार्थ कुराहरु समेटेर गीत गाउने उनै सुरेश गन्धर्व अहिले विरामी अवस्थामा हुनुहुन्छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा रहनु भएका गायक गन्धर्वलाई राज्यले राष्ट्रको गहनाको रुपमा लिए सहयोग भन्ने गरेको छैन ।
उनले आफूले थाहा पाएदेखि अर्थात बाल्यकादेखि नै पूर्वेली लोकमा आधारित मानिएको गाउघरका वास्तविकतालाई समेटेर धेरै गीतहरु गाउनुभयो । गीतकै माध्यमबाट उहाले देश विदेशलाई चिनाउनुभयो । अहिले उनै गायक विरामी परेर थला परे पनि राज्यका तीनै तहका सरकारले वेवस्ता गरेको छ ।
अन्य गीत भन्दा रिन्केबुङको चुलेसीले भन्ने गीत धेरै चर्चित भयो । विरामीकै अवस्थामा पनि उहाले आफ्नै निवासमा सोही गीत गाउदा उहालाई त्यो गीतप्रति कति मोह रहेछ भन्ने प्रष्ट पार्छ ।
मुटु, मधुमेह, थाइराइड, उच्च रक्तचाप र युरिक एसिडजस्ता दीर्घरोगले विगत सात वर्षदेखि थलिएका गायक गन्धर्वले सर्जकको रुपमा काम गरे पनि आर्थिक उपार्जनमा भरपर्दो साथ नभएको र विरामीको अवस्थामा सहयोग अपेक्षा राख्न्ुहुन्छ ।
अर्काको घरको कोठा भाडामा एक श्रीमती, छोराछोरी र नातीनातिनासहित बस्दै आएका उनको मुटुको भल्ब फेर्नु पर्ने चिकित्सकहरुले बताएका छन् । उहाको सम्पत्तिको नाउमा सारंगीबाहेक केही छैन ।
६५ बर्षीय गायक गन्धर्व ०४९ सालमा भोजपुरको जरायोटार माङ्दीमबाट बसाई सरेर धरान झरेपछि सडक, चौतारी, चोक गल्ली र विभिन्न कार्यक्रममा सारंगीको सुरुमा गीत सुनाउनुहुथ्यो । त्यहीबाट उहाले परिवारको गुजारा चलाउने काम बाहेक गीत संगीतमा अरु केही नगरेको गन्धर्व सुनाउनुहुन्छ ।
स्थानीय, प्रदेश र संघीय सरकारले कला संस्कृतिका जगेर्ना गर्न प्रज्ञा प्रतिष्ठान खोलेका छन् । प्रदेश नं. १ मा पनि प्रदेश सरकारले र स्थानीय तहमा धरान उपमानगरपालिकाको मातहतमो धरान प्रज्ञा प्रतिष्ठान छ तर पनि यस्ता प्रतिष्ठानहरुले यस्ता सर्जकलाई खासै सहयोग गर्न सकेको छैन । तथापि धरान प्रज्ञा प्रतिष्ठानका अध्यक्ष अम्बिका सम्बाम्फेले लोकगीतका पुराना सर्जक सुरेश गन्धर्वलाई तीन तहकै सरकारले सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।
यता संस्कृतिविद् प्रा.डा. टंक न्यौपानेले राष्टूका सर्जक कलाकार, साहित्यकार, गायकहरुले राज्यको सहयोग नपाई दुःख कष्टपूर्ण जीवन विताउनुपरेको घट्ना धेरै भएको बताउनुहुन्छ । संस्कृतिका जगेर्ना गर्दै यस्ता सर्जकको जीवनयापनसंगै अन्य कुरामा साथ दिन आफूहरुले प्रदेश सरकारमा विद्येयकका रुपमा लान प्रदेश सरकारलाई खेस्रा बनाएर दिएको बताउनुभयो । आफूहरुले समेटिएका कुरालाई प्रदेश सरकारले कानुनी रुपमा अगाडि बढाएमा यस्ता सर्जकहरुले जीवनयापनकै लागि तड्पिएर बस्नु नपर्ने उहा बताउनुहुन्छ । उहाले प्रदेश सरकारमा समेत प्रज्ञा प्रतिष्ठान नबनिसकेको अवस्थामा सुरेश गन्धर्व धरानकै बासिन्दा भएकाले स्थानीय सरकार धरान उपमहानगरपालिकाले हाललाई सहयोग गर्नुपर्ने बताउनुभयो ।्
पुराना गायकहरु समेत अहिले सर्जकहरुलाई राज्यले वेवास्ता गर्ने गरेको बताउछन् । पुराना गायक गंगा बरदानले यस्ता धरोहरलाई राज्य आर्थिकोपार्जनको बाटो मिलाउदै राज्यले प्रयोग गरेर कलाको पुस्ता हस्तान्तरण गर्न सके सर्जकको सही सम्मान हुने तर्क राख्नुहुन्छ ।
राज्यले चिन्न नसकेको यस्ता सर्जकहरुको गीत नया पुस्ताहरुले गाइदिएपछि भने अहिले सरकारलाई यस्ता सर्जकलाई केही गर्नुपर्छ भन्ने दबाब जनस्तरबाटै भएको छ । केही समय अगाडि गायक गन्धर्वल गाएको र पछि उदय(मनिला सोताङले पनि गाएको ‘वारिखोला पारिखोला बीचैमा पापी दोभान’ र ‘रिन्केबुङको रागालाई चुंकेबुङको चुलेसी’ भन्ने गीत रमेश प्रसाइले गाइदिदा अहिले उहाको उचाई अझ बढेको सर्वसाधारणको भनाई छ । यस्ता राष्टूका सर्जकलाई राज्यले सहयोग गर्दै उहामा भएका प्रतिभाको पुस्ताहन्तरण गर्न सकेमात्र सर्जकको सही मुल्यांकन र सम्मान हुन्छ । राज्यको गहना भनेर भन्ने अनि सर्जकको सम्मानमा केही नगर्ने संस्कृति अब राज्य सरकारले तोड्न आवशयक भइसकेको छ ।
