प्रतिष्ठानभित्र भएको भ्रष्टाचार, वेथिति विरुद्ध धरानेहरुले गरे विरोध

धरान÷ कोरोना महामारी बढ्दै जादा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वेतिथि बढेको भन्दै धरानेहरुले स्वस्फूर्त रुपमा वेतिथि हटाउन माग गर्दै अवधारण पत्र प्रतिष्ठानलाई बुझाएका छन् ।
कोरोना संक्रमितको संख्या बृद्धि हुदै जादा प्रतिष्ठानमा उपचारका लागि जाने विरामीहरु भेन्टिलेटर नपाएर मृत्यु वरण गर्नेको संख्या बढ्दै गएको भन्दै कोरोना अस्पताललाई व्यवस्थित गर्दै प्रतिष्ठानमा भएको बेथिति, भ्रष्टाचार रोक्न उनीहरुले माग गरेका छन् ।
प्रतिष्ठानमा विरामीको उपचारमा लापार्बाही बढेको, वेथिति र भ्रष्टचारले जरा गाडेको भन्दै कार्तिक १३ गते सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाको संयोजकत्वमा धरानका २० वटै वडाका अध्यक्ष, प्रवुद्ध व्यक्तित्वहरु सम्मिलित १ सय १ सदस्यीय बीपी प्रतिष्ठान सुधार दबाब समिति गठन गरेर उनीहरु क्रियाशिल बनेका हुन् ।
कोरोना संक्रमितको संख्या बृद्धि हुदै गएपछि उपचार राम्रो नभएकै कारण बीपी प्रतिष्ठान हाताभित्र सञ्चालित कोरोना अस्पतालमा ज्यान गुमाउनेको संंख्या बढ्न थालेपछि धरानेहरु एकजुट भइ प्रतिष्ठानको अराजकता, वेथित र भ्रष्टाचार विरुद्ध लागेका हुन् ।
अवधारणा पत्र बुझाउदै दबाब समितिका सह संयोजक ्प्रा.डा. राजेन्द्र शर्माले प्रतिष्ठानका चार जिम्मेवार पदाधिकारीबीचको बेमेल, कोभिड अस्पतालमा भेन्टिलेर नपाइ विरामीले मृत्युवरण गर्नुृपर्ने अवस्था, अख्तियारमा भ्रष्टाचारसम्बन्धी मुद्दा पर्नुका साथै अन्य वेथिति विसंगति बढेको व्यापक चर्चा चल्न थालेपछि विरोध नभई सुझावको रुपमा आफूहरुले अवधारणा पत्र बुझाएको बताउनुभयो ।
१० बेडको भेन्टिलेरसहित १ सय वेडको कोभिड अस्पतालमा पछिल्लो समय उपचार राम्रो नभएकै कारण मृत्युवरण गर्नुपरेको विरामीका आफन्तले गुनासो गर्ने गरेका कारणपनि प्रतिष्ठानलाई सुधारका लागि दबाब दिन समिति निर्माण गरिएको समितिका सदस्य सचिव महेश श्रेष्ठले बताउनुभयो । उपचार नपाएकै कारण अहिले कोभिडका विरामीहले मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएकोले यस्तो अवस्था नआउन प्रतिष्ठानका पदाधिकारी गम्भीर भएर लाग्न उहाले आग्रह गर्नुभयो ।
भेन्टिलेर अभावकै कारण हालसम्म प्रतिष्ठानमा उपचारमा आएका ८० जनाले ज्यान गुमाइ सकेका छन् । शुरुका दिनमा पदाधिकारीहरुको वेमेलका
कारण प्रतिष्ठानमा सुधार गर्न नसकिएको अवधारणा पत्र बुझ्न सामेल हुनुभएका चार जना पदाधिकारी प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा. गैरीशंकर साह, कुलसचिव डा. मोहनचन्द्र रेग्मी र शिक्षाध्यक्ष प्रा.डा. गुरु खनालले स्वीकार्नु भएको थियो । प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले शुरुका दिनमा पदाधिकारीवीच वेमेलको अवस्था सिर्जना भए पनि अब त्यो नरहेको स्पष्ट पार्नुभएको थियो । उहाँले बीपी सुधार दबाब समितिले आफूहरुलाई दबाब सिर्जना गरेको भन्दा पनि सुधारात्मक कुराहरु समेटेर अवधारणापत्र आफूहरुलाई बुझाएको बताउनुभयो । उहाँले यही अवधारणा अनुरुप काम गर्ने बताउनुभयो ।
सिनेटर संयोजक रहेको अधिकार सम्पन्न एक अनुगमन समिति गठन गर्नै, एक्सन प्लान तयार गर्न बिशेषज्ञ सहितको समुह गठन गर्न, सामाजिक लेखा परिक्षण गर्न, पिसिआर परिक्षण २४ सै घण्टा चालु गर्न, कोभिड अस्पताल भित्रका व्यवस्था तुरुन्त निराकरण गरी सिसि क्यामेरा र गेटमा मनिटर राख्ने लगायत सुझावहरु सहितको १८ बुदे अवधारणा पत्र प्रतिष्ठानलाई बुझाएको हो । समितिले एक हप्ताको अल्टिमेटमसहित एक हप्तापछि पुनः प्रतिष्ठान र दबाब समूह छलफलमा बस्दा सुधार भएको हेर्न पाउने आशा व्यक्त गरेको थियो भने प्रतिष्ठानले समेत एक हप्तामा धेरै सुधार हुने प्रतिबद्धता जनाएको थियो ।

तपाईको प्रतिक्रिया