मापदण्ड विपरीत सेनिटाइजर उत्पादन गर्ने उद्योगलाई कारबाही

धरान÷ मानव स्वास्थ्य मापदण्ड विपरित स्यानिटाइजर बनाउने मोरङ,सुनसरीका सहितका ६ कम्पनीलाई औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाएको छ ।
औषधि व्यवस्था विभागले स्वास्थ्य मापदण्ड विपरित मेथानोलको प्रयोग गरी स्यानिटाइजर उत्पादन गरेको पाइएपछि त्यस्ता कम्पनीलाई विभागले प्रतिबन्ध लगाएको हो ।
विभागले नमूना सङ्कलन गरी राष्टिूय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजर सम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाइन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिनु भएको छ ।
सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ । यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको हो । यसअघि पनि विभागले विभिन्न कम्पनीले उत्पादन गरेका गुणस्तरहीन स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।

तपाईको प्रतिक्रिया