भारत सरकारको चार करोड चौवालीस लाखको अर्थिक सहयोगमा विज्ञान भवन निर्माण

विराटनगर÷नेपालको सबैभन्दा निकटको छिमेकी मित्रराष्ट्र भारतले नेपालको विकासका पूर्वाधारहरु शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत लगायतका क्षेत्रहरुमा सबैभन्दा ठूलो आर्थिक सहयोग पु¥याउदै आएको छ ।
नेपाल भारत मैत्री विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारले प्रदेश नं. १ को राजधानी विराटनगर स्थित महेन्द्र वहुमुखी क्याम्पसको विज्ञान भवन निर्माण गरिदिएको छ ।
भारत सरकारले ४ करोड ४३ लाख रुपैयामा निर्माण गरिदिएको अत्यन्तै सुविधा सम्पन्न विज्ञान भवनको आषाढ ९ गते शुक्रबार काठमाण्डौस्थित भारतीय राजदुतावास, जिल्ला समन्वय समिति मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फ्रेन्स मार्फत उद्घाटन गरिएको छ ।
जिल्ला समन्वय समिति मोरङको रेखदेख तथा समन्वयमा निर्माण सम्पन्न भएको उक्त भवन निमाणसँगै अब हजारौ विद्यार्थीहरु लाभान्वित हुने भएका छन । नेपालका विभिन्न स्थानमा रहेका प्रारम्भिक पूर्वाधार विकास परियोजनाहरुलाइ सहयोग तथा सुदृढ गर्न पहिला साना विकास परियोजनाको नामले चिनिएको नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमलाई भारतीय राजदूतावास उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसिडिपी) को रुपमा नेपाल भारत द्विपक्षीय प्रयास अन्तर्गत अगाडि सारेको हो । यही प्रयास अन्तर्गत परियोजनाहरुले परियोजना क्षेत्रमा रहेका समुदायहरुलाई विशेष गरी शिक्षा, स्वास्थ्य, कनेक्टीभिटी, खानेपानी तथा सरसफाइ, व्यवसायिक प्रशिक्षण, मेडिकल कलेज आदि विविध क्षेत्रमा फाइदा पु¥याउदछ । खासगरी सन् २००३ यता भारतले हालसम्म नेपालको ७७ जिल्लामा नेरु ७ अर्ब ९८ करोड ७० लाख आर्थिक अनुदान सहयोगमा ४२२ वटा एचआइसीडिपी सम्पन्न गरिसकेको छ ।
सन् १९५५ मा स्थापना भएको विराटनगरको महेन्द्र मोरङ आदर्श वहुमुखी क्याम्पस प्रदेश नं. १ को त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सबैभन्दा ठूलो क्याम्पस हो । नव निर्मिति दुईतले भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला, भण्डारण कक्ष, प्रत्येक तलामा छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरफाई सुविधा रहेका छन् । नव निर्मित विज्ञान भवनको निमार्माणले स्नातक र विद्यावारिधी तहका झण्डै ७ सय विद्यार्थी लगयात विभिन्न संकाय लाभान्वित हुने क्याम्पस व्यवस्थापन समितिले जनाएको छ । उक्त क्याम्पसबाट उत्तीर्ण धेरै विद्यार्थीमध्ये नेपालकी राष्ट्रपति विद्या भण्डारी पनि एक हुन् । त्यस क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमध्ये कैयौ नेपालको उपप्रधानमन्त्री, मन्त्री तथा प्राविधिक विज्ञ भइसकेका छन् ।

तपाईको प्रतिक्रिया