घण्टाघरबाट हेर्दा

सर्प पालुम पालुम जस्तो लाग्यो
लकडाउनले अरु व्यापार चौपट्ट भा’को बेला यो घण्टाघरलाई सर्प पालुमपालुम जस्तो भा’छ । सर्प पाल्दा त गाँठे सरकारले नै ह्वारह्वार्ती पैसो पनि दिने व्यापार पनि फस्टाउने । सर्प पाल्छु मात्र भन्नुपर्छ अर्ब भन्दा माथिकै बजेट पाइने क्या कायदाको व्यापार
रै’छ । अब विदेशमा भएका, स्वदेशमा रहेका सबैलाई सर्प पाल्न प्रोत्साहन गर्नुपर्छ । प्रधानमन्त्री भैसक्या, राज्यकोषबाट लुतुलुतु सुविधा लिइरहेका नेकपाका झल्ला झलुले त पाल्न गाँठ पाइसके । अरुले पनि त पाउलान् ? सर्प पाल्ने व्यवसाय नेपालमा दिनको दुई गुणा रातको चौगुणाले बढ्लाजस्तो छ । सरकारले बेरोजगार युवाहरुलाई रोजगारी दिएन, लकडाउन घोषणा गर्छ तर राहत दिदैन भनेर थुतुनो मात्र बजाउनेहरु अब सरमले पानी पानी हुने भएका छन् । अब थुतुनो बनाउन छाडेर, सडकमा उफ्रन छाडेर थपक्क सर्प पाल्ने काममा लागिहालम त । पैसोको चिन्तै नगरुम केपी वाले घरघरमै रकम पठाउने व्यवस्दा गर्दिन्छन् ।
अब संविधान संसोधन गरम
अब नेपालमा एउटा कुरा गर्न अति आवश्यक भइसकेको छ । चुनाउमा घग्रान घग्रान नेताहरुले परजय भोगेको कसैलाई मन पर्दैन त्यस्ता घग्रानहरुको उचित व्यवस्थापन त हुनैपर्छ । यसका लागि नेपालको संविधान नै संसोधन गरेर प्रतिनिधिसभाको चुनाउ हारेका व्यक्ति सदस्य बन्न पाउने प्रावधानको व्यवस्था गर्नु आवश्यक भइसक्याछ । सविधान संसोधन नगरे पनि त्यसको रिहर्षल चाहिँ हाम्रा नेताहरु गरिरहेका छन् । संसद भन्या बोकाको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने ठाम भनेर त रिहर्षल गर्नेहरुले भन्दै आएका छन् । त्यसैले अहिलेसम्म जिउँदा हरुवाहरुलाई मात्र राष्ट्रियसभामा लैजादैछन् । अब कुन दिनदेखि सम्मानको लागि भन्दै मूर्दाहरुलाई समेत राष्ट्रियसभामा लैजान बेर लगाउँदैनन् । सबै कुरामा सविधान संसोधन हुन्छ भने हार्नेलाई जित्ने भन्दा माथि अपरहाउसमा लैजाँदा कुन माइकालालले विरोध गर्ने ? दुई तिहाइको सकार पो होत गाँठे हेप्नी †
साठी नाघेका ननिस्कनु रे
जीन्दगीमा कहिल्यै सत्य नबोलेका हाम्रा देशका पर्धानमन्तरीको निर्नय क्षमतालाई सलाम गर्नैपर्छ गाँठे । अब हेरम न कोरोनाको करमा देशैभरि लकडाउनको घोषना गर्ने, १२ बर्षसम्मका र ६० बर्ष नाघेकाहरुलाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको देख्दा घण्टाघरलाई खित्का छाडेर हास्न मनलाग्या छ । आफूचाहिँ ७० बर्ष नाघ्दा पनि देश चलाउन मिल्ने अनि अरुलाई चाहिँ ६० बषमै हिडडुल गर्न नदिने ? कोरोनाको बहानामा जति उपद्रो गर्दा नि अरुले सही दिनुपर्ने, जनताले एउटा भोट नदिएकालाई अर्थमन्त्री बनाएर
अरबौ लुट्न छुट दिने, फेरि अर्का हरुवालाई करोडौ कुम्ल्याउन मनोनित गर्ने । हैट † कहिलेकाँही त झुक्किएर पनि सत्य बोल्ने, राम्रो काम गर्ने गर्नु नि ।
खारेज गर्नुपर्छ रे
हाम्रा नेपाली जन्ता पनि के भा’का हँ ? सरकारले जे काम गरे पनि पटक्कै मन पराउँदैनन् । सरकारले गरेका गतिला कामको यसो कहिलेकाँही प्रशंसा पनि गदिनु नि जे काम ग¥यो विरोध । पानी जहाजै नभएपनि,चल्ने ठामै नभएपनि त्यत्रो पानी जहाज कार्यालय खोल्दिया छ, किसानले मल नपाए नि त्यत्रो रकम खर्च गरेर आयात गर्न ठेक्का दिएको छ । मदन भण्डरी फाउन्डेशनलाई दुई अर्ब कशिन दिने गरी १२ अर्बमा रेलको काम गर्न ठेक्का दिएको छ । यस्ता राम्रा काम धमाधम हुँदा पनि विरोध मात्रै गरेपछि कस्को कन्पारो तात्दैन । अब त हुँदा हुँदा राष्ट्रिय सभा नै खारेज गर सरकार हामीलाई संगुरको अनुहार भएका पातकीहरुको अनुहार हेर्नु छैन भनेर पो उफ्रन थाल्या छन् । त्यो चाहिँ अति भयो जन्ताले यसो कुरा बुझ्नुपर्दैन । बेकामे, भ्रष्ट, बलात्कारी, हरुवा, माफिया क्षेत्रमा उत्कृष्ट नाम कमाएकाहरुलाई कहाँ थन्क्याउने त ? थन्क्याउने ठामपनि त चाहियो त्यसैले अपरहाउसका सान्दर्भिकता अझ बढेर गएका छ । कुरो बुझ्नुमा छ क्या ।
स्यालबहादुरको छिर्को दाउ
नेप्लिज लाँग्रसको महाधिवेशनलाई कोरोनाले खुइल्याउला जस्तै देखिएको छ । तर महाधिवेशनमा विभिन्न पदमा उठ्नेहरुको लर्को लामै लागिसक्या छ । छोरो पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले भनेझै महाधिवेशनमा उठ्छु भन्नेहरुको थोपडा देख्दा कुरी–कुरी लागेर आउन थाल्या छ । बुढानिलकण्ठे काजी कजिनी दुवै उचालिएका छन् । जनकपुरतिरका पाँग्रे पनि धोती उचालेर दोडिएका छन्, जागिरे काँग्रेस म सभापतिमा पक्का जित्छु भन्दै गोडा चारेक नन्दीभृंगी लिएर हिड्न थाल्या छन् । विरासतको राजनीति गर्ने हाम फालेर आएकाको रवैया पनि उस्तै छ । बडो अचम्म लाग्या छ तनहुका तेस्रो लिंंगी ब्राम्हण यसपाली चूपचाप बस्या छन् । उता झापाका किसन कन्हैया वल्लोलाई अँठ्याउने कि पल्लोलाई अँठ्याउने भनेर अफिसै खोलेर जोखना हेर्दैछन् । युवा लाउकेहरु कुन कोटरीमा घुस्रदा आफू सुरक्षित भइएला भनेर उमेद्वारका घरको फन्को लगाउदैछन् । क्या गज्जब छ ?
सर्पको विष संकलन सिंहदरबारमा
जंगलबाट सर्प खोजेर ल्याई पालेर त्यसबाट विष सकलन गर्ने भनेर नेकपाका झल्ला झलुलाइ सरकारले १ अर्ब ३२ करोड दिएछ । बुद्धि भए झलुले सर्प खोज्न जंगल जानैपर्दैन । सिंहदरबार छिरे त्यही एकसे एक विषलु सर्प पाइन्छन् । कोही अख्तियारले डामेका डरलाग्दा कोब्रा छन्, कुनै ओम्नी जातका अजिंगर छन् । कुनै बलात्कारको विल्ला भिरेका करेत छन् । एक से एक विषलु सर्पहरु सिंहदरबार र वाल्वाटारमै छन् । कुनै खर्लाप्प सरकारी जग्गा निल्ने खालका छन् । विषालु सर्पहरु सिंहदरबार, वाल्वाटार, शितल निवासतिरै डरलाग्दा फणा पुलाएर सल्बलाई रहेका छन् । झलु भने जंगल पस्ने र सर्प खोज्नेतिर लाग्या देखेर घण्टाघरलाई आश्चर्य लाग्या छ ।
कारबाही गर्ने रे
नेत्र विक्रम चन्द विप्लवका काजेकर्ताहरुले अब देशैभरिका भ्रष्ट, मालमात्र खाने काम नगर्ने ठेकेदारहरुलाई कार्वाही गर्ने भनेर अस्तिका दिन एउटा लम्बेतानको विज्ञप्ती निकालेछ । पार्टीका गुण्डा, चन्दा उठाउने घँस्याहरु कसैलाई नि नछोड्ने रे । यो विप्लवको नेकपाले विना मौसमको बाँसुरी किन बजाएको
होला ? अचम्बरी भट, ठूला ठेकेदार, पार्टीका गुण्डा, चन्दा उठाउने डनहरु कहाँ कहाँ बस्छन् भनेर तिन्लाई के थाहा ? पक्कै पनि नेकपालाई पैसो चाहिए जस्तो छ । नांग्लो ठटाएर हात्ती तर्साउने खेल त नेपालाँ २०–३० बर्ष देखि चल्दै आएको छ । स्वाट्टसँग एउटा विज्ञप्ती निकाल्यो, अलिदिन पछि त्यस्ता व्यक्तिको नाम पनि निकालिदियो । त्यसपछि त बातै खँलास । भटाभट चन्दा दिनेहरुको ओइरो लाग्छ । क्या गज्ज्बको आइडिया ।
अन्तेमा
मधेशवादीपार्टीका नेताहरु सबैलाई कोरोनाले डल्लो बनाएछ कि क्या हो ? हिजो आज त तिनीहरु चाइचुइ गर्दैनन् त ? देशाँ यत्रो यत्रो घट्ना छन् । संविधान मिचेर हरुवाहरुलाई राष्ट्रिये सभामा पु¥याएका छन्, कोरोनाको हाउगगुजी देखाएर अरबौको नक्कली किट र औषधि किनेका छन्, तराईका किसानले मल नपाएर रुवाबासी गरेका छन्, मल ल्याउने ठेकेदार भैसी उग्राएजस्तै उग्राएर बसेका छन् । तर मधेशवादी नेताहरु ज्यान गए बोल्दैनन् । पहिला पहिला मधेशमे आग लगादेंगे, मधेश ठप्पा बनादेंगे, काठमाण्डौको नाकाबन्दी करदेंगे भनेर कम्ता उफ्रन्दैनन् थिए । घण्टाघरलाई त शंका लाग्न थाल्या छ चतुर केपी वाले तिनका मुखमा बुझो ठोसिदिएकी क्या हो ? मुखले नभ्याए पिँधले समेत बोल्ने उनीहरु सबै तै चूप मै चूप हुनुको अर्को कारण त छ जस्तो छैन ।

तपाईको प्रतिक्रिया