धरान÷मनसुनको सक्रियतासँगै आषाढ २४ गतदेखि मुलुकभरि आएको बाढी र पहिरोमा परेर हालसम्म पाँच दर्जनभन्दा बढीले ज्यान गुमाएका छन् भने त्यति नै संख्यामा हराएका र सैयौ घाइते भएका छन । प्रदेश नं. १ को संखुवासभादेखि ताप्लेजुङ्ग सम्मका पहाडी क्षेत्रमा पहिरोले धेरैको ज्यान लिएको छ भने तराईका जिल्लाहरु झापादेखि उदयपुर सम्ममा बाढीले आधा दर्जन भन्दा बढीको ज्यान लिनुका साथै हजारौ बेघरवार भएका, सैयौ घाइते र केही हराइरहेको बताइएको छ । प्रदेश नं. २ सबै भन्दा बढी बाढीले प्रभावित भएका छ भने प्रदेश नं. ३ वा बागमती प्रदेशको सिन्धुपाल्चोक सबै भन्दा बढी तहसनहस भएको छ ।
उता प्रदेश नं. ४ वा गण्डकी प्रदेश, प्रदेश नं. ५, प्रदेश न. ६ र कर्णाली प्रदेश समेत नराम्रोसँग प्रभावित भएको छ । समयमा राज्यका तर्फबाट उद्वार टोली पुग्न नसक्नु, घाइतेको समयमै उपचार हुन नसक्नु, राहतका सामाग्री प्रभावित क्षेत्रमा पुग्न नसक्नुले पीडितहरुले अनाहकमा मृत्युवरण गर्नुपरेको सम्बन्धित स्थानका स्थानीयहरुले बताएका छन् ।











