संघर्ष समितिद्वारा आइयुडिपीलाई चेतावनी

धरान÷डिपिआर र विगतमा भएका सहमति अनुरुप पानी उत्पादन गर्न असफल र आयोजनामा चरम भ्रष्टाचार गरी संस्थानको पानीका इन्टरकनेक्सन गर्ने, सहमति विपरीत वेल थप्ने र संस्थान कब्जाको मनसायले अगाडि बढेको धरान खानेपानी आयोजना (आयुडिपी) लाई शुक्रबार ठूलो संख्यामा भेला भएका धराने जनताले चेतावनी दिएका छन् ।
शुक्रबार दीर्घकालीन खानेपानी व्यवस्थापन संघर्ष समितिले नेपाल खानेपानी संस्थानको कार्यालयमा पुगेर जनताका सम्पूर्ण मागहरु सम्बोधन नगरी सस्थानलाई छुने दुस्साहस नगर, जनताको अधिकार सुनिश्चित गर, असफल आइयुडिपी चाहिँदैन, संस्थानलाई छुन पाइँदैन, आर्थिक शोषण बन्द गर भन्ने नारा लगाउँदै संस्थानको हाताभित्र कालो व्यानर समेत राखेका छन् ।
उपस्थित भेलालाई सम्बोधन गर्दै सहभागिहरुले आइयुडिपीले वितगमा धराने जनतासँग गरेको ११ बुँदे सम्झौता अनुरुप दैनिक १ करोड ५२ लाख २० हजार लिटर पानी उत्पादन गर्ने र २४ सै घण्टा ४५ हजार घरधुरीलाई ७ मिटरको प्रेसरमा पानी खुवाउने भनिए तापनि उसले ३० लाख लिटर मात्र पानी उत्पादन गर्न सकेको, ट्यांकी बनाउन खरिद गरेको जग्गामा चरम भ्रष्टाचार भएको, पाइप खरिदमा समेत करोडौ भ्रष्टाचार गरेको भन्दै सो को निष्पक्ष छानविन हुनुपर्ने र दोषीमाथि कार्वाही हुनुपर्ने उनीहरुले माग गरेका थिए । उनीहरुले डिपिआर बमोजिम आयोजनाको निर्माण र पानीको वितरण गर्न नसक्ने स्पष्ट भइसकेको अवस्थामा संस्थानले प्रयोग गर्दै आएको पानीमा इन्टरकनेक्सन गर्ने कार्य तत्काल बन्द गर्नुपर्ने पनि माग गरेका थिए ।

तपाईको प्रतिक्रिया