यो बर्ष कृषकले सोचे अनुसारको धान उत्पादन गर्न सकेनन्

धरान÷ कृषकले समयमा मल विउ नपाउदा बर्षेनी धान उत्पादनमा कमी आउदा कृषकहरु चिन्तित छन् । सुनसरीको धरान उपमहानगरपालिका(६ स्थित पानबारीमा यस वर्ष पनि कृषकले सोचे जस्तो धान उत्पादन गर्न नसक्दा कृषकहरु निरास बनेका हुन् ।
गत वर्ष फौजी किराका कारण प्रशस्त धानउत्पादन गर्न नसकेका धरान उपमहानगरपालिका–६ पानबारीका कृषकहरुले यस वर्ष किराको प्रकोप भन्दा पनि समयमा मलविउको अभाव र अत्याधिक बर्षाका कारण सोचे जस्तो धान उत्पादन गर्न नसकेकोमा चिन्तित छन् । गतवर्ष भन्दा यस वर्ष धान उत्पादनमा केही बृद्धि भएपनि विगतका वर्षहरु जस्तो उत्पादन नभएको धरान ६ का स्थानीय कृषक रामप्रसाद राई बताउछन् ।
पानबारीमा कृषकले लगाएको धानबाली सोचे अनुसार उत्पादन नहुँदा मेहेनतमात्र खेर भएको अर्का कृषक राजकुमार लिम्बुको प्रतिक्रिया छ ।
कृषिप्रधान देश नेपाल भनिए पनि सरकारले कृषकलाई समयमा मलविउ उपलब्ध गराउन नसक्दा कृषकले समयमै उत्पादनगर्न सक्दैनन । यसको नियति अहिले कृषकहरुले भोग्नुपरिरहेको कृषक खड्ग बहादुर पौडेलको गुनासो छ । यता स्थानीय सरकार धरानउपमहानगरपालिकाले कृषिपकेट क्षेत्र घोषणा गरेपनि कृषकको समस्यामा चासो दिएको पाइदैन । धरान उपमहानगरपालिका ६ का वडाध्यक्ष भुवन बस्नेतले उपमहानगरले कृषिपकेट क्षेत्र घोषणा गरे पनि कृषि क्षेत्रमा प्रसस्त बजेट उपलब्ध गराउन नसकेको स्विकार्नुभयो ।
वडा कार्यालयकाअनुसार पानबारी क्षेत्रमा करिब ५ विगाहा क्षेत्रफलमा धान खेती हुने गरेको छ । करिब ७ सय घर परिवार कृषि पेशामा आश्रित छन् । कृषिपकेट क्षेत्र घोषणा गरेको स्थानमा उपमहानगरले चासो दिई कृषकको जिवन स्तर उकास्नमा योजना अघि सारे उपमहानगरले पकेट क्षेत्रमा लिएको नीति सफल हुनेमा दुई मत छैन् । यसतर्फ उपमहानगरको ध्यान केन्द्रित हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया