धरान÷साँस्कृतिक जागरण गर्ने उद्देश्यले ‘विश्वव्यापी अनलाइन यलम्बर संगित प्रतियोगिता’को अडिसन सुरु भएको छ ।
किरात राई साँस्कृतिक कलाकार संघको आयोजनामा छैठौं संस्करणको सो प्रतियोगिताको अडिसन सुरु भएको हो । प्रत्येक वर्षको जेष्ठ २२ गते संघले आफ्नो स्थापना दिवशको अवसरमा प्रतियोगिता आयोजना गदै आएको थियो । तर, यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ का कारण अनलाइनमार्फत प्रतियोगिताको आयोजना गर्न लागिएको हो । प्रतियोगिताको अनलाइन अडिसन गत भदौं २७ गते देखी खुल्ला गरिएको संघका अध्यक्ष रामकर राईले बताए । ‘संस्थाको स्थापना दिवशको अवसरमा प्रत्येक वर्ष यलम्बर संगित प्रतियोगिता आयोजना गदै आएका थियौं । तर, यो वर्ष
कोरोना महामारीका कारणले अनलाइनमार्फत प्रतियोगिताको आयोजना गर्न लागेका छौं’ संघका अध्यक्ष राईले भने ‘पहिलो अडिसन गत भदौं २७ गतेबाट खुला गरेका छौं । खुला प्रतिस्पर्धा हो । विश्वको जुनसुकै ठाउँबाट प्रतियोगिले भाग लिन सक्नुहुनेछ ।’
उनका अनुसार आउदो असोज १६ गते भित्र अडिसनमा भाग लिइसक्नु पर्नेछ । प्रतियोगितामा सबै उमेर समूहका किरात राई समुदायले भाग लिन पाउने उनले बताए । उनले प्रतियोगितामा किराती मौलिक जागरणका गीत मात्र गाउन पाउने अध्यक्ष
राईको भनाई छ । ‘प्रतियोगीले किराती मौलिक जागरणका गीत गाएको भिडियो रेकर्ड गरेर पठाउनुपर्ने छ’ संघका अध्यक्ष राईले भने ‘प्रतियोगितामा सबै उमेर समुहका किरात राई समुदायले भाग लिन पाउनेछ । गाउँदा माइक्रोफोनको प्रयोग गर्न पाइने छैन ।’ प्रतियोगीले आफुले गाएको गितको भिडियो संघको आधिकारिक kiratraikalakarsangh@gmail.com मा पठाउनुपर्ने संघका सचिब सुरज मेवाहाङ राईले बताए ।
प्रतियोगितामा अडिसन राउण्डदेखि फाइनल राउण्डसम्म प्रतियोगिले चार वटा प्रस्तुती दिनुपर्ने र अन्य राउण्डहरुमा आयोजकले दिएको गीत पनि गाउनुपर्ने उनले बताए । उनका अनुसार पहिलो अडिसनबाट टप ३० छनौट गरिने छ । यस्तै, दोस्रो चरणका लागि टप २० छनौंट हुदै फाइनल चरणका लागि अन्तिम १० छनौट गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी हात पार्ने आयोजकले जनाएको छ । यस्तै, प्रतियोगिताको दोस्रो र तेस्रो विजेताले क्रमसः नगद १५ हजार र तेस्रोले नगद १० हजार रुपैयाँसहित ट्रफी पाउने छन् । यस्तै, टप १० प्रतिस्पर्धीहरुको भिडियो लाइकको आधारमा सबै भन्दा धेरै लाइक पाउनेलाई ‘स्रोता छनौंट’ विजेता घोषणा गरी नगद ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल आगामी कार्तिक दोस्रो साता हुने आयोजकले जनाएको छ ।
